PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ललिता निवास प्रकरणमा समातिएका सचिव राउतको के थियो भूमिका?



पहिलोपोस्ट

ललिता निवास प्रकरणमा समातिएका सचिव राउतको के थियो भूमिका?

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। आइतवार काठमाडौंबाट विराटनगर जान लागेका राउतलाई ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

ललिता निवास प्रकरणमा उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

‘उहाँलाई अदालतबाट नै पक्राउपुर्जी लिएर पक्राउ गरेका हौं,’ सीआइबी स्रोतले भन्यो।

प्रहरीले विभिन्न ४ वटा मुद्दामा ४ सय ६ जनालाई फरार प्रतिवादी बनाएको छ। प्रहरीले मुद्दा नम्बर २४ मा जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिइसकेको छ।

राउतलाई भने मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठी प्रकरणमा नाम जोडिएपछि पक्राउ गरिएको हो। त्यस्तै, मुद्दा नम्बर २५ मा पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेको अभियोगमा १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। त्यस्तै, छुट जग्गामा १३ जना र निवास परिसर सट्टापट्टामा ७४ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको हो।

ललिता निवास प्रकरणमा प्रहरीले गत मंगलवार निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्कीलगायत १२ जनालाई पक्राउ गरिसकेको छ।

सचिव राउतलाई भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा ललिता निवास प्रकरणमा टिप्पणी उठाएको भन्दै पक्राउ गरिएको हो।

‘त्यतिखेर गुठीको नाममा जग्गा दिने प्रकरणमा टिप्पणी उठाएको भूमिका देखिएको छ,’ एक प्रहरी अधिकृतले भने।

२०६७ मा बालुवाटारमा प्रधानमन्त्रीलगायत भीआइपी व्यक्तिको निवास विस्तार गर्ने नाममा सट्टाभर्नासम्बन्धी निर्णयमा टिप्पणी उठाएको देखिएको प्रहरीको दाबी रहेको छ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो। त्यतिखेर अख्तियारले माघ २२ गते १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

पूर्व मन्त्रीहरु विजय कुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत यस मुद्दामा तानिएका थिए। पूर्व सचिवहरु छवि पन्त, दिनेशहरि अधिकारी र दीप बस्‍नेतको नाम पनि यो सूचीमा थियो।

प्रहरीले १ सय ४३ रोपनी जग्गा हिनामिनामा चारवटा मुद्दा बनाएर अनुसन्धान गरिरहको छ। जग्गा प्राप्ति ऐन २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहरण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ४ को सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा गरिएको देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell