PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बैंकका शाखा प्रमुख नै ग्राहकको रकम हिनामिनामाः कर्मचारीलाई हातमा लिएर श्रीमानको खाता खोली झिकियो रकम



पहिलोपोस्ट

बैंकका शाखा प्रमुख नै ग्राहकको रकम हिनामिनामाः कर्मचारीलाई हातमा लिएर श्रीमानको खाता खोली झिकियो रकम

काठमाडौंः सिन्धु विकास बैङ्क बाह्रबिसे शाखाबाट लामो समयदेखि निक्षेपकर्ताको रकम हिनामिना भएको खुलेको छ। घटनामा बैङ्कका कर्मचारीको नै मिलोमतो देखिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अनुसन्धान गरी बैङ्क कर्मचारीलाई नै नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो।

शाखा प्रमुख रुक्सा श्रेष्ठको योजनामा बैङ्कको २ करोड ६८ लाख रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले घटनामा संलग्न शाखा प्रमुख रुक्सा श्रेष्ठ, कर्मचारीहरू एलिसा बस्नेत र अस्फना श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बैङ्कका अर्का कर्मचारी नितीका श्रेष्ठ भने फरार छिन्।

त्यस्तै घटनामा जोडिएका पदमबहादुर प्रधानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको अनुसन्धानमा घटनामा बैंकका पाँच कर्मचारी र अन्य पाँच जना बाहिरका व्यक्तिको संलग्नता देखिएको छ।

'बैङ्कका कर्मचारीको संलग्नतामा नै बचतकर्ताको रकम हिनामिना गरेको देखियो। अहिले पाँच जनालाई पक्राउ गरेका छौँ। बाँकीका विरुद्धमा पक्राउ पुर्जी जारी भइसेको छ,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बाल नरसिंह राणाले भने।

प्रहरीले फरार रहेका पाँच जना विरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी गरेको छ।

फरार हुनेहरूमा बैङ्कका कर्मचारी एलिसा, अस्फना र नितीका श्रेष्ठका श्रीमान् रहेका छन्।

उनीहरूले बचतकर्ताको रकम आफ्ना श्रीमानको नाममा खाता खोलेर पठाएको देखिएको छ। रकम श्रीमानहरूको खातामा गएको र झिकेको देखिएपछि उनीहरूलाई पनि अनुसन्धानको घेरामा तानिएको हो।

'उनीहरू क्यास र सिडिएसमा बस्ने कर्मचारी हुन्। जसले श्रीमानलाई समेत आफ्नो योजनामा संलग्न गराएका छन्। एक जना समातिएका पनि छन्,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

सुन व्यापारीको खातामा रकम

बचतकर्ताको रकम हिनामिनाको प्रमुख योजनाकार रुक्सा श्रेष्ठ भएको खुलेको छ। ३१ वर्षीय श्रेष्ठ बैङ्क स्थापनादेखि नै बाह्रबिसेमा कार्यरत थिइन। लामो समय एउटै शाखामा काम गर्दा उनले बचतकर्ताको रकम नै हिनामिना गरेको घटना लुकाउने मौका पाइन्। बचतकर्ता रकम झिक्न आए फिक्स डिपोजिटमा राखेको भन्दै पठाउने गरेकी थिइन्। अरूको खाताबाट समेत रकम तानेर केही समयलाई मिलाउने गरेको पनि अनुसन्धानमा देखिएको छ।

'अरूको खाताबाट पनि रकम तानेर मिलाउने गरेको देखिएको छ,' एसपी राणाले भने।

बैङ्क खाताबाट सेवाग्राहीको रकम झिकेर उनले धेरै जसो रकम पदमबहादुर प्रधानको खातमा पठाउने गरेको देखिएको छ। जसबाट उनले राम्रो ब्याज समेत लिएको खुल्छ। पदमबहादुर सुनचाँदी व्यवसायी हुन्। तर केही समयदेखि भने उनको सुनको पसल बन्द भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। रुक्साले धेरै चोटि उनको खातामा पैसा पठाएको देखिएको छ।

२ करोड ६८ लाख रुपैयाँ हिनामिना भए पनि उनीहरूले बिचमा १ करोड ३३ लाख रुपैयाँ जम्मा गरेको पनि अनुसन्धानमा खुलेको छ। अहिले पनि पीडितहरूको उजुरी आउने क्रम रहेकाले हिनामिनाको रकम बढ्न सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ। उनीहरूले सेवाग्राहीको खाताबाट एक दिनमा ९ लाख ९० हजार रुपैयाँसम्म झिक्ने गरेको देखिएको छ।

रुक्सालाई प्रहरीले जेठ २५ पक्राउ गरेको थियो। त्यसपछि अन्य कर्मचारी समातिएका हनु। रुक्सा २०७९ कार्तिक महिनातिर शाखाबाट सरुवा भएपछि हिनामिना प्रकरण बाहिरिएको थियो। बैङ्कले पनि केही समय लगाएर अनुसन्धान गरेको थियो। जसमा ६ जना कर्मचारीलाई निलम्बन गरेको समेत प्रहरीको अनुसन्धानमा खुल्छ।

प्रहरीले उनीहरूविरुद्ध बैङ्किङ कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ४२ जना सेवाग्राहीले उजुरी दिएका छन्।

केही साताअघि मात्र एभरेष्ट बैंकको इटहरी शाखामा पनि कर्मचारी मिलेर सेवाग्राहीको खाताबाट रकम हिनामिना गरेका थिए। उनीहरूले ग्राहकको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी गरेको देखिएको थियो। इटहरी शाखाका प्रवन्धक विश्वराज शाक्य, ३७ वर्षीय दावा लामा, २७ वर्षीय मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित, पवित्रा कटुवाल समातिएका थिए। त्यस्तै, शङ्कर भुजेल र अजय खउजुलाई पनि प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell