PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्राचीन कोचिलादेखि थरुहटसम्मको कथा, मधेशको इतिहास लेखन प्रारम्भ



पहिलोपोस्ट

 प्राचीन कोचिलादेखि थरुहटसम्मको कथा, मधेशको इतिहास लेखन प्रारम्भ
फाइल फोटो

काठमाडौं : मधेश प्रज्ञा प्रतिष्ठानले मधेशको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ। मधेशको इतिहास लेखनसम्बन्धी बर्दिबास-४ माईस्थानमा शनिवार सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरेका हुन्।

'मधेश र मधेशसँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आउनुभएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव नै लेखनका आधार हुन्', समापन कार्यक्रममा अध्यक्ष ‘भ्रमर’ले भने, 'प्राप्त तथ्याङ्क र आधार समाएर इतिहास लेखिने हुँदा त्यसको सुरुआत यहीँबाट भएको छ।'

यो कार्यले तीन वर्षभित्र निश्चित आकार लिइसक्ने उनले बताए। पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको तराई क्षेत्रका विभिन्न भाषाका विज्ञ, अन्वेषक र इतिहासका खोजकर्ताको सहभागितामा सम्पन्न गोष्ठीले मधेश प्रदेशका आठ जिल्लामात्र समेटिए पनि इतिहास लेखनमा सम्पूर्ण तराई ल्याइने निर्णय गरेको प्रतिष्ठानका सदस्य दिनेश यादवले बताए।

अब लेखिने मधेशको इतिहासमा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रम उल्लेख गरिने प्रतिष्ठानको अठोट छ। नेपालका प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहट क्षेत्रसँग अहिलेको भारतका सीमा क्षेत्रका भाषा, संस्कृति, वेशभूषा, परम्परा र अन्य रीतिथिति पनि मेल खाने हुँदा भारतीय विद्वानहरूको समेत गोष्ठीमा सहभागिता गराइएको अध्यक्ष ‘भ्रमर’ ले बताए।

शुक्रबार उद्घाटन भएको गोष्ठीमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मधेशको भाषा-साहित्य र राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यसैगरी पश्चिम नेपालका राना थारूको र दाङ क्षेत्रका डगौरा थारूको भाषा-साहित्य र संस्कृतिबारे डा जीवन राना र कृष्ण सर्वहारीले कार्यपत्र प्रस्तुत गरेका थिए। त्यस्तै भारतीय प्राज्ञ अयोध्यानाथ झा र डा पिताम्बर यादवले मैथिली, भाषाविज्ञ गोपाल अश्कले भोजपुरी र विक्रममणि त्रिपाठीले अवधी भाषा-साहित्यको विकासक्रमबारे धारणा राखेका थिए।

सम्पन्न गोष्ठीमा मधेशको इतिहास-गण्डकी पश्चिम कञ्चनपुरसम्म, मधेशको इतिहास-गण्डकी पूर्व कोशी पश्चिमसम्म, मधेशको इतिहास-पूर्व मेची-कोशीसम्म, मधेश प्रदेशको साहित्य संस्कृति र मधेश प्रदेशको भाषा-कलासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell