PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उधारो पुरस्कारको चाङ : क्रिकेटरको हात पर्ने लागेन ठेगान, अनि मन्त्रीले घुमाए फोन



मुकुन्द घिमिरे

उधारो पुरस्कारको चाङ : क्रिकेटरको हात पर्ने लागेन ठेगान, अनि मन्त्रीले घुमाए फोन

काठमाडौं : नेपाली क्रिकेट टोली 'इमर्जिङ टिम्स् एसिया कप'का लागि सोमवार श्रीलंका पुग्दैछ। बिहानै टोलीलाई बिदाई गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पुगे सोल्टीमोडस्थित हायत प्लेस। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष र चतुरबहादुर चन्द र कार्यवाहक सचिव विदेशमा रहेकाले कार्यक्रमको सभापति बने क्यानका कोषाध्यक्ष रोशन सिंह।

'खेल हेर्दा साना देखिए पनि खेलाडी त अग्ला पो रहेछन्,' भनेर ठट्टा गर्दै मन्त्री लिम्बू मञ्चमा उक्ले। लिम्बूले आफ्नो उचाइ कम हुँदा खेलमा अपेक्षाकृत प्रगति गर्न नसकेको खेलाडीलाई सुनाए।

मन्त्रीसँग गुनासो : खेलाडीले पुरस्कार पाएनन्

क्यानका मेनेजर विनोद दासले कार्यक्रम सञ्चालन गर्दै शुभकामना सन्देश दिन सिंहलाई बोलाए। कोषाध्यक्ष सिंहले तेस्रो पटक नेपालले इमर्जिङ टिम्स् एसिया कप खेल्न गइरहेको उल्लेख गर्दै शुभकामना दिए।

उनले क्रिकेट विश्वकप लिग - २ को समयमा ३ सिरिज, यू १९ टोली विश्वकपमा छनोट, महिला टोलीले मलेसियासँगको सिरिज जित्दा र नेपाली पुरुष टोलीले एसीसी प्रिमियर लिगको च्याम्पियन बन्दा पाउनुपर्ने रकम हालसम्म प्राप्त गर्न नसकेको बताए।

'नीति तथा कार्यक्रममा जुन खेलाडीलाई आर्थिक प्रोत्साहन गर्न भनिएको छ, त्यसबाट खेलाडी वञ्चित गरिएको देखिएको छ,' उनले भने। सिंहले खेलाडीले  बाँकी रहेको रकम चाँडै प्राप्त गर्नुपर्ने बताए।

मन्त्रीको जवाफ : क्रिकेटमामात्र बजेट भयो भन्ने गुनासो अरुको छ

खेलाडी बिदाइ गर्नुअघि मन्तब्य दिएका मन्त्री लिम्बूले आफूहरु खेलकुदलाई व्यवस्थित गर्न लागिपरेको बताए।

यसपटकको बजेटमा क्रिकेटलाई प्राथमिकतामा धेरै पारेको भन्दै अन्य संघहरुबाट आफूलाई गुनासोसमेत आएको बताए।

पुरस्कार खै?

मन्त्री लिम्बूले पुरस्कार हौसिएर घोषणा गर्ने तर प्रकृयामा नलग्ने गर्दा थिति बिग्रिएको दाबी गरे।

'जितेको बेलमा नेता साथीहरु मन्त्री र प्रधानमन्त्रीहरु हौसिएर दिउँ न भनेर घोषणा गर्दो रहेछ। मन त ठूलो हो। तर, घोषणा गरेको रकम खै त? ' मन्त्री लिम्बूले प्रतिप्रश्न गरे।

उनले यसलाई व्यवस्थित गर्न अर्थ मन्त्रालयमा फाइल पठाएको र त्यहाँबाट सहमति मिल्नसाथ खेलाडीले पुरस्कार पाउने बताए।

'मैले तीनवटा फाइल बनाएर पठाएको छु, अर्थको सहमतिका लागि। जसमा २ लाखवाला। ३ लाख वाला र ६ लाख वाला। यो दिन्छु भनेर किन नदिएको? अर्थले सहमति जनाइसके जस्तो लागेको छ,' मन्त्री लिम्बूले भने, 'त्यसो हो भने खेलाडीले पुरस्कार रकम पाउनुपर्ने हो। मैले पनि यसमा जोड दिँदै आएको हो। दिने भने पछि पाउने मान्छेले पर्खिएर बसेको हुन्छ। किन नदिएको? दिन नसक्ने भए किन घोषणा गरेको त भनेर यहाँ धेरै छलफल भइसकेको छ।'

उनले क्रिकेटका लागि प्रधानमन्त्री प्रचण्डसमेत चिन्तित भएको र केही घोषणासमेत गरेकाले त्यसलाई पूरा गर्न आफूहरु लागेको बताए।

'वहाँले धेरै कुरा बोल्नु पनि भएको छ। वहाँले बोलेको कुरा व्यवस्थित गर्ने काम मन्त्रालयको भएकाले मैले सिलसिलावद्ध ढंगले अघि बढाएको छु,' उनले भने।

मन्त्री लिम्बूले कुरा राखेपछि विनोद दासले खेलकुदमा खर्चको नभएर लगानीको कुरा गरेकोमा धन्यवाद दिए।

उनले क्यानका पदाधिकारीलाई प्रकृया अघि बढिसकेको हुनाले फलोअप गर्न सुझाए।

'किप इन टच'मा रहने। बोल्या छ देला नि भनेरमात्र पर्खिएर बसेर भएन,' उनले भने। 

'लगानीको कुरा गर्नु भयो। तर, खर्चको कुरा गर्नु भएन। आजको लगानीले भोलि पक्कै फाइदा दिनेछ,' उनले भने।

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमै उल्लेख भएअनुसार नै सरकारले खेलाडीलाई पुरस्कार घोषणा गर्छ। पछिल्लोपटक एसिसी प्रिमियर कप च्याम्पियन बन्दा सरकारले जनही ६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो। यतिमात्र हैन प्रशिक्षकलाई ६ लाख र अफिसियललाई जनही ३ लाख दिने घोषणा गरेको थियो। यही रकममात्र हिसाब गर्दा करोड नाघ्छ।

कार्यक्रमस्थलबाटै मन्त्रीको फोन…

आफ्नो मन्तव्य राखिसकेपछि मन्त्री लिम्बूले मञ्चबाटै फोन घुमाए। पछि मन्त्री लिम्बूले सम्बन्धित ठाउँमै फोन गरेर बाँकी पुरस्कारको निकासाका लागि पहल गरेको छैवैमा बसेका कोषध्यक्ष सिंहले बताए।

'मन्त्री ज्यूले मेरै अगाडि फोन गर्नुभयो सम्बन्धित निकायमा,' सिंहले भने, ' उहाँले मलाई कति पुरस्कार पाउन बाँकी ६ भनेर सोध्नु भयो। मैले कोषाध्यक्ष भएको हिसाबले ६ वटा पुरस्कार बाँकी रहेको जानकारी गराएँ।'

सिंहले क्यानको तर्फबाट खेलाडी र पदाधिकारीको नामसहित पठाएको तर युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयमा ढिलाइ हुँदा पुरस्कार प्राप्त हुन नसकेको बताए।

मन्त्री लिम्बूको प्रयासपछि राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले केही आशावादी भएको बताए। 'अलि ढिला भएको हो। मन्त्री ज्यूले चाँडै हुन्छ भन्नु भएको छ। हामी ध्यान अगाडि आउने खेलहरुमा केन्द्रित छ,' पौडेलले भने। यद्यपि पुरस्कार ढिला हुँदा हुन सक्ने क्षतिबारे भने सचेत गराएका छन्। पौडेल भन्छन्, 'टिमको सबैजना खेलाडी आर्थिक रुपले सबल हुँदैन। व्यक्तिगत जीवनमा संघर्ष पनि चलिरहेको हुन्छ। फुटबलहरुमा जसरी खेलाडी बाहिर गइरहेका छन् त्यस्तो नहोस क्रिकेटमा।'

को को छन् टोलीमा?

नेपाली क्रिकेट टोली आज एसीसी इमर्जिङ टिम्स् एसिया कप खेल्न खेल्न सोमवार दिउँसो श्रीलंका जाँदैछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमन र यूएईको 'ए' टोलीको सहभागिता रहने छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान 'ए' सँग जुलाई १४ मा खेल्दैछ।

नेपाली टोलीमा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछानेलगायतका खेलाडी छैनन् भने पवन सर्राफ, सूर्य तामाङ, श्याम ढकाल, देव खनाललगायतले स्थान बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell