PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो



पहिलोपोस्ट

गएको तीन महिनाको अपराध ग्राफ : बैंकिङ कसुर ह्वात्तै बढ्यो, आत्महत्या घट्यो

काठमाडौं : गएको तीन महिनामा बैंकिङ कसुरको अपराध बढेर गएको छ। गएको चैत १५ गतेदेखि असार १५ गतेसम्म बैंकिङ कसुरका मात्र ३ हजार ५ सय ११ वटा मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षको सोही तीन महिनाको समयमा  १ हजार ८ सय ६० वटा मात्र मुद्दा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी कुवेर बहादुर कठायतले जानकारी दिए।

त्यस्तै, सार्वजनिक हितलगायत विरुद्धको कसुरका घटना पनि बढेको देखिएको छ। यही तीन महिनाको अवधिमा २ हजार ५ सय ४५ वटा मुद्दा दर्ता भएका थिए। जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ हजार ३ सय ९५ वटा मात्र मुद्दा दायर भएका छन्।

वर्षभरिको आत्महत्याको तथ्याङ हेर्दा बढेर गएको देखिएपछि पछिल्लो तीन महिनाको अवधिलाई अघिल्लो वर्षको तीन महिनासँग तुलना गर्दा भने घटेर गएको देखिएको छ। चैत १५ देखि असार १५ गतेसम्म १ हजार ८ सय ७५ वटा घटना भएको देखिएको छ। अघिल्लो सोहि दिन महिनामा १ हजार ९ सय १ वटा घटना दर्ता भएका छन्।

‘आत्महत्याका धेरै कारण देखिएका छन्। यस विषयमा प्रहरीले पनि अध्यायन गरिरहेको छ,’ डीआइजी कठायतले भने।

लागुऔषधसम्बन्धी घटना पनि यो अवधिमा बढेर गएको देखिएको छ। गएको तीन महिनामा १ हजार १ सय वटा दर्ता भएका थिए भने गएको आर्थिक वर्षको चैत, बैशाख जेठ र असार ८ सय ४५ वटा घटना दर्ता भएका थिए। चोरीको घटना पनि न्यून रुपमा बढेको देखिएको छ।

काठमाडौं उपत्यकाभित्र दिउँसै हुने चोरी बढेका छन्। आर्थिक वर्ष २०७९/८० चैतदेखि असार १५ गतेसम्म ८ सय ७८ वटा घटना भएका छन्। आर्थिक वर्ष २०७८/७९ को सोही महिनाभित्र ८ सय ५४ वटा घटना भएको प्रहरीले जानकारी दिएको छ।

सोही अविधमा जबर्जस्तीकरणीका घटना भने घटेको देखिएको छ। आर्थिक वर्ष २०७९/ ८० चैतदेखि असार १५ गतेसम्म ६ सय ७५ वटा मुद्दा दर्ता भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ७ सय ५४ वटा घटना दर्ता भएका थिए।

सवारी ज्यानसम्बन्धी घटना पनि घटेको देखिन्छ। गएको तीन महिनामा ४ सय ८६ वटा घटना देखिन्छ। गएको आर्थिक वर्षको सोही अवधिमा भने ६ सय १० वटा घटना भएका थिए। ठगीका घटना भने बढेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell