PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस नेता विमलेन्द्र निधिलाई ‘अटल मिथिला सम्मान’



पहिलोपोस्ट

कांग्रेस नेता विमलेन्द्र निधिलाई ‘अटल मिथिला सम्मान’

नयाँदिल्ली : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका छन्। अटल भारत फाउन्डेसनले आइतवार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित भएका हुन्।

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिकलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ। सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा समावेश गराएका थिए। उनको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा योगदान पुर्‍याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य निधि सम्मानित भएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे। राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उनको भनाइ छ। ‘विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,’ निधिले भने,‘तर, सहयोगको सुरूवात नेपालको तर्फबाट भएको हो। भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायतका नेताहरूले सहयोग गर्नुभएको थियो,जेलनेल जानु भएको थियो।’

उनले नेपाल–भारतबीच वर्षौदेखिको सम्बन्ध आगामी दिनमा पनि कायम रहिरहने उल्लेख गरे। ‘नेपाल र भारतबीचको सम्बन्ध वर्षौं पुरानो हो। दुवै देशबीच सांस्कृति, राजनीतिकलगायतको सम्बन्ध रहेको छ। आगामी दिनमा पनि कायम रहनेछ,’ उनले भने। दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

‘आपसी सहयोग दुवै देशको विकास र समृद्धिका लागि आवश्यक छ,’ निधिले भने, ‘भारतमा राजनीतिक स्थायित्व भए नेपालमा स्थायित्व हुन्छ, यहाँको लोकतन्त्र मजबुत भए नेपालको लोकतन्त्र पनि बलियो हुन्छ, भारतले आर्थिक समृद्धि हासिल गर्दा नेपालमा पनि आर्थिक समृद्धि आउनेछ। त्यसैले दुवै देशबीच पारस्परिक सहयोग जरुरी छ।’

कार्यक्रममा राज्यसभाका उपसभापति हरिवंश, भारत सरकारका मन्त्री अनुराग ठाकुर, राज्यसभाका पूर्वसदस्य एवं भारतीय जनता पार्टीका नेता प्रभात झा, पूर्वपमन्त्री सिपी ठाकुर, बलिउडका गायक कुमार सानु, गायितका अनुराधा पौडवाल, अभिनेता शेखर सुमनलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell