PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रसुवामा पनि देखिए डेङ्गीका बिरामी



पहिलोपोस्ट

रसुवामा पनि देखिए डेङ्गीका बिरामी
फाइल फोटो।

रसुवा : उत्तरी रसुवाको भू-भागमा समेत डेङ्गीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गीका  बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिए। समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गी रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध समेत गरेको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा शाहले डेङ्गी सार्ने लामखुट्टे बिहान सूर्यदयभन्दा अगाडि र साँझ सूर्यदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनु पर्ने बताए।

उनले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाडा छोपेर राख्न आग्रह समेत गरे।

यस्तै, जिल्ला अस्पताल धुञ्चेले आइतवारदेखि थप व्यवस्थित गर्दै ‘ओपीडी सेवा’ सञ्चालनमा ल्याएको छ। अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपीडी सेवा सञ्चालनमा ल्याएको हो। सो ओपीडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गरे।

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौं रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ। यसबाट विशेषगरी प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको समाजसेवी बाबुलाल तामाङले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell