PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'वानएक्स-बेट’ प्रकरणमा बल्छी धुर्बेले भने : गल्ती भएकाले कानुन बमोजिम कारबाही होस, दिनेशले दिए इन्कारी बयान



सविन ढकाल

'वानएक्स-बेट’ प्रकरणमा बल्छी धुर्बेले भने : गल्ती भएकाले कानुन बमोजिम कारबाही होस, दिनेशले दिए इन्कारी बयान

काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले पक्राउ गरेका केही कलाकार र अन्य गरेर ११ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भई थुन्छेक बहस भइरहेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले ११ जना विरुद्ध सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ।

जेठ ३२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) लगायतलाई पक्राउ गरेको थियो।

उनीहरूलाई पक्राउ गर्नु भन्दा अगाडी प्रहरीले सट्टेबाजी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको थियो। त्यसैको आधारमा प्रहरीले कलाकारहरूलाई पनि समातेको हो। उनीहरूले आफ्नो युट्‍युब च्यानलमा वान एक्स बेटको विज्ञापन गरेको आरोप लगाइएको छ।

यस घटनाको मुख्य अभियुक्त भने दिनेश खड्का भन्ने युवक देखिएका छन्। उनले रामविलास थारु, तेजबहादुर कठायत, नवीन चौधरी, अनिता धितालको कागजपत्र प्रयोग गरेर ६३ वटा बैंक खाता खोलेका थिए। उनले १२ वटा बैंकबाट ६४ करोडको कारोबार गरेको पहिलो चरणको अनुसन्धानमा खुलेको थियो। उनीसँगै दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने पनि समातिएका थिए। प्रहरीले यस घटनामा अन्य केही मानिसलाई पक्राउ गरे पनि ११ जना विरुद्ध मात्र अदालतमा प्रतिवाद बनाइएको हो। जसमा मोरङ घर भएका कुशल पोखरेललाई भने फरार प्रतिवादीका रुपमा राखिएको छ।

प्रहरीसँगको बयानमा मुख्य अभियुक्त दिनेश खड्का र अनिता धितालले भने इन्कारी बयान दिएका छन्। प्रहरीले बरामद गरेको भनिएको सिम कार्ड र विभिन्न व्यक्तिको नाममा खोलिएको बैंक खाताबारे आफूहरु जानकार नभएको भन्दै उनीहरुले इन्कारी बयान दिएका हुन्। क्रिप्टोकरेन्सी र वान एक्सबेटका विषयमा समेत आफूलाई कुनै जानकारी नभएको भन्दै उनीहरुले बचाउ गरेका छन्। तर, प्रहरीको अनुसन्धानमा दिनेश लगायत अन्य व्यक्तिको खातामा रहेको ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो समेत जफत गर्न माग गरिएको छ।

कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले भने आफूलाई 'ढेडु बुढो' भन्ने सरोज घिमिरेले युट्युबमा मार्फत वानएक्स बेटको विज्ञापन गर्न प्रोमो कोर्ड उपलब्ध गराएको बताएका छन्। जसमा यकिन कारोबार थाहा नभएपछि ५० हजार रुपैयाँको आर्थिक लाभ समेत लिएको बताएका छन्। आफूलाई यस्तो विज्ञापन गर्न नहुने थाहा नभएकाले उनले गल्ती भएकाले कानुन अनुसार कारबाही गर्न माग गरेका छन्।

बयानमा उनले भनेका छन्,' उक्त कार्य गर्न नहुने रहेछ। गल्ती भएकाले कानुन बमोजिम होस।'  प्रोमोकोड दिएर दुई महिना अगाडिदेखि विज्ञापन गरिरहेको उनले बताएका छन्।

राजु पौडेलले पनि सरोज घिमिरे मार्फत नै विज्ञापन गरेको बताएका छन्। दुई महिना अगाडी महिनाको १५ देखि ४० हजार रुपैयाँ कमाई हुन्छ भनेपछि उत्प्रेरित भएर यसमा संलग्न भएको उनले बताएका छन्। युट्युबमा हाल्ने भिडियो पनि सरोजले नै पठाएको उनले बताएका छन्। उनले  मरिचमानले जस्तै यकिन रकम याद नभए पनि ५५ हजार रुपैयाँ जति लिएको बताएका छन्।

यस्तै, प्रयाङ्क स्टार अलिस राईले पनि अपरिचित व्यक्तिले टेलिग्राम मार्फत विज्ञापन दिएको तर आफैले कसैलाई वानएक्स बेटमा लाग्नु वा गर्नु भनेर नभनेको बयान दिएका छन्। उनले पनि अहिलेसम्म विज्ञापन मार्फत २०/३० हजार रुपैयाँ लिएको बताएका छन्। त्यस्तै उनले यस घटनाका मुख्य अभियुक्त दिनेश खड्का र अनिता धिताललाई नचिनेको बयान दिएका छन् उनले। तर प्रहरीसँगको बयान र प्रहरीको प्रतिवेदनमा भने दिनेशले आफूहरूले वानएक्स बेटको विज्ञापन गर्न विभिन्न कलाकारको युट्‍युब प्रयोग गरेको उल्लेख छ।

कलाकार सरोज घिमिरेले भने एक व्यक्तिले टेलिग्राम मार्फत सम्पर्क गरेर वानएक्स बेटको विज्ञापन गरेर कमाई हुन्छ भनेपछि त्यसमा संलग्न भएको बयान दिएका छन्। उनले पनि १५/२० सेकेन्डको भिडियोको २०/ २५ हजार रुपैयाँ महिनाको आउने गरेको बताएका छन्। अहिलेसम्म ६० देखि ८० हजार रुपैयाँ लिएको उनले बताएका छन्।

सरकारी वकिल कार्यालयले भने कलाकारको हकमा विज्ञापन ऐन २०७६ अनुसार दफा ५ अन्तर्गत कारबाही गर्न माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell