भौतिक सुविधाको प्रतिस्पर्धी संसार। अनि त्यही चर्को होडबाजी – एकपछि अर्को विलाशिता पाउनका लागि। प्रतिस्पर्धाकै कोलाहलपूर्ण भिड। त्यही भिडबाट उम्केर जहाँ पुगिरहेको छु ठीक उल्टो छ दृश्य। मैले बुझेको ‘लग्जरी’ यहाँ लापता छ। सुविधाका शब्द पनि सुनिन्न। अनि सुख? त्यो चाहिँ उनीहरुले मानिरहेकै देखियो। रमाइरहेकै छन्। हाँसिरहेका छन्। निसंकोच मुस्कान छरिरहेकै छन्। हाम्रो भ्रमपूर्ण सोचको विपरीत।
एक्काइसौं शताब्दी यतिखेर आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा प्रतिस्पर्धा गरिरहेको छ। ठीक यही समयचक्रमा जङ्गलमा पुरानै शैलीको कुनै समाज चलिरहेको छ भन्दा आफैँमा अनौठो अनुभूति हुने रहेछ। जङ्गलको जीवन, काइदा र कानुन पनि आफ्नै। भौतिकदेखि ‘भर्चुअल क्रान्ति’बाट कति हो कति दुर। अर्थात् – राउटे राज्य।
सुन्दै र पढ्दै आएका विषय हुन् राउटे। केही बढी बुझ्ने अवसर किशोर शर्माले तयार पारेको फोटो कथाले जुराएको थियो। र, त्यसैले प्रेरित पनि गरेको थियो कुनै दिन पुग्ने। अनि कैद गर्ने लोप हुँदै गरेका दृश्यहरु। ती मानिससँग भेट्ने जसको जीवन ढुङ्गेयुगबाट अहिले पनि सबैभन्दा नजिक छ। उनीहरुलाई पछ्याउने। र, जीवन शैलीलाई नजिकबाट निहाल्ने। त्यही रहरले जङ्गलतिर तान्यो भलै यात्रा अन्तैको थियो।
कहाँ बस्छन् राउटे?
जो एकै ठाउँमा बस्थे भने राउटे नै किन कहलिन्थे?
प्रश्नसँग जवाफ आइहाल्यो। घुमन्ते हुन्। कहिले कुन ठाउँमा पुग्छन् त कहिले कुन। सुदूर पश्चिमको यात्रा गरिरहँदा तिनै राउटेसँग भेट्ने अवसर किन नमिलाउने? लागेको रहर र मिलेको मौका किन छाड्नु?
अहिले सुदूर पश्चिमका केही जिल्लाहरु मोडिने रुट मध्य पहाडी राजमार्गले सुर्खेत हुँदै दैलेखतिरबाट सोझ्याएको छ। हाम्रो बाटो पनि त्यही। अनि राउटे पनि दैलेखतिरै छन् भन्ने थाहा लागेपछि रहरको एउटा लक्ष्य निसानातिर सोझिँदै थियो।
‘रुटिन जब’बाहेक राउटे बस्तीमा पुग्ने हुटहुटीले यात्राको दिन लम्ब्यायो। मेरा लागि समय 'पज' हुने कुरा पनि त भएन।
शहरबाट गाउँ र गाउँबाट पनि केही पर जंगलसम्म नपुगी उनीहरुलाई भेट्न नसकिने। हामीलाई देखिआएका मानिसको जीवनशैली चासोको विषय थिएन। उनीहरुलाई भेट्ने रहर नै हाम्रो बुझाइ भन्दा ‘असामान्य’ हुनु थियो। उनीहरु कहाँ पुग्न सजिलो पनि थिएन।
सुनेथेँ – जो पायो त्यसलाई उनीहरुको साम्राज्यमा प्रवेश बर्जित हुनसक्छ। स्थानीय व्यक्ति राउटेको राज्यमा पुग्नका लागि ‘एम्बेसडर’को भूमिकामा रहे। उनको मद्दतले एउटा असंगठित राज्यको भिसा लागे झै भयो। अर्थात् राउटे राज्यमा प्रवेशको मेसो मिल्यो।
तर राउटे राज्यका आफ्नै कानुन। सिंहदरबार छिर्नकै लागि बनाएको सूचना विभागको प्रेस पासको यहाँ कुनै अर्थ थिएन। ‘फोटो खिच्न निषेध’ भनेकाले ब्यागबाट क्यामरा निकाल्ने हिम्मत जुटिसकेको थिएन। हामीलाई यहाँ पुर्याउन जसले सहयोग गरिरहेका थिए उनको हातमा चाहिँ क्यामरा थियो। कुनै बेला यहाँ प्रवेशकै पनि शुल्क तोकिएको रहेछ। क्यामराको अलग। भिडियो खिच्न अलग।
हामी बस्ती नजिकै पुगिसकेका थियौं। त्यहीबेला देख्यौं – भुईमा सुतिरहेका एक व्यक्ति। ती राउटे नै रहेछन्।
राउटे अर्थात् खस आर्य समुदायको पिछडिएको लोपोन्मुख आदिवासी। आफूलाई शहरीया र जान्नेबुझ्ने ठान्ने हाम्रा लागि उनीहरुको लवाई खवाई एकदमै अनौठो। भाषा पनि अलग। खाम्जी भन्दा रहेछ उनीहरुले बोल्ने भाषालाई। जंगलमा राज गरिरहेका उनीहरु आफूलाई सूर्यवंशी ठान्दा रहेछन्। सूर्यवंशीमाथि चन्द्रवंशीले राज गर्न थालेपछि नेपालको झन्डामा माथि चन्द्रमा र तल सूर्य रहन थाल्यो। एकाएक कल्पनामा आयो – यिनैमाथि जित हासिल गरेर बनेको त होइन झन्डा? खैर त्यसको शोधतिर लागिएन।
तर 'मेटाफोर'ले छाड्न चाहेन। जसरी अस्थिर छ सूर्यको तेज, त्यस्तै छ उनीहरुको थातथलो। कहिले कता त कहिले कता। सूर्यवंशी कुलका भएकाले अनेक कुरा तरङ्गित भए।
फिरन्ते जीवन उनीहरुको विशेषता रहेछ। एकै ठाउँमा धेरै बस्दैनन्। आफ्नो समुदायका कोही बित्यो भने त्यो ठाउँ उनीहरुले छाड्नुपर्ने रहेछ। आफ्नो राज्यका कसैको मृत्यु भयो भने नजिकै गाड्ने र त्यस ठाउँलाई अशुभ ठान्ने परम्परा। अनि खोजी नयाँ ठाउँको। लगातार बसाइ सराई। कहिले सुर्खेत त कहिले जाजरकोट। कहिले सल्यान त कहिले दैलेखका जंगल। हामीले उनीहरुलाई देख्ने अवसर चाहिँ दैलेखको भैरवी–२ बाट बसाइँ सरेर महाबु–२ आइपुग्दाको समयमा पर्यो।
हामीले राउटेका दृश्यहरु जसरी देख्यौं त्यसरी नै माथिदेखि तपाईँहरुलाई देखाइरहेका छौं। जहाँ हामी पुग्यौं त्यहाँ १ सय ४१ जना राउटे रहेछन्। सुरुमा नै हामीले सुतिरहेका राउट देखेका थियौं ती त रक्सी पिएर मस्त लडेका रहेछन्। कोही छाप्राका वरपर त कोही खोलाका तिरतिर त्यसैगरी लडिरहेका भेटिए। साना नानीहरु यताउता दौडिरहेका थिए। उनीहरु आफ्नै सुरमा मस्त देखिए। कोही मदिराले बिन्दास त कोही आफ्नै धुनमा रमाइरहेका।
सुविधाका विषयले उनीहरुको जीवनमा कुनै अर्थ राख्दैन भन्ने बुझ्न हामीलाई समय लागेन। त्यसो त सरकारले २०६४ सालदेखि राउटेलाई मासिक भत्ता दिइरहेको छ। कुनै सुविधा नचाहिने राउटेलाई पैसा किन चाहियो त?
वनले थेग्नेजति त उनीहरु त्यहीँबाट निकाल्छन्। नथेग्ने कुरा पैसाविना कसरी सम्भव हुन्छ? कहिलेकाहीँ मन लाग्दा ‘सिल प्याक’ मदिरा भ्याइदिने रहेछन्। विना पैसा कसरी मिल्थ्यो त्यो?
फोटो खिच्न पैसा तिर्नुपर्ने रहेछ। तिरेपछि क्यामरा झोलबाट निकालियो। साना केटाकेटीदेखि वृद्धसम्मै पैसाविना पोज दिन तयार भएनन्। जब पैसा दियो उनीहरु यति सहज रुपमा नजिकिए कि आफन्तै हुन जस्तो। हो, तपाईँले हेरिरहनुभएका यी दृश्य पैसा तिरेरै खिचिएका हुन्। यहाँ पैसा छैन त फोटो छैन।
यहाँको साम्राज्यको व्यवस्थापनका महामुखिया छन्। महामुखियालाई राजा नै मान्दा रहेछन्। उनैले जनतालाई विभिन्न काममा परिचालन गर्ने। अहिलेका महामुखिया मैनबहादुर शाही रहेछन्। उनीमुन्तिर तीन जना मुखिया- कल्याल थरका बीरबहादुर शाही, राशकोटी थरका सूर्यनारायण शाही राशकोटी र छत्याल जातिका डीलबहादुर शाही।
उनीहरुका बस्तीमा मदिरा पिइरहेको देख्नु अति सामान्य रहेछ। सुकुटी पनि सुकाइरहेको देखियो कतैकतै।
के को हो?
बाँदर।
राउटेले बाँदर छोप्छन्। उनीहरु सिकारमा यति अब्बल छन् कि राउटे आएको थाहा पाए बाँदरहरु बुर्कुस्सी मार्छन् भनिन्छ। हामीले यहाँका राउटेहरुलाई सोधेका थियौं – के गर्नुहुन्छ?
जवाफ मिल्यो - सिकार।
बुझियो बाँदर मार्न माहिर छन् उनीहरु।
त्यसो त राउटेहरुको पहिचान काठका भाडाकुडासँग पनि जोडिन्छ। पहिले काठबाट बनाएका सामानहरु बेच्न बजारतिर झर्थे। त्यही बिक्रीबाट नुन तेलको जोहो हुन्थ्यो।
काठमाडौंमा फोटो प्रदर्शनी गरेका किशोर शर्माले तिनै राउटेले बनाएका भाडो फोटोमुन्तिर प्रदर्शनीमा राखेका थिए बबरमहलको आर्ट काउन्सिल ग्यालरीमा। त्यस्तै सामान बनाउँदै गरेका दृश्यलाई उतार्न मन थियो। तर राउटेबिच त्यो शिल्पी मर्दै गएको रहेछ। वन समुदायमा हस्तान्तरण भएपछि राउटेको बसाइ सराई सीमित बन्दै गएको छ भने काठ कटानीमा बाधा। त्यसैले कामधाम उस्तो छैन। जङ्गलमा मस्त रहनु। मस्त मदिरा पिउनु। आउनेहरुसँग फोटो खिच्दा पैसा लिनु। अनि हाम्रो दृष्टिकोणमा ‘वेपर्वाह जीवन’ बिताउनु दैनिन्दी बनेको रहेछ।
तपाईँहरु धेरै बिग्रिनुभयो भन्छन् नि? मैनबहादुर शाहीलाई हाम्रो प्रश्न।
प्रश्नलाई उनले खासै भाउ दिएनन्।
‘खुट्टाले टेकेको र आँखाले देखेको मात्र सत्य हुन्छ,’ मैनबहदुरको जवाफ।
हामीले ‘सभ्य’ ठहर्याएको समाजले उनीहरुलाई शिक्षा दिन खोज्यो – आधुनिक। तर पढ्न रहर गर्दैनन् राउटेका सन्तान। राज्यले पढाउने शिक्षक र प्राथमिक उपचारका लागि उनीहरुको थलोमा नर्स पनि पठाएको छ। तर, त्यसले पुरानो पुस्तालाई तानेको छैन। न त नयाँ पुस्ता नै जोडिन खोजेका छन्।
उनीहरुको दुनियाँ बेग्लै छ। त्यहीँ रमाइरहेका छन्। थोरै शहरको प्रभाव छिर्दैछ उनीहरुको साम्राज्यमा। बोतलका रक्सीले इन्ट्री पाउन थालिसकेको छ बस्तीमा। पुस्ता दरपुस्ता जोगाउने शिक्षित समाजभन्दा दुरु उनीहरु तत्कालका लागि जिइरहेको भेट्यौं। एकजना मुखिया बितेका रहेछन्। उनकै अन्त्यष्टिमा भोज पनि रहेछ। भोजमा मस्त मातिइरहेका थिए उनीहरु। माटोसँग जोडिँदा सन्तुष्ट उनीहरुका यस्ता दृश्य कतिन्जेल यस्तै देखिइरहने हुन् भन्न सकिन्न। यी दृश्य पनि पहिलेभन्दा ‘आधुनिक’ भएका होलान्। यतिमात्र हो हामीले बुझेको ‘आधुनिक’को परिभाषा र उनीहरुको परिभाषामा ठूलै अन्तर हुनुपर्छ।