PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आक्रोशित प्रचण्ड क्षणमै भावुक : मेरो मनभित्र मैलो छैन, यही त प्रचण्ड भएँ गर्नुहुन्छ त के?



पहिलोपोस्ट

आक्रोशित प्रचण्ड क्षणमै भावुक : मेरो मनभित्र मैलो छैन, यही त प्रचण्ड भएँ गर्नुहुन्छ त के?

काठमाडौं : प्रितम सिंहबारे लेखिएको किताब विमोचनमा राखेको धारणाका कारण प्रतिपक्षीले राजीनामा मागेपछि विवादमा तानिएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। प्रितम सिंहले प्रधानमन्त्री बन्नुपर्छ भनी प्रस्ताव राखेको धारणा आउनसाथ प्रतिपक्षी नेकपा एमालेले सदन तताए। राजीनामा माग्दै तीन दिन त सदन अवरुद्ध नै भयो।

यही विषयमा प्रधानमन्त्री दाहाल सोमवार जवाफ दिन संसदको रोस्ट्रममा उभिए। शुरुमै सदनमा आक्रोशित सुनिएका प्रचण्ड जवाफ दिने क्रममा भावुक बन्दै गए।

'स्पष्टीकरणको मौका नदिई राजीनामा माग्न,' शुरुमै आक्रोशित सुनिए प्रचण्ड, 'संसदको मर्यादा यही हो?' प्रतिपक्षीले राजीनामा माग्ने बित्तिकै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै दाहालले अर्को प्रश्नसमेत गरे। 'के प्रतिपक्षीले राजीनामा माग्ने वित्तिकै प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने हो?' दाहालले प्रश्न गरे।

त्यसपछि भने प्रचण्डले आफू 'काउन्टर'का लागि उपस्थित नभइ स्पष्टीकरणका लागि उपस्थित भएको उल्लेख गर्दै भावुक बन्न थाले। आफ्नो जेठी छोरीलाई क्यान्सर हुँदा उपचारका क्रममा भारत जाँद सरदार प्रितम सिंहले भावनात्मक रुपमा तपाई प्रधानमन्त्री हुनुपर्छ भनी सद्भाव राखेको प्रचण्डको भनाइ थियो।

'छोरी ज्ञानुको उपचारको क्रममा नेपालबाट नेपालबाट दिल्लीको अस्पतालमा जानुपर्ने भयो। २०६८/७९ सालको कुरा। मेरो छोरा प्रकाश – उसको पनि अवसान भइसकेको छ,' प्रचण्डले भने, 'सरदार प्रितम सिंहसँग काठमाडौंमै एक किसिमको सम्बन्ध बनिसकेको थियो। छोरीको उपचारका क्रममा दिल्लीमा मेरै आफ्नै फ्ल्याट छ भने। प्रितम सिंहको साथी अंगदसँग दोस्ती भएकोले प्रकाशले ज्ञानुलाई प्रितमको फ्ल्याटमा लगेको हो।'

सोही बेला भावनात्मक कुरा भएको प्रचण्डले बताए। 'त्यतिबेला छोरीको अन्तिमअन्तिम अवस्था। भावनात्मक थियो। त्यही बेला सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई हुनुपर्छ,' उनले भने, 'उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिएन। मैले उहाँलाई प्रधानमन्त्री बनाइदिनु भन्ने कुरा पनि भएन। दिल्लीमा पनि कुरा गरेको छु। नेपालमा पनि कुरा गरेको छु। भन्नुभयो। उहाँले भावनात्मक रुपमा भन्नुभयो। प्रितम सिंह कुनै शक्ति केन्द्र हैन। कुनै मान्छेलाई उनले भनेर प्रधानमन्त्री हुने पनि हैन, हट्ने पनि हैन।'

किताब विमोचनको क्रममा आफूले प्रितम सिंहको बयान गर्ने क्रममा उक्त भनाइ सम्झेको प्रचण्डको दाबी रह्यो। 'यो मेरो कुरा पनि थिएनँ। मेरो अनुरोध पनि थिएन। पारिवारिक वातावरणमा सरदार प्रितम सिंहले राखेको कुरा। ११ वर्षपछिको कुरा भयो यो। किताब विमोचनमा बोलेको कुरा,' दाहालले भने, 'मैले उनको म सामाजिक कामको चर्चा गर्दै थिएँ त्यही बेला झ्याट्ट ६८/६९ सालको कुरा सम्झे। बोल्दै गर्दा छोरीको बेड पनि सम्झिएँ। त्यही त प्रचण्ड भए गर्नुहुन्छ त के? थोरै भावनामा आए। त्यो कुरा मैले नभने पनि हुन्थ्यो। भन्नपर्ने जरुरी पनि थिएन। मनमा आयो भने।'

आफूले यति बोल्दा राष्ट्रपति घात भएको ठान्नु गलत भएको प्रचण्डको तर्क रह्यो। 'राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो? म प्रधानमन्त्रीका रुपमा बोलिनँ त्यो दिन। ज्ञानुका बुवाका रुपमा बोलें,' उनले भने, 'त्यो सेन्टिमेन्ट सम्झन पुगें। एउटै भावनात्मक अभिव्यक्तिले म सिद्धिए त? नाकाबन्दीका बेला लिएको अडान सबै प्रतिपक्षीलाई थाह छ। यति बोल्दा सबै सिद्धिए त?

प्रचण्डले आफू कहिलेकही आवेगमा आउने र यस्तो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा पुगेकोसमेत बताए। 'म दिमाग र मन दुबैले बोल्छु। दिमाग अघि लाग्दा विज्ञानमा आधारित भएर बोल्छु। मन अघि हुँदा आवेग आउँछ,' प्रचण्डले भने, 'यही हो म यही प्रचण्ड। मेरो भावुकताले काम दिँदैन भन्ने निष्कर्षमा म पुगेको छु। मनभित्र मैलो छैन। यो सदनसमक्ष म आत्मआलोचना गर्दछु। प्रतिपक्षलाई धन्यवाद भन्न चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell