PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

समाजवादी मोर्चामा माधव नेपाल हाबी : पार्टी कार्यालयमा बैठक, अध्यक्ष पनि उनै



प्रकाश भण्डारी

समाजवादी मोर्चामा माधव नेपाल हाबी : पार्टी कार्यालयमा बैठक, अध्यक्ष पनि उनै

काठमाडौं: समाजवादी मोर्चा नेपालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई अध्यक्ष तोकेको छ। एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको पहिलो बैठकले ६ महिनाका लागि नेपाललाई अध्यक्ष तोकेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ६/६ महिनामा नेतृत्व परिवर्तन हुने भए पनि सहमति नहुन्जेलका लागि नेपाल नै अध्यक्ष हुने पाण्डेले बताए।

नेपालपछि मोर्चामा रहेका अरु नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपामध्ये एउटा दलको नेताले अध्यक्षता गर्ने सहमति बैठकले जुटाएको हो।  

मोर्चाले साउनमा ७ वटै प्रदेशमा कार्यक्रमको आयोजना गर्ने भएको छ। असार २७ को बैठकले कार्यक्रमबारे निर्णय गर्ने पाण्डेले बताए। '२७ गते फेरि हाम्रो पार्टी कार्यालयमै बैठक हुन्छ त्यसले कार्यक्रमबारे टुंगो लगाउँछ,' उनले भने।

मोर्चाको नीति तथा कार्यक्रम बनाउनका लागि ४ दलका नेता रहेको कार्यदल पनि गठन भएको छ। कार्यदलमा एकीकृत समाजवादीका प्रमेश हमाल, माओवादी केन्द्रका देव गुरुङ, जसपाका राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा छन्।

असार ४ मा चारै दलका शीर्ष नेताले १५ बुँदे प्रतिवद्धता जनाएर समाजवादी मोर्चा गठनका गरेका थिए। मोर्चा गठन भएको १९ दिनपछि पहिलो बैठक बसेको हो। पाण्डेले पहिलो बैठक बस्न ढिलाइ भएको र अब निरन्तर बैठक बस्ने बताए। सत्तामा रहेका तीन कम्युनिस्ट पार्टी र एक गैर कम्युनिस्ट पार्टी जसपाले मोर्चाबन्दी मार्फत संसदमा एउटै धारणा बनाउन खोजिरहेका छन्। उनीहरुसँग प्रतिनिधि सभामा ५४ सांसद छन्।

मोर्चामा रहेका संसदीय दलमध्ये सबैभन्दा कम शक्ति भएको दल एकीकृत समाजवादी हो। यसअघि नै प्रचण्ड - नेपालले पार्टी एकताकै लागि पनि कार्यदल गठन गरेका थिए। पार्टी एकतालाई थाती राखेर नेपाललाई मोर्चाको नेतृत्व प्रचण्डले सुम्पिएका छन्। तत्कालीन नेकपा विभाजनका बेला पनि प्रचण्ड - नेपालले तत्कालीन अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए। 

प्रतिनिधि सभामा १० सांसद मात्रै छन् एकीकृत समाजवादीका। माओवादी केन्द्र मोर्चामा भएकामध्ये  प्रतिनिधि सभामा ३२ सिटसहित पहिलो दल हो। १२ सांसद भएको जसपा दोस्रो ठूलो दल हो भने नेकपाले निर्वाचनमै भाग लिएको थिएन। संसदीय दलमध्ये सानो भए पनि समाजवादी मोर्चाको मुख्यदल नै एकीकृत समावादी बन्न पुगेको छ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको अध्यक्ष मात्रै भएका छैनन् उनकै पार्टी कार्यालमा मोर्चाका पहिलो बैठक बसेको छ भने दोस्रो बस्ने तय भइसकेको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव लगायत चारै दलका नेता  सहभागी थिए।

समाजवादी मोर्चा गठनका लागि तत्कालीन कांग्रेस नेतृत्वमा गठबन्धन चलिरहेका बेला चुनावअघि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल थालेका थिए। तर बाबुराम नै समाजवादी मोर्चामा छुटे, बरु जसपा मोर्चामा सहभागी भयो। मोर्चामै सहभागी गराउनका लागि शीर्ष नेताले एमालेका पूर्व नेता बामदेव गौतमसँग पनि वार्ता गरेका  थिए। तर, वार्ता सफल भएन। बाबुराम र जसपाका उपेन्द्र यादवको टसलका कारण बाबुराम मोर्चामा अट्न सकेनन्।   

मोर्चाले प्रदेश र जिल्लाहरुमा पनि मोर्चाबन्दी गर्ने तयारी गरिरहेको छ। मोर्चाबन्दीमार्फत नेकपा ब्युँताउने पहल गरिने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताउने गरेका छन्। तर नेकपाको एक महत्वपूर्ण दल नेकपा (एमाले) ले भने एमालेबिना नेकपा ब्युँताउन असम्भव रहेको बताउँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell