PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

सुजन खड्का सानै उमेरदेखि चित्र कोर्थे। दोलखाको चरिकोटको चिसोले उनको कला प्रेमलाई चिस्याउन सकेन। उमेर बढ्दै गयो, कलाको आकार पनि बढ्दै गयो। ३८ वर्षीय खड्का कलामा अझै निखारिँदै गएका छन्।

कोभिडले उनको कलाकारितालाई रोक्ने प्रयास गर्‍यो। त्यो महामारीले उनको कलाको बाटो परिवर्तन भयो। घर वरिपरि भेटिएका/फालिएका रुखका जराहरू जम्मा गर्न थाले। तीभित्र उनले कला देखे।

सोही कला अरूलाई पनि देखाउन सकिन्छ जस्तो लाग्यो उनलाई। पहिलो पटक एउटा जरालाई मिलाउन थाले। सर्पको टाउको बनाए। रङ्ग हाले। बुबालाई देखाए।

बुबाले मन पराएपछि अब संसारले मन पराउँछ भन्ने कुरामा विश्वस्त भए उनी। उनले सो कलाको नामकरण गरे ‘जरबुटा कला’।

पहिला-पहिला डोजरले बाटो खनेको ठाउँमा गएर जरा लिएर आउँथे। आज-भोलि उनी किन्ने गर्छन्। जरा ल्याएर बोक्रा फाली सकेपछि सफा गर्छन्। अनि के बनाउने भनेर अवधारणा तयार गर्छन्।

थान्का कोर्ने रङ्ग प्रयोग गर्छन्। अहिले उनीसँग मन परेका नेता, वन्यजन्तु, संस्कृति, स्थानीय व्यक्ति, भगवानहरुलाई प्रतिनिधित्व गर्ने थुप्रै कलाहरू छन्।

विगत २ वर्षदेखि बनाइएका कलाहरू चरिकोटस्थित सिम पानी-६ को उनको घरमा थुप्रिएको छ। हेर्न आउनेहरूले कलाको मूल्य हुन्छ नि भने पछि उनी पनि तातिए। कलाको मूल्यको बारेमा अझै छलफल गर्दै छन्।

उनले कोभिडपछि बनाएका काठ तथा जराका कलाहरू काठमाडौंको दरबारमार्गमा राख्ने सल्लाह भई सकेको छ। मैतीदेवीमा रहको बाटिका कम्पनीले यसको लागि पहल सुरु गरेको छ।

उनले कलाको बिक्रीबाट उठेको रकममध्ये १० प्रतिशत कान्ति बाल अस्पतालमा सहयोग गर्ने योजना समेत बनाई सकेका छन्। उनको कलाकारिताले थप उचाइ प्राप्त गर्दै जाओस्।

अहिलेलाई भने उनले बनाएका कलाहरू हेरौँ :



ट्रेन्डिङ पोस्ट

Ncell