PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

खाली गराइयो बुटवलस्थित शिवशिखर सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर



पहिलोपोस्ट

खाली गराइयो बुटवलस्थित शिवशिखर सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर

बुटवल : बचतकर्ताको अर्बौँ रकम अपचलन गरेपछि बन्द भएको रूपन्देहीको बुटवल उपमहानगरपालिका-१० योगीकुटीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गराइएको छ।

सहकारीले योगीकुटीको मुमा टावरमा कार्यालय, गार्डेन मार्ट एवं डिपार्टमेन्ट स्टोर र खाद्य सामग्रीको डिलर सञ्चालन गर्दै आएको थियो। बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी चार महिनादेखि बन्द छ।

घरधनी ईश्वर मल्लले भवन खाली गराउन आग्रह गर्दा पनि सहकारीले अटेर गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर शुक्रवार घर खाली गराइएको हो। मल्लले प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मीको समेत रोहबरमा सहकारीको कार्यालय र डिपार्टमेन्टल स्टोर खाली गराइएको बताए।

२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर’मार्फत व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो। यो सहकारी बुटवलमा विसं २०७८ साउनमा सञ्चालनमा आएको थियो।

बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पूर्व अध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५/१६ जना बचतकर्ताले बचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भएपनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक आफूहरुसँग नभएको बताए। लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell