PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

हिरासतमै दोस्ती, सुनको सिक्री ‘स्न्याचिङ’को धन्दा : क्लु बन्यो हेलमेट, गिरोह पर्‍यो फन्दामा



सविन ढकाल

हिरासतमै दोस्ती, सुनको सिक्री ‘स्न्याचिङ’को धन्दा : क्लु बन्यो हेलमेट, गिरोह पर्‍यो फन्दामा

काठमाडौं : असार १ गते बिहान ५ बजेतिर ४५ वर्षीया सरस्वती खतिवडा मर्निङ वाकका लागि निस्किइन्। बहिनी पनि उनीसँगै थिइन्। टोखा नगरपालिका वडा नम्बर ६ मा रहेको ग्राण्डी अस्पताल नजिकै पुग्दा बिहानको ५ बजेर ५५ भएको थियो।

आफ्नै सुरुमा हिँडिरहेकी सरस्वतीको पछाडिबाट कसैले घाँटीमा लगाएको सुनको सिक्री तानेजस्तो भयो। नभन्दै पछाडि फर्किएर हेर्दा एक युवक भागिरहेका थिए। एकछिन आफैँ अलमलमा परिन् उनी।

'कसैले मोटरसाइकलको नम्बर टिप्नु भन्दै थिए। पछाडि फर्किएर दौडिन खोज्दा उल्टै लडेछु। त्यतिकैमा दुई जना मोटरसाइकलमा भागेको देखेँ,' सरस्वतीले सुनाइन्।

छिनभरमै १ लाख १० हजार रुपैयाँ पर्ने एक तोलाको सुनको सिक्री लुटियो। अहिले कतिले त उनलाई नै बिहान सिक्री लगाएर किन हिँडेको? भन्दै उल्टै प्रश्न गर्छन्। ती प्रश्नले दिग्दार बनाउँछ उनलाई।

त्यसै दिन लगभग उस्तै समय। नागार्जुनको बुद्चोकमा मर्निङ वाकमा हिँडेकी ५५ वर्षीया रेखा घिमिरेको पनि सुनको सिक्री लुटियो। उनको सिक्री पनि उस्तै शैलीमा लुटियो र लुट्नेहरु मोटरसाइकलमा फरार भए।

सरस्वतीले लुटिएको केही समयमा नै प्रहरीको एक सय नम्बरमा फोन गरेर घटनाको जानकारी टिपाइन्। प्रहरीमा आएको सूचना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिसकेको थियो। उनीहरू लुटिनुभन्दा दुई दिन अघि (असार १ गते) काठमाडौंको कपुरधारामा ४६ वर्षीया रमा पाण्डे पनि त्यसरी नै लुटिएकी थिइन् भन्ने जानकारी प्रहरीलाई थियो।

प्रहरीले पीडितहरुको बयान लियो। सबैको एउटै कुरा - मोटरसाइकलमा आएका दुई जनाले सिक्री लुटे।

प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गर्न थाल्यो। असार २० गतेसम्म आइपुग्दा काठमाडौंको विभिन्न ८ स्थानमा उस्तै प्रकृतिको सिक्री लुटेरा सक्रिय भएका थिए। घटनाको ट्रेन्ड एकै देखियो।

घटनाको समय : बिहान ४ बजेदेखि ६ बजेसम्म

टार्गेट समुह : मर्निङ वाकमा निस्किएका महिला

साधन : मोटरसाइकल

प्रहरीले घटनास्थलको सीसी क्यामराको फुटेज हेर्‍यो। लुट्नेको पहिचान भने हुन सकेन। तर, ड्युक बाइकमा आएका दुई जनाले सिक्री लुटेको देखियो। मोटरसाइकलको नम्बर भने खुलेन। लुटपाटको श्रृङ्खला चलिरहँदा केस थपिँदो थियो। काठमाडौं छाउनी नजिकै चागलमा बिहान ५ बजेर ४५ मिनेटमा उसै गरी मर्निङ वाकमा निस्किएकी ६५ वर्षीय महिलाको सुनको सिक्री लुटियो। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा यहाँ चाहिँ केही क्लु भेट्टायो। अनुसन्धान जारी राख्दा सोही समूहका दुई जना पहिलो चरणमा र त्यसपछि थप समातिए।

रामेछापको लिखु गाउँपालिका घर भएका ३२ वर्षीय रविन दमाई, सुनसरीको धरान घर भएका १८ वर्षीय रवि विश्वकर्मा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा घर भएका ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल घर भएका ४२ वर्षी श्रीकान्त माइती समातिए।

'आठौं घटनामा हामीलाई मानिस पहिचान गर्न सफल भएका हौं। केही सीसी क्यामरा लगायतको कुराले हामीलाई सजिलो बनाएको थियो,' कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने।

हेलमेटले न्यारो डाउन गराएको केस

प्रहरीले पक्राउ गरेका पाँच जनामध्ये रविन दमाई मोटरसाइकलको पछाडि बसेर सिक्री लुट्ने गर्थे। रविन र र विश्वकर्मा बिहानै टार्गेटे समूहलाई निशाना बनाए निस्कन्थे। रवि मोटरसाइकल चलाउँथे। घाँटीमा लगाएको सुन चाहिँ सुनसान ठाउँमा पुगेपछि लुटेर भाग्थे। त्यसको लागि केही समय अगाडिदेखि उनीहरूले रेकी गर्ने गरेका थिए। मोटरसाइकल केही अगाडि रोकेर रविन झर्थे र महिलाको गलाको सिक्री थुतेर पुनः मोटरसाइकल भेट्टाउथेँ। अनि फरार।

'यस्तो केसमा पहिलेभन्दा फरक ट्रेन्ड देखिन्छ। यसअघि मोटरसाइकल नजिकै लगेर लुट्ने गरेका थिए। अहिले लुटेपछि मोटरसाइकलमा भाग्ने गरेको देखिन्छ,' एसएसपी केसीले भने।

पक्राउ परेका रविन दमाई यसअघि पनि सुन चोरी प्रकरणमा समातिएको रेकर्ड प्रहरीसँग छ। पेप्सीकोलाबाट गत चैतमा उनी समातिएका थिए। उनी जहाँ समातिए त्यहीबाट अर्को चोरीको नेटवर्क बन्यो।

नयाँ बानेश्वरको थुनामा रहँदा उमेश क्षेत्रीसँग रविनको भेट भयो। उमेश मोटरसाइकल चोरीमा थुनामा परेका रहेछन्। सुन र मोटरसाइकल चोरीमा समातिएकाको दोस्ती हिरासतमै भयो। र नयाँ शैलीको धन्दा थालनी।

'थुनामा चिनजान भएको र छुटेपछि पुनः चोरीमा लागेको देखियो,' एक प्रहरी अधिकृतले भने।

घटनामा प्रयोग भएको मोटरसाइकल उमेशले नै मिलाएका थिए। उनले चोरी भएको मोटरसाइकलमा नम्बर परिवर्तन गरेर उपलब्ध गराएको खुलेको छ। उनीहरूले चोरी गरेर ल्याएको सुनको सिक्री उमेशलाई नै बुझाउँथे। त्यसपछि उमेशले राहुल माझीलाई बिक्री गर्नका लागि दिन्थे। राहुल सुनको गहना बनाउने कालिगढ समेत हुन्। उमेश र राहुल आफन्त नै हुन्।

यसरी चोरी भएको सुन गालेपछि उनी श्रीकान्तलाई बिक्री गर्थे। श्रीकान्त सुनका व्यापारी। बिक्री गरेर आएको पैसा राहुले उमेशलाई दिन्थे। त्यसपछि उमेशले पैसा सबैजनालाई बाँड्ने गरेको देखिएको छ। यो गिरोहविरुद्ध प्रहरीले एक महिना लगाएर अपरेसन गरेको दाबी गरेको छ।

घटना भएको स्थान वरपरको सीसी क्यामरा फुटेज प्रहरीले सङ्कलन गरेर अनुसन्धान थालेको थियो। फुटेजमा सबै घटनामा ड्युक मोटरसाइकल प्रयोग भएको देखिएको थियो। त्यस्तै, एउटै हेलमेट लगाएको देखिन्छ। सुरुमा प्रहरीले हेलमेट र ड्युक मोटरसाइकल लक्षित गरेर पनि अनुसन्धान गरेको थियो। तर, पछि अन्य प्रमाण फेला परेपछि अभियुक्तको नजिक पुगेको प्रहरीको दाबी छ।

'हेलमेटले हामीलाई थप अभियुक्तलाई प्रमाणित गर्न सहयोग चाहिँ गरेको छ,' एसएसपी केसीले भने। त्यस्तै अभियुक्तले लगाएको लुगाले पनि प्रहरीले पहिचान गर्न मद्दत गरेको थियो।

प्रहरीले उनीहरूको साथबाट लुटिएको सुन, मोटरसाइकल र मोबाइल बरामद गरेको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले लुट्न एउटै मोटरसाइकल प्रयोग गरेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell