PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बन्जर सिसुवा भतेरी क्षेत्र : राष्ट्रपति पौडेलको परिकल्पनाले बन्दै उर्वर



पहिलोपोस्ट

 बन्जर सिसुवा भतेरी क्षेत्र : राष्ट्रपति पौडेलको परिकल्पनाले बन्दै उर्वर

दमौली : प्रजापति सापकोटा हिजोआज ढुक्कले खेती गर्न सक्छन्l तनहुको व्यास नगरपालिका १० दुम्सी निवासी सापकोटा केही वर्ष अघिसम्म बालीनाली छाडा चौपायाले नष्ट गरिदिने होकी भन्ने चिन्ताले पिरोलिन्थेl तर अचेल उनको यो चिन्ता घट्दै गएको छl नगरपालिका क्षेत्रकै छाडा तथा वृद्ध चौपायाको व्यवस्थापन गर्ने हेतुले सिसुवा भतेरी क्षेत्रमा गौशाला बनेपछि बालीनालीको रेखदेखमा सहजमात्र भएको छैन कि त्यहाँ भएका विविध खेतीपाती र संरक्षणका क्रियाकलापले पनि राहत दिएको छl

कुनैबेला मादी नदीको किनार सिसुवा भतेरी क्षेत्र पहिले बालुवैबालुवा र त्यसै फालिएको बन्जर भूमि जस्तो थियोl तर, बिस्तारै अहिले यो क्षेत्रको स्वरुप फेरिएको छl नदी किनारमा तटबन्ध थालिएको छl बालुवा भएको ठाउँमा घाँस उमारेर हरियाली बनाइँदैछl गौशाला निर्माण, गिद्ध संरक्षण, माछापालन र खेतीपाती थालिएको छl जथाभावी छोडिने छाडा तथा वृद्ध चौपाया व्यवस्थापनको कामसँगै सिसुवा भतेरी क्षेत्रमा तटबन्ध निर्माण, माछापालानसहित आयआर्जनका काम अघि बढेको छl 

व्यास-१० का पूर्व वडाअध्यक्ष एंव गौ संरक्षण तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसीराम सापकोटाले सिसुवा भतेरीको स्वरुप नै परिवर्तन लामो समयसम्म यो क्षेत्रका प्रतिनिभिसभा सदस्य बनेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका कारण सहज भएको बताएl 'लामो समय यस क्षेत्रकै निर्वाचित सांसद हुनुभएका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको साथ, सहयोग र परिकल्पना अनुरुप यहाँ विकासका काम साकार हुँदै गएका  हुन्', सापकोटाले भनेl

छाडा चौपायाले सडक दुर्घटना, बालीनाली नष्ट र मानिसले समेत हेला गर्ने भएपछि यहाँ गौशाला स्थापनासहितको काम २०७५ सालमा अघि बढाइएको होl नदी किनारको करिब तीन सय रोपनीमा तारवार गरी गौशालासहित गिद्ध संरक्षण, घाँसको व्यवस्थापन, घाँस गोदाम, गाई राख्ने ट्रस्ट, कार्यालय भवनसहितका संरचना बनेको छl

भूँमिको पहुँच नभएका किसानलाई बगर खेती गरेर आयआर्जनमा लगाउने उद्देश्यले २०७५ सालमा कृषि सहकारी संस्था खोलेर यस क्षेत्रको विकास र व्यवस्थापनको काम थालिएको होl गौशालामा दुई साँढेसहित एक सय ३५ गाई छन्l केही गाई दुधालु छन्l

कांग्रेसका तत्कालीन वरिष्ठ नेता पौडेल यस क्षेत्रको भ्रमणमा आउँदा छाडा गाईवस्तुले बालीनाली नष्ट गर्ने, सडकमा जथाभावी हिड्दा सवारी दुर्घटना हुने तथा जोकोहीले रक्ताम्य हुने गरी पशुलाई पिट्दै लखेटन परेको गुनासो यस क्षेत्रका जनताले गरेपछि उनकै सहयोग र परिकल्पना अनुरुप गौ संरक्षण केन्द्र स्थापना गरिएको सापकोटाले सुनाएl  ‘उहाँकै परिकल्पना अनुरुप यस क्षेत्रमा मादी नदी तटबन्ध, सार्वजनिक जग्गा संरक्षण, झोलुङ्गेपुल निर्माणलगायतका विकासका काम हुँदै छन्’, सापकोटाले भनेl 

अघिल्लो वर्ष प्रदेश सरकारको एक करोड ७३ लाख बजेटबाट मादी नदीमा १० र ५ नम्बर वडा जोड्ने दुईसय ७२ मिटर लामो झोलुङ्गे पुल बनेको छl मादी नदी अति प्रभावित नगरपालिकाका ३, ५, ७ र १० नम्बर वडाका विभिन्न क्षेत्रमा तटबन्ध बनाउने योजना अन्तर्गत सिसुवा भतेरी क्षेत्रमा तटबन्धको काम भइरहेको छl गौशाला क्षेत्रमै थप काम विस्तार भइरहेको छl पौडेल र कृषि सचिव गोविन्द शर्माले यस क्षेत्रको स्थलगत अवलोकन गरेपछि पूर्वाधार तथा व्यवस्थापनका लागि थप बजेट परेको अध्यक्ष सापकोटाको भनाइ छl गौ संरक्षण तथा पूर्वाधार व्यवस्थापनका लागि यस वर्ष बजेट परेको छl

यहाँ दमौली बजारबाट ल्याएको सेफ्टी ट्याङ्कीको फोहोर हालेर घाँस लगाइएको छl फालिने फलफूल, तरकारी तथा अन्य फोहोरको व्यवस्थापन गरेर व्यास नगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको करिव १४ लाख खर्चसहित जनसहभागितामा ग्यास निकालिएको छl काम विस्तार हुँदै गएपछि यहाँको अवलोकन भ्रमणका लागि सर्वसाधारण समूहमा आउने गरेका छन्l

गाई मरेपछि छाला काढेर गिद्धलाई छोडिदिने गरेपछि यहाँ सात प्रजातिका गिद्ध आउन थालेको र गाईको छालाबाट मादल लगायतका सामाग्री बनाउने गरेको समितिका सचिव भरत केसीले बताउनुभयोl तर विद्युतको तार र पोलले गिद्धलाई असर गरेपछि यसको संरक्षण गर्न थप काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएl

सदरमुकाम दमौली बजारबाट झण्डै साँढे पाँच किलोमिटर उत्तरतर्फको यहाँ हड्डी पेल्ने मेसिन राख्ने, प्राङ्गारिक मल उत्पादन गर्ने तथा विस्तारै आवश्यकता बोध भएका अन्य योजना विस्तार गर्ने सोच रहेको पनि सचिव केसीको भनाइ छl सचिव केसीले भने, ‘हड्डी पेल्ने मेसिन र  प्राङ्गारिक मल उत्पादनका लागि पनि सम्माननीय राष्ट्रपतिज्यूबाट सहयोगको अपेक्षा गरेका छौl’ छाडा वस्तुको आहारका लागि नगरपालिकाले मासिक रुपमा खर्च व्यवस्थापन गर्दै आएको नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले बताएl हालसम्म गौशाला निर्माणको लागि एक करोड खर्च भएको समितिले जनाएको छl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell