काठमाडौं : ‘सत्य के हो? सायद! जे देखिरहनु भएको छ त्यही। मलाई देखिरहनु भएको छ? के म तपाईंको जीवनको सत्य बन्न सक्छु?’ मञ्च उक्लिएसँगै रंगकर्मी सोमनाथ खनाल भन्न थाल्छन्।
यतिमै रोकिदैनन् उनी। झन दर्शकप्रति नै प्रश्न तेर्साउँछन् : ‘तपाईं कहिले देखि यो नाटकघरमा आउन थाल्नुभएको? यस बिचमा तपाईंहरुले के के सत्य देख्नुभयो? कुन कुन सत्य तपाईंलाई याद छ? नाटकघरको ढोकाभन्दा बाहिर पुग्दा बिर्सिजाने सत्यलाई तपाईं के भन्नुहुन्छ? तपाईंले देखेका सबै कुराहरु सत्य नहुन सक्छन्। अनि तपाईंले नदेखेका केही कुराहरु सत्य हुन पनि सक्छन्। अब तपाई यसलाई के भन्नु हुन्छ?’
सोमनाथका यी सत्य/असत्यका तमाम प्रश्नसँगै सुरु हुन्छ नाटक।
अध्यारो मञ्च। आकाश गड्याङ्गुडुङ गरेको आवाज। हिउँ परिरहेको मौसमको आभाष। पर्दामा देखिन्छन् डाक्टर सिद्धान्त (भोलाराम सापकोटा) र स्वास्थ्यचौकीका कार्यालय सहयोगी गोपी (गोविन्द सुनार)। शहरमा बस्ने सिद्धान्त ‘मेडिकल मिट’ का लागि गाउँ आएका हुन्छन् उनीहरु।
सोहीक्रममा गोपी र उनकी श्रीमती नौरती (रेनु योगी)को फोनको कुराकानीले सिद्धान्तको ध्यान तान्छ। नौरती आफ्ना श्रीमानलाई बच्चा बिरामी भएको खबर सुनाउँछिन्। अनि सिद्धान्तको यात्रा गोपीको घरतिर मोडिन्छ। घर पुगिसकेपछि सिद्धान्तले देखेको नौरती र गोपीको जीवनको सत्य/असत्यको कथा हो : हिउँभन्दा चिसो। उनीहरुका जीवनका ‘सस्पेन्स’ किस्साहरु थाहा पाउन भने थापागाउँस्थित मण्डला थिएटर नै पुग्नुपर्छ।
सोमनाथ खनालको निर्देशित नाटक ‘हिउँभन्दा चिसो’ भारतीय लेखक तथा कलाकार सौरभको नाटक ‘बर्फ’ को नेपाली रुपान्तरण हो। उस्तै कथा भए पनि ‘हिउँभन्दा चिसो’ मा नेपाली समुदाय र परिवेशलाई सशक्त रुपमा ढालिएको छ। जसमा कर्णाली भेगको एक 'रित्तो गाउँ'को कथा हेर्न पाइन्छ।
‘हिउँभन्दा चिसो’ मा कर्णालीका बहुआयामिक पक्षहरुलाई समेट्ने प्रयास गरिएको छ। गाउँमा गाडी नपुग्दा जनताले पाएको दु:ख। अस्पताल नहुँदा गर्भवती महिलाले भोग्नुपरेको पीडा। पुर्खाले रक्षा गर्छन् भन्ने सामाजिक मान्यता। अनि गाउँ छोडेर शहर बसाइँ सर्ने जमातको तीतो यथार्थ। यी सबै समस्याले पारेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक प्रभावलाई नाटकमा चित्रण गरिएको छ। एक आमाले सन्तानलाई गर्ने अथाह प्रेम र स्नेहलाई पनि नाटकमा देखाइएको छ।
आफूले ल्याइदिएको गुडियाबाट श्रीमतीलाई खुसी देख्दा गोपी दंग हुन्छ। गुडियालाई नौरती आफ्नै सन्तान जस्तै माया गर्छिन्। भ्रम र सत्यको खोजीमा कथा रुमरिहँदा गोपीले भन्छन्,‘विश्वास हुन पड्डो छ, सत्य आफैँ बन्नछ। नत्र आफैमा सत्य केही पनि होइन हजुर।’
श्रीमतीप्रतिको विछ्टै माया भएका गोपीले सत्यमाथि प्रश्न गर्छन्। जसको जवाफ नाटकभित्र छ।
कलाकारहरुको जीवन्त अभिनय नाटकका बलिया पक्ष हुन्। गोविन्द र रेनु कर्णालीका पात्रको भूमिकामा छन्। उनीहरुले लगाएका पहिरन, बोल्ने भाषा र लवजले दर्शकलाई कर्णालीतिर लैजान्छ। रेनुले नौरतीको मनोदशा र सन्तानप्रतिको प्रेमलाई सुन्दर तरिकाले प्रस्तुत गरेकी छिन्।भोला सापकोटा पनि डाक्टरको पात्रमा 'फिट' नै छन्।
निर्देशक खनालले कर्णालीको चिसो कथालाई सन्तुलित तरिकाले पर्दामा उत्रार्न सफल भएका छन्। त्यस्तै, नम्रता केसीले गरेको अनुवादित संवाद र संगीतले पनि दर्शकलाई बाँधिराख्छ। रोचक प्रस्तुती, चोटिला संवाद र कलाकारहरुको बेजोड अभिनयले ‘हिउँभन्दा चिसो’ हेर्नेपर्ने नाटक बनेको छ। यो नाटक साउन १४ गतेसम्म मञ्चन हुनेछ।