PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कोशी सरकार निर्माणमा सभामुखको संलग्नताबारे शेखरले फेरि जनाए आपत्ति, प्रचण्डको अभिव्यक्ति माथि पनि उठाए प्रश्न



पहिलोपोस्ट

कोशी सरकार निर्माणमा सभामुखको संलग्नताबारे शेखरले फेरि जनाए आपत्ति, प्रचण्डको अभिव्यक्ति माथि पनि उठाए प्रश्न

विराटनगर : नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभामुख बाबुराम गौतमले कोशी प्रदेश सरकारको गठन गर्न 'स्वतन्त्र सांसद'का रूपमा राजनीतिक दलसँगै गरेको हस्ताक्षरले भविष्यसम्म असर पार्ने बताएका छन्।

बिहिबार सामाजिक सञ्जालबाट सभामुख गौतमको कदमप्रति असहमति जनाएका नेता कोइरालाले शुक्रबार विराटनगर विमानस्थलमा फेरि आपत्ति प्रकट गरेका हुन्। कोइरालाले सभामुख सरकार बनाउने र बिगार्ने खेलमा नलागी तटस्थ रहनुपर्ने आफ्नो धारणा रहेको बताए। सभामुखको समर्थनमा कोशीको मुख्यमन्त्री उद्धव थापा हिजो नियुक्त भएका थिए।

‘मैले हिजै ट्विटर र फेसबुकबाट आफ्नो विमति प्रकट गरिसकेको छु’, उनले विमानस्थलमा उपस्थित पत्रकारहरूलाई भने, ‘नेपाली कांग्रेसका नेतृत्वमा यो काम भएको छ। जबकि नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले संविधान तथा संसदीय परम्परा र मर्यादाअनुसार हिँड्नुपर्ने हो।’

उनले संसदीय व्यवस्थामा गणितको खेल हुनु र उतारचढाव हुनु सामान्य भएको बताए। तर जस्तो खेल र उतारचढाव भए पनि संसदीय मूल्य, मान्यता र मर्यादालाई कहिल्यै छाड्नु नहुने उनको अडान छ।

कोइरालाले अब यसको निकास अदालतले मात्र दिनसक्ने उल्लेख गरे।

‘यो केस अदालत जालाजस्तो छ’, उनको भनाइ थियो, ‘अदालतले गरेको निर्णय हामीले स्वीकार गर्नुपर्छ। नभए मुलकमा अराजकता व्याप्त हुन्छ।’

नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारतका सम्बन्धमा दिएको मन्तव्यका बारेमा यो अत्यन्त गलत कार्य भएको टिप्पणी गरे।

उनको कथन थियो, ‘प्रधानमन्त्रीजीले कुन परिप्रेक्ष्यमा यसो भन्नुभयो, मलाई थाहा छैन। तर यसबाट संसद् र नेपाली जनताको मर्यादामा ठेस पुगेको छ।’

उनले पार्टीका महामन्त्रीद्वयले हालै गरेको जिल्ला सभापतिको भेलामा पार्टी सभापतिको पनि उपस्थिति हुनुपर्ने भन्ने धारणा प्रकट गरे। यद्यपि, कोइरालाले भेलामा सभापति देउवालाई निमन्त्रणा गरिएको वा नगरिएको भन्ने आफूलाई थाहा नभएको बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवा पनि त्यस भेलामा सहभागी भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने विचार व्यक्त गरे।

यस्तै, उनले नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता वितरण गर्ने कार्यक्रम ल्याइरहेको जानकारी दिए।

साथै यस विषयमा जिल्ला सभापतिहरूलाई सुसूचित गराउनु पर्ने भएकाले भेलाको आयोजना गरिएको स्पष्ट पारे।

कोइरालाले भने, ‘पहिले यो कार्यक्रम जुमबाट गर्ने योजना बनेको थियो। तर ७० प्रतिशत सभापतिजीहरू काठमाडौँमै भएकाले भौतिक उपस्थितिमै कार्यक्रम गर्ने निर्णय भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell