
काठमाडौं : नेपालमा रेष्टुरेन्ट कल्चरको कुरा गर्ने हो भने लामो समय ठमेलले एकछत्र पर्यटक र फुड जक्सनका रुपमा राज गर्यो। ठमेल सबैखाले पर्यटक र सबै किसिमका कुजिनका कारण समृद्ध बन्दै गएपछि त्यसकै सिको गर्दै ललितपुरको झम्सिखेलले पनि आफूलाई फुड जक्सनका रुपमा विकास गर्यो।
रेष्टुरेन्ट हबका कारण समृद्ध बनेको ठमेल वा झम्सिखेल जस्तै काठमाडौंकै अर्को ठाउँ पनि अहिले फुड जक्सनका रुपमा विकसित भइरहेको छ। गहनापोखरी क्षेत्र अहिले रेष्टुरेन्ट पारखीका भीडले गुलजार छ।
तपाईं नक्साल भाटभटेनीबाट टंगालतर्फ अघि बढ्नुहुन्छ भने टंगाल मन्दिर छेवैको सडक नछोडी बायाँबाट भित्र पस्नुस्, लहरै रेष्टुरेन्टहरु छन्। यो बाटोबाट गहनापोखरीसम्म पुग्दा दायाँबायाँ भएका रेष्टुरेन्टहरुले यो क्षेत्र फेरि अर्को हब बनेको छनक दिन्छ।
जिम्बु थकाली, हानगुक साराङ, हाउस अफ एग्स, नेपाली रेष्टुरेन्ट, ल्याभिस बाइ आकाश, डेट्स द रेष्ट्रो, काम रेस्ट्रो, कुरा थाई, बुक्स एण्ड बेक्सलगायतका केही चल्तीका रेष्टुरेन्ट यो क्षेत्रमा छन्। साना रेष्टुरेन्टहरु पनि मनग्गे छन्। फेमिली रेष्टुरेन्ट, पब, क्याफे, थकाली खाना सबै किसिमका पारखीहरुका लागि यो क्षेत्रले अन्यत्र मोडिनै नपर्ने गरीका ठाउँ र मेनु उपलब्ध गराएको छ।
टंगालको गहनापोखरी आसपास रहेका रेष्टुरेन्टहरुकै लहरमा एक महिनाअघि मात्रै सफ्ट ओपनिङ भएको छ अर्को नयाँ क्याफे ‘एप्रिकस’। गहनापोखरीको आडैमा रहेको चिल्ड्रेन पार्कको साँधमा यो क्याफे बिस्ट्रो कन्सेप्टमा खुलेको हो।
एप्रिकसलाई ओपन लाइब्रेरी, बुक क्याफे तथा मल्टिकुजिन एण्ड बारका रुपमा चिनाउन खटिरहेका छन् यसका दुई संचालक अनुपमा पौडेल र रितु पौडेल। उनीहरुलाई पर्दा पछाडिबाट उसैगरी साथ दिइरहेकी छिन् अर्की संचालक सरिता भुसाल खरेलले। यी तीन महिला संचालकहरुले एप्रिकसलाई नयाँ कन्सेप्टका साथ अघि बढाएका छन् जसको अग्रभागमा देखिन्छन् अनुपमा र रितु।
‘एप्रिकस क्याफे’को गेटमा उभिएर तपाईंले यो क्याफेका बारेमा केही धारणा बनाउँदै हुनुहुन्छ भने एकैछिन कुर्नुपर्ने हुन्छ किनभने १० पाइला अघि बढ्नेबित्तिकै तपाईं अर्कै दुनियाँमा पुगिसक्नुहुन्छ। यो अवधिमा तपाईंले गरेका सबै अनुमानहरु भित्र पुगिसक्दा फेल खान्छन्।
किनभने गेटबाट हेर्दा यो रेष्टुरेन्ट साढे तीन रोपनी फराकिलो जग्गामा छ भन्ने कल्पना गर्न सकिन्न। भित्र पसेपछि नसोचेको हरियाली छ। अझ भनौं जंगलकै आभाष हुन्छ। किनभने यो एम्बियन्समा पुराना २० वटा रुखहरु छन्, जसले यो क्याफेलाई ढपक्कै ढाकेको छ।
कंक्रिटका जंगलका रुपमा विकसित हुँदै गएको शहरभित्र बाक्लो हरियाली अनि बोटबिरुवासहितका रेष्टुरेन्ट कहाँ पाउनु! एप्रिकसले त्यो कमीलाई पूरा गर्ने प्राकृतिक वातावरण तयार पारेको छ।
एप्रिकस अर्थात घामको किरणले उज्यालिएको परिवेश। ६ महिनाअघि जाडो महिनाको एक बिहान जतिबेला अनुपमा र रितुको समूह यो लोकेसन हेर्न आइपुग्यो। त्यो दिन यति घमाइलो थियो कि घामका किरणले यहाँका हरेक रुखबिरुवालाई धपक्क बालिदिएको थियो।
विस्तारै यस ठाउँलाई क्याफेमा बदल्दै गर्दा उनीहरुहरुमा त्यो घमाइलो दिन र घामको किरणले रुझेका बोटबिरुवाको छाप मेटिएन। क्याफेको के नाम राख्ने भनेर घोत्लिए। जुराए एप्रिकस।
अनुपमा काठमाडौंमा जन्मिइन्। सेन्टमेरिजबाट १२ सकेपछि क्याब कलेजबाट बीबीए अनि एस कलेजबाट एमबीए सकिन्। फिनटेक कम्पनीबाट सुरु भएको उनको जागिरे जीवन हाउजिङ परियोजना हुँदै आफ्नै व्यवसायमा पुगेपछि टुंगियो। ६ वर्ष हाउजिङ परियोजनामा काम गरिसकेपछि आफ्नै व्यवसाय गर्न जागिर छोडेकी अनुपमा उस्तै प्यासन बोकेकी रितु पौडेलसँग जोडिइन्।
काठमाडौंकै रितुले लिटल एन्जल्सबाट स्कुलिङ सकिन्। काठमाडौं मोडल कलेज पढेकी रितुले एपेक्स कलेजबाट एमबीए सकेपछि इन्स्योरेन्स कम्पनीमा जागिर खाइन्। आफ्नै पारिवारिक व्यवसायमा पनि संलग्न उनलाई आफ्नो स्वभाव र कामको प्रकृति मिलिरहेको छैन जस्तो लाग्यो। उनलाई हस्पिटालिटीमा रुचि थियो।
अनुपमा र रितु दुवैको भेट अनि उनीहरुको समूहको बिजनेस प्लानले एप्रिकस जन्मिएको हो। चारजना साझेदार रहेको यो क्याफेमा बिहान ८ देखि राति १० बजेसम्म यिनै दुई भेटिन्छन्। अनुपमाले क्याफेको मार्केटिङ हेर्छिन् भने रितुले बिल्डिङ म्यानेजमेन्ट र एचआर विभाग सम्हालिरहेकी छन्।
‘हामीले यस ठाउँलाई ओपन लाइब्रेरी, बुक क्याफे, सपिङ स्पेस, मल्टिकुजिन बार हरेक हिसाबले विकास गरेका छौं। वर्किङ प्रोफेसनल्स हाम्रा लक्षित ग्राहक हुन्, जसले बिहानदेखि यहाँ बसेर काम गर्न खान र अफिसका मिटिङहरु पनि बोलाउन सक्नुहुन्छ,’ अनुपमाले भनिन्।
अनुपमा र रितुले क्याफेभित्रैको दुईवटा घरमध्ये एउटालाई अफिस र अर्कोलाई स्टडी तथा वर्क प्लेसका रुपमा विकास गरेका छन्। यसै कम्पाउन्डभित्र जेन्स अट्टायरका लागि सुट स्टुडियो छ भने महिलाहरुकालागि बुटिक ‘मेधा’ पनि संचालन गरिरहेका छन्।
एक महिनाको सफ्ट ओपनिङले अनुपमा र रितुमा धेरै आत्मविश्वास देखिएको छ। ‘हामीकहाँ पाहुनाहरु दोहोरिइरहनुभएको छ। राम्रो फिडब्याक दिइरहनुभएको छ। मुख्य कुरा यहाँको प्राकृतिक वातावरण र खानालाई असाध्यै मन पराइदिनुभएको छ। हाम्रो इटालियन खानालाई बेस्ट भन्नुभएको छ,’ अनुपमाले भनिन्।
चारजनाको साझेदारीमा जन्मिएको एप्रिकसलाई हुर्काउने काम भने अनुपमा र रितुले गरिरहेका छन्। क्याफेमा हालसम्म २ करोडभन्दा बढी लगानी भइसकेको उनीहरुले बताए।
‘हाम्रो भेन्चरमा सामूहिक प्रयास नै प्रमुख हो तर तीनमध्ये हामी दुईजनाले भने आफ्नो करियर नै यसैलाई बनाउने निर्णय गरिसकेका छौं,’ उनीहरु भन्छन्। दैनिक रुपमा नजोडिएपनि सरिताले यो टिमको बिजनेस प्लानदेखि व्यवस्थापन शैलीसम्म तयार पार्न सहयोग गरिरहेकी छिन्।
क्याफेका अर्का साझेदार अष्ट्रेलियामा सेफका रुपमा कार्यरत छन् जसले यस क्याफेको मेनु ‘इन्जिनियरिङ’ गरेका हुन्। ‘मेनु इन्जिनियरिङ’ यस व्यवसायमा नयाँ कन्सेप्ट हो, जुन नेपालका रेष्टुरेन्टहरुमा बिरलै प्रयोग भएको छ। विदेशमा असाध्यै धेरै प्रयोग गरिने यो कन्सेप्टले मेनु तयार पार्दा लागतलाई कसरी कम गर्ने भन्ने कुरालाई ध्यानमा राख्छ।
एप्रिकसले पनि मेनु इन्जिनियरिङको कन्सेप्ट प्रयोग गरेको छ, जसले भान्छाको लागत कम गर्दै उत्कृष्ट मेनु तयार पार्न सहयोग पुर्याउने रितु बताउँछिन्।
हाल उनीहरुले २५ जना कामदारबाट सेवा दिइरहेका छन्। क्याफेका एक्जेक्युटिभहरुका लागि फुड र प्लेटिङको तालिम पनि संचालन भइरहेको छ। यसका लागि उनीहरुले तारे होटलका हेड सेफहरुलाई बोलाएर क्लास दिलाइरहेको जानकारी दिए।
कामदारहरुमा व्यवसायिक दक्षता बढाउन तालिम चलाएको उनीहरुले बताए। हरेक बिहान किचेन स्टाफहरुको मिटिङ बस्ने र दिनभरका लागि योजना बनाउने गर्छन्। ग्राहकहरुसँग कसरी सम्बन्ध बनाउने र दिइने आतिथ्यतालाई कामदारहरुसँग मिलेर कसरी उत्कृष्ट बनाउने भन्ने बारे उनीहरु अक्सर छलफल गरिरहेका हुन्छन्।
उनीहरु भन्छन्, ‘हस्पिटालिटी भनेको प्रत्यक्ष र धेरै मानिसहरुसँग काम गर्नुपर्ने क्षेत्र हो। यसमा ह्युमन स्किल र कम्युनिकेसनमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। हामीले आफ्ना कामदारलाई र कामदारले कस्टमरलाई दिने केयर नै हस्पिटालिटीको ‘कि’ हो।’
यहाँको मेनु मध्यम रेन्जमा तयार पारिएको क्याफेका म्यानेजर रवि हमालले जानकारी दिए। यहाँ सबैभन्दा रुचाइएको पास्ताको प्रकार हेरी ७२० देखि ८५० रुपैयाँमा पर्छ। यस्तै चिकेन मम ४५० र पनिर मम ४०० रुपैयाँ छ।
फरक फरक स्वादका पिज्जाको ७५० देखि ११७० रुपैयाँसम्म रेन्ज छ। चिकेन बार्बिक्यु ८००, चिकेन चिल्ली ५९०, बार्बिक्यु पोर्क १००० रुपैयाँ पर्छ। यसैगरी, ४ देखि ५ जनाको लागि तयार पारिएको ननभेज प्लाटरको ३१५० रुपैयाँ राखिएको क्याफेका म्यानेजर हमाल बताउँछन्।
लामो समय दुबईमा काम गरेर फर्किएका मिक्सोलोजिस्ट कवीर बस्नेतले बार सम्हालेका छन्। उनले आफ्नै फ्युजनमा ककटेलको मेनु तयार पारेका छन्। यहाँको फ्युजन ककटेलको नाम पनि उनले युनिक राखेका छन्।
हाल बारहरुमा बढी प्रचलनमा आइरहेका नामभन्दा फरक गरी उनले ‘अनार-कली,’ ‘यो जिन-द-गी,’ ‘ह्वाट डिड तितौरा से,’ ‘रम आउँदैछ’ जस्ता रमाइला नामहरु राखेर ककटेलको मेनु बनाएको कवीरले सुनाए।
एप्रिकसको गेटमै कफी स्पेस तयार पारिएको छ भने क्याफेभित्र तयार पारिएको मिटिङ रुमलाई ओपन लाइब्रेरीको रुपमा प्रयोग गर्न मिल्छ। शान्त वातावरणमा किताबहरु पढ्ने र मिटिङ गर्न मिल्ने गरी यसभित्रको इन्टेरियर डिजाइन गरिएको छ। यहाँ तयार पारिएका हरेक वर्किङ स्पेसहरु कामकाजी मानिसहरुका लागि उपयोगी हुने उनको भनाइ छ।
‘घर वा अफिसमा काम गर्दा मोनोटोनस भएको बेला केही फरक ठाउँमा बसेर काम गर्न चाहनेहरुका लागि यो स्पेस उपयोगी छ। ब्रेकफास्ट मिटिङका लागि हुने गरी हामीले बिहान ८ बजे नै ओपन गर्छौं। धेरै रेष्टुरेन्टले लाइभ म्युजिक र साँझको समयलाई फोकस गरिरहेका छन्। तर हामीले बजारको ट्रेन्डभन्दा अलि फरक ब्रेकफास्ट देखि नै फोकस्ड भएर सर्भिस दिइरहेका छौं।’- अनुपमाले सुनाइन्। यो क्याफे वर्किङ प्रोफेसनल्सहरुका लागि लक्षित भएको उनले बताइन्।
क्याफेको इन्टेरियर तयार पार्दा स-सानो डिटेलिङलाई ध्यान दिइएको छ। प्राकृतिक झरना, स्तुपा, रुखमा चराको गुँड, चौतारोमा गुन्द्रीको प्रयोगजस्ता ससाना कामहरुले प्रकृतिसँग निकटता दर्शाउँछ।
यहाँ जमिनमा उम्रेका कुनै पनि झार वा घाँसलाई समेत उखेलिएको छैन। क्याफेमा प्रयोग भएका खाने टेबलहरु पनि पुरानो कपुरको रुखका फल्याकहरुलाई ताछेर आकार दिइएको हो। खाने टेबललाई पर्फेक्ट बनाउन भन्दा पनि बेआकारको बनाउन बढी मेहनत गरिएको रितुले बताइन्।
ग्राहकहरुले पनि यही ‘इम्पर्फेक्सन’लाई रुचाएको उनीहरुले अनुभव गरेका छन्। सोधीखोजी गर्ने र फर्की फर्की आउने ग्राहकहरुबाट उनीहरुले सकारात्मक ऊर्जा पाएको बताए। एक साताभित्रै क्याफेको ग्राण्ड ओपनिङ गर्न उनीहरु आफ्नो टिमका साथ तम्तयार छन्।
‘झम्सिखेल लाइनै रेष्टुरेन्टको लागि फेमस छ। झम्सिखेल जसरी नै यो एरिया पनि विकास भइरहेको छ। हामी यहाँको रेष्टुरेन्ट लाइनमा पृथक विशेषताका साथ चिनिन चाहन्छौं। पहिले यहाँ जग बसाउने अनि चेन विस्तार गर्ने नै हाम्रो योजना हो,’अनुपमा र रितुले उत्साहका साथ सुनाए।