PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

काठमाडौं नजिकै हुस्सुले ढाकेको तीनपानी पुग्दा…

काठमाडौं नजिकै हुस्सुले ढाकेको तीनपानी पुग्दा…

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : पानी पर्दा शीतल हुने। घाम लाग्दा हप्पै। केही दिन भयो काठमाडौंको मौसम यस्तै भएको। त्यसैले शनिवार (असार २३) काठमाडौं उपत्यका कटेर जाने निधो भयो।

‘डेस्टिनेसन’ कता? खोज्दै जाँदा ललितपुरको तीनपानी भञ्जयाङ जाने तय भयो। नक्सालबाट तीनपानी करिब २७ किलोमिटर टाढा छ। शनिवार दुईवटा बाइकमा चारजना त्यही ठाउँ तिर लाग्यौं।

भैंसेपाटीको बाटो हिलो भएकोले हामी चापागाउँ, टिकाभैरव हुँदै गयौं। कान्ति लोकपथ हुँदै हाम्रो यात्रा अघि बढ्यो। पिच बाटो भएकोले धेरै गाह्रो भएन। टिकाभैरवबाट माथि उक्लिँदै गर्दा शहरको कोलाहलबाट हामी सम्बन्ध विच्छेद भइरहेको थियो। मोटरसाइकल हुइकाउँदै डाँडा चढ्दै गर्दा ललितपुरको मनरोम दृश्यले भने मनै लोभ्याउने। गाउँले परिवेशले शहर नै भुलाउने।

तीनपानी क्षेत्र धेरैजसो हुस्सुले नै ढाकिरहन्छ। शनिवार पनि हामी यात्रा गर्दै गर्दा डाँडाहरु हुस्सु र कुहिरोसँग खेल्दै थिए। त्यही क्षेत्रमा झरना रहेको थाहा पाए पछि हामी त्यतै मोडियौं। सडककै किनारमा रहेको झरनामा एकैछिन बस्यौं र हेटौंडा जाने बाटो हुँदै झांक्री डाँडा पुग्यौं। त्यसपछि चाहिँ डाँडाहरुबाट हुस्सु र कुहिरो हराए। त्यसपछि खुलेको शहरको दृश्य निकै मनमोहक थियो। काठमाडौं फर्किँदै गर्दा भने बिच बिचमा पहिरोले बाटो केही असहज थियो।

विदाको दिन काठमाडौं नजिकै प्रकृति र गाउँले परिवेशसँग रम्न जान चाहनुहुन्छ भने तीनपानी भञ्ज्याङ पनि राम्रो गन्तव्य हो। 



ट्रेन्डिङ पोस्ट

Ncell