PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सम्बन्धमा आँधीबेहरीको सामना गरिरहेका चीन-अमेरिकाले 'वर्षापछि इन्द्रेणी' देख्न पाउलान्?



विधुर ढकाल

सम्बन्धमा आँधीबेहरीको सामना गरिरहेका चीन-अमेरिकाले 'वर्षापछि इन्द्रेणी' देख्न पाउलान्?
PHOTO/AP

सांघाई: बेइजिङ र वासिङ्टन यतिबेला व्यापार वार्तामा छन्। दुई देशबिचको व्यापार युद्धले दुवै देशको अर्थतन्त्रमा असर पारिरहेको छ। वासिङ्टनबाट बेइजिङमा उच्च अधिकारी आइरहेका छन्। यसको पछिल्लो क्रम हो अमेरिकी अर्थमन्त्री जेनेट एलनको बेइजिङ भ्रमण।

बिहीबार बेइजिङमा ओर्लिएकी एलनले चिनियाँ अर्थमन्त्री लिउ खुनसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै चिनियाँ प्रधानमन्त्री लि कियाङसँग पनि भेट गरिन्। दुई देशबिच चर्किएको व्यापार युद्ध, कूटनीतिक तनाव चर्किएपछि ठप्प रहेको उच्चस्तरीय संवादको सुरुवात गर्दै गत महिना अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले बेइजिङको भ्रमण गरेका थिए। झन्डै पाँच वर्षपछि बेइजिङ पुग्ने ब्लिंकन उच्च नेतृत्व थिए। ब्लिंकनपछि बाइडेन प्रशासनबाट बेइजिङको भ्रमण गर्ने जेनेट दोस्रो मन्त्री हुन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री ली कियाङसँग भेट गर्न अमेरिकी अर्थमन्त्री जेनेट ग्रेट हल अफ द पिपुल पुगेकी थिइन्।

भेटमा चिनियाँ प्रधानमन्त्री लीले विश्वलाई सामान्यतया स्थिर चीन–अमेरिका सम्बन्धको खाँचो रहेको भन्दै चीन र संयुक्त राज्य अमेरिकाबिच सही सम्बन्ध हुन सक्छ कि सक्दैन भन्ने कुरा मानव जातिको भविष्य र नियतिसँग सम्बन्धित रहेको बताएका थिए।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति बाइडनबीच इन्डोनेसियाको बालीमा जी-२० सम्मेलन साइडलाइनमा भएको भेटवार्ताको सहमति अनुसार दुई देशले संवादलाई अगाडि बढाउन लागेका हुन्। गत फेब्रुअरीमा नै वासिङ्टनबाट उच्चस्तरीय भ्रमण हुने बताइए पनि अमेरिकी आकाशमा ‘चिनियाँ बेलुन’ देखिएपछि अमेरिकाले त्यसलाई जासुसी बेलुन भन्दै खसालेको थियो। त्यसपछि सम्बन्ध शैन्य टकराबको अवस्थामा पुगेको थियो।

यतिसम्मकी दक्षिण चीन सागरमा दुई देशका शैन्य विमान एकापसमा आमनेसामने भएका थिए। दुई देशबिच शैन्य संवाद ठप्प जस्तै रहेको अवस्थामा कूटनीतिक संवाद अगाडि बढेको छ।

शुक्रबार भएको भेटमा चिनियाँ प्रधानमन्त्री लीले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहयोग एक अर्कासँग मिल्नको लागि आधारभूत र सही तरिका भएको भन्दै चीनले शान्तिलाई ठूलो महत्त्व दिएको छ र आधिपत्य र दादागिरीको विरोध गर्दै आएको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै अमेरिकी पक्षलाई पनि तर्कसङ्गत र व्यावहारिक दृष्टिकोण कायम राख्न भनेको छ।

प्रधानमन्त्री लीले चीन र अमेरिकाको आर्थिक हित आपसमा गाँसिएको भन्दै पारस्परिक लाभ र जीतको परिणाम चीन–अमेरिका आर्थिक सम्बन्धको सार भएको बताए।

‘चीनको विकास संयुक्त राज्य अमेरिकाका लागि चुनौतीभन्दा पनि अवसर हो, जोखिमभन्दा पनि लाभ हो,’ प्रधानमन्त्री लीको भनाइ उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘आर्थिक सहयोगलाई राजनीतिकरण र सुरक्षित बनाउनु दुई देश र विश्वको आर्थिक विकासका लागि अनुकूल छैन। चीन–अमेरिका आर्थिक सम्बन्धमा स्थायित्व र सकारात्मक ऊर्जा प्रवाह गर्न दुवै पक्षले स्पष्ट, गहन र व्यावहारिक आदानप्रदानका माध्यमबाट महत्त्वपूर्ण द्विपक्षीय आर्थिक मुद्दाहरूमा सहमति खोज्नुपर्छ।‘

उनले विश्वव्यापी चुनौतीको सामना गर्न चीन र अमेरिकाले समन्वय र सहयोगलाई सुदृढ पार्नुपर्ने बताएका थिए।

सो भेटमा अमेरिकी अर्थमन्त्री एलेनले अमेरिकाले शृङ्खला तोड्ने र तोड्ने प्रयास नगर्ने भनेदै चीनको आधुनिकीकरण प्रक्रियामा बाधा पुर्‍याउने कुनै मनसाय नभएको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

‘चीनसँग दुई राष्ट्रप्रमुखहरूबिच बाली बैठकमा भएको सहमति कार्यान्वयन गर्न, सञ्चारलाई बलियो बनाउन, समष्टिगत आर्थिक स्थिरता र विश्वव्यापी चुनौतीहरूमा सहयोग लाई बलियो बनाउन र संयुक्त राज्य अमेरिका र चीनबिच पारस्परिक आर्थिक लाभ र जीत-जीत परिणाम खोज्न इच्छुक छ,’ उनले भनेकी छन्।

यसैबिच शनिबार बेइजिङमा उनले चिनियाँ अधिकारीहरूलाई जलवायु परिवर्तनविरुद्ध दुई देशबिच एक भएर लड्नुपर्ने बताएकी छन्। उनले चिनियाँ सरकारी अधिकारी तथा वातावरणविदसँग छलफल गरेकी थिइन्।

छलफलका क्रममा दुई देशबिचको सहकार्यबाट २०१५ मा पेरिस सम्झौता सफलतापूर्वक सम्पन्न भएको भन्दै दुवै सरकारले जलवायु परिवर्तन लक्ष्य प्राप्तिका लागि विकासशील देशहहरुलाई सहयोग गर्नुपर्ने बताएकी थिइन्।

उनले विश्वका दूई ठूला अर्थतन्त्र, ग्रिनहाउस ग्यास उत्सर्जनका ठूला देशहरूले जलवायु परिवर्तनविरुद्धको लडाईंलाई दिशा दिनुपर्ने बताएकी थिइन्। उनले चीन राष्ट्र सङ्घबाट विकासशील देशको सूचीमा सूचीकृत भए पनि विकसित देशको रुपमा गरिब देशहरूलाई सहयोग गर्नुपर्ने बताएकी थिइन्।

बढ्दो चुनौतीबिच विश्वका दुई ठूला अर्थतन्त्रबिच वार्ता र सहकार्यको खाँचो रहेको विश्वका लागि चिनियाँ र अमेरिकी अधिकारीबिच बढ्दो अन्तरक्रिया सकारात्मक सङ्केत हो। यद्यपि, हालैका वार्ताका बाबजुद चीन र अमेरिकाबिचको सम्बन्ध दशकौँको सबैभन्दा तल्लो बिन्दुमा छ।

एकातिर संवाद अर्कातिर वाकयुद्ध

एकातिर संवाद जारी रहे पनि अर्कातिर दुई देशका अधिकारीबिच वाकयुद्ध भने चलिरहेको छ। बेइजिङको भ्रमण गरेर अमेरिकी विदेश मन्त्री फर्किए लगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई ‘तानाशाह’को संज्ञा दिएका थिए।

अर्कोतर्फ बेइजिङमा अर्थमन्त्री एलेनले भेटवार्ता गरिरहँदा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले दक्षिण चीन सागरमा चीनको ‘जबरजस्ती र जोखिमयुक्त’ गतिविधि बढेको आरोप लगाएका थिए। उनले बिहीबार मात्र फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टिओडोरोसँग टेलिफोन संवाद गर्दै फिलिपिन्सको रक्षाका लागि अमेरिका प्रतिवद्ध रहेको पनि दोहोर्‍याए।

यता चिनियाँ विदेश मन्त्रालयले पनि उनको टिप्पणीको खण्डन गर्दै चीनले आफ्नो वैद्य अधिकार प्रयोग गरिरहेको जनाएको छ।

अर्कोतर्फ अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले हालै मात्र अमेरिकाले दक्षिण कोरियालाई रणनीतिक आणविक पनडुब्बी पठाउने बताएका थिए। एकातिर शैन्य तथा कूटनीतिक टकराबको अवस्थामा दुई देशबिचको सम्बन्ध तल्लो तहमा पुग्दा अर्कोतिर दुई देशबिच संवाद अगाडि बढेको छ।

'हावाहुरी पछिको इन्द्रेणी र वर्षा'
शुक्रबारको भेटवार्ताका क्रममा चिनियाँ प्रधानमन्त्री लीले एलनसँग चीन-अमेरिकी सम्बन्धले ‘हावा हुरीसँगसँगै इन्द्रेणी”लाई पनि देख्न सक्ने टिप्पणी गरेका थिए।

चिनियाँ सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। जहाँ अमेरिकी विदेशमन्त्री बेइजिङमा उत्रिँदै गर्दा आकाशमा इन्द्रेणी देखिएको छ। वर्षा याममा पानी परेसँगै आकाशमा अझैं बादलले ढाकिएको छ। अर्कोतिर इन्द्रेणी पनि देखिएको छ।

बिहीबार बेइजिङ विमानस्थलमा उनलाई स्वागत गर्न अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध विभागका महानिर्देशक याङ यिङमिङ पुगेका थिए। विमानबाट ओर्लिएकी एनलसँग याङले हात मिलाएर भलाकुसारी गरे। त्यस्तै चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले हात मिलाए। अनि याङ र बर्न्स दुबैले एलनलाई हातले इशारा गर्दै आकाशतिर देखाए। त्यही आकाशमा देखिएको इन्द्रेणीतर्फ इङ्गित गर्दै चिनियाँ प्रधानमन्त्रीले चीन र अमेरिकी सम्बन्धले 'आँधीबेहरीपछि नीलो आकाशसँगै इन्द्रेणी पनि देख्न सक्ने' भन्दै टिप्पणी गरेका थिए।

अहिले दुई देशबिचको सम्बन्धमा आँधीबेहरी देखिएको छ। बिहीबार आकाशमा देखिएको इन्द्रेणी जस्तै सम्बन्ध सुमधुर बन्ने आशा चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देखाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell