PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आरजु देउवा जोडिएको अडियोबारे प्रहरीको जवाफ : स्वर थुनामा रहेका सन्देशको हो



पहिलोपोस्ट

आरजु देउवा जोडिएको अडियोबारे प्रहरीको जवाफ : स्वर थुनामा रहेका सन्देशको हो

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले साइबर ब्यूरोमा दिएको उजुरीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले बैशाख २ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सो प्रकरणमा हाल थुनामा रहेका बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण र आरजुले पनि रकम लिएको भन्ने अडियो सार्वजनिक भएको थियो।

अडियोको परीक्षण गर्दा त्यसमा सुनिएको स्वर हाल थुनामा रहेका दाङ घर भएका सन्देश शर्माको भएको खलेको छ। नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतले आइतबार विज्ञप्ती जारी गर्दै अडियोमा सुनिएको स्वर सन्देश शर्माको भएको जानकारी दिएका हुन्।

तर, अडियो कहाँ र कसबाट आयो भन्ने जानकारी लिनको लागि टिकटकको सिंगापुर कार्यालय पत्रचार गरे पनि थप विवरण प्राप्त नभएको बताइएको छ। अडियोमा शरणार्थी प्रकरणमा आरजु देउवाले समेत रकम लिएको बताइएको छ। त्यसपछि प्रहरीको अनुसन्धान आरजु देउवा माथि पनि हुनुपर्ने भन्दै आवाज उठाउँदै आएका छन्। तर, प्रहरीले प्रमाण नपुगेसम्म कसैलाई पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ।

दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा विरुद्ध गजेन्द्र बुढाथोकीले प्रहरीमा उजुरी दिएका थिए। त्यसैको आधार र पक्राउ परेकाहरूको बयानको आधारमा प्रहरीले सन्देशको खोजी गरेको थियो। चैत २९ गते उनलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। शर्मा जिल्ला अदालत काठमाडौंको आदेशमा अहिले पूर्पक्षको लागि थुनामा छन्।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा असार १ गते अदालतले हाइप्रोफाइल व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायलाई पुर्पक्षको लागि थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell