PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

रुपन्देहीमा मोटरसाइकल चोरेर विभिन्न जिल्लामा बिक्री, गिरोह नै बुटवल प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

रुपन्देहीमा मोटरसाइकल चोरेर विभिन्न जिल्लामा बिक्री, गिरोह नै बुटवल प्रहरीको नियन्त्रणमा

बुटवल : रुपन्देही तथा आसपासका जिल्लाहरुबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार चोरीका १४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-३ ज्योतीनगरका १९ वर्षीय तरुन राना, पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम-१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ बस्ने २६ वर्षीय सरोज थापा, गुल्मी घर भई तिलोत्तमा-५ बस्ने २६ वर्षीय दिपक रेगामी मगर र तिलोत्तमा-६ का २४ वर्षीय दिपेश थापा रहेका छन्।

त्यस्तै तिलोत्तमा-६ का २५ वर्षीय हितेश राना, तिलोत्तमा-४ का १८ वर्षीय आकाश नेपाली, बागलुङको बरेङ गाउँपालिका-५ का १९ वर्षीय आशिष सामत, सोही ठाउँका २० वर्षीय दिपक सामत, २९ वर्षीय प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री पनि पक्राउ परेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा मोटरसाईकल चोरीका घटना धेरै भएको बताए। एक महिनाअघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको उनले बताए।

पक्राउ परेकाहरुले विभिन्न समूह बनाएर चोरी गर्ने गरेको थापाले बताए। मोटरसाईकलको रेकी गर्ने, लक तोडी चोरी गर्ने, चोरीको मोटरसाईकल लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गर्ने गरेको अनुसन्धानमा खुलेको छ। अझै पनि चोरीका धेरै मोटरसाईकल नभेटिएको भन्दै उनले खोजी अभियान जारी नै रहेको बताए।

प्रहरीका अनुसार उक्त गिरोहले चोरीका मोटरसाइकल गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ, काठमाडौंसम्म पुर्‍याएर बिक्री गर्ने गरेको थियो। पक्राउ परेका व्यक्तिहरु माथि चोरी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell