PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इमर्जिङ टिम्स एसिया कपमा ७ देशले 'ए' टोली पठायो, नेपालबाटमात्रै सिनियर टोली किन गयो श्रीलंका?



मुकुन्द घिमिरे

इमर्जिङ टिम्स एसिया कपमा ७ देशले 'ए' टोली पठायो, नेपालबाटमात्रै सिनियर टोली किन गयो श्रीलंका?

काठमाडौं : बैशाख २९ गते नेपाली क्रिकेट टोली काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भयो। प्रतियोगिताको फाइनलमा पुगेसँगै सुनिश्चित भएको थियो एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने। प्रिमियर कपको च्याम्पियन सहित दोस्रो र तेस्रो हुने टोली एसियाली टेस्ट राष्ट्रका 'ए' टोलीसँग इमर्जिङ टिम्स एसिया कप खेल्ने एसियाली क्रिकेट परिषद (एसीसी)को क्यालेन्डरमा थियो। प्रिमियर कपमा दोस्रो यूएई बन्दा तेस्रो ओमन बनेको थियो।

शुक्रवार एसीसीले इमर्जिङ टिम्स एसिया कपको तालिका निकाल्यो। यो तालिकामा नेपालबाहेकका सबै टोलीका 'ए' टोलीले सहभागिता जनाउँदैछन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सँगसँगै प्रिमियर कपमा दोस्रो र तेस्रो बनेका यूएई र ओमनले समेत 'ए' टोली सहभागी गराउने उल्लेख छ।

उसो त नेपालले 'ए' टोली भनेर नपठाए पनि विश्वकप छनोट खेलेर फर्किएको टोलीमा ब्यापक परिवर्तन गर्दै टोली श्रीलंका पठाइएको छ। जिम्बावेमा विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीलगायतका नियमित टोलीमा पर्दै आएका खेलाडी टोलीमा छैनन्।

नेपालको छैन 'ए' टोली!

नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंह 'ए' टिमबारे यूएई र ओमनसँग नेपालको सन्दर्भ फरक भएको तर्क गर्छन्। नेपालले एसिया कपको समेत तयारी गर्नुपर्ने भएकाले आफ्ना सबल र दुर्बल पक्षहरु बलिया टोलीसँग जाँच्ने अवसर इमर्जिङ एसिया कपमा मिल्ने बताउँछन्।

'यूएई र ओमनले 'ए' टिम पठाएको सन्दर्भ हाम्रो फरक हो। हामीले एसिया कपको तयारी त गर्नु पर्‍यो नि होइन र? हाम्रो पनि त दुई तीन जना खेलाडी परिवर्तन गरेका छौँ नि,' उनले भने, 'यो प्रतियोगिता भनेको अब आउने अर्को प्रतियोगिताका लागि तयारी पनि त हो। हामीले पाकिस्तान, भारतसँग खेल्नुपर्ने छ। उनीहरु यू २३ टोली भनेको पनि धेरै राम्रो हुन्छ। उनीहरुले पनि त्यही हिसाबले तयारी गरेको हुन्छ।'

उनले चुनौती धेरै भएकाले नै बलियो टोली बनाएर पठाएको र आफूहरुको चाहना टिमले जितेर आउनु भन्ने रहेको बताए।

'हामी जुन स्तरमा खेलेर आएका छौँ, हाम्रो मनोबल उच्च छ। एसिया कपमा पाकिस्तान र भारतसँग खेल्नु छ भने त्यो अघि हामी कहाँ छौं र कति सुधार गर्नुछ भन्ने थाह पनि पाउनुपर्छ,' सिंहले भने।

इमर्जिङ एसिया कपमा के छ नेपालको अपेक्षा?

नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइ इमर्जिङ एसिया कपलाई एसिया कपको तयारीका रुपमा लिन्छन्। अहिलेको टोलीको व्यस्त तालिकालाई सकारात्मक रुपमा लिएको उनले बताए।

'मलाई लाग्छ तालिका व्यस्त हुनु राम्रो पनि हो। यसको मतलब हामीले केही राम्रो पनि गरिरहेका छौँ भन्ने हो,' उनले भने, 'श्रीलंकामा हाम्रो योजना भनेकै एसिया कपका लागि तयार बन्नु हो।'

उनले विश्वकप छनोटका क्रममा बलिया टोलीहरुसँग जितको नजिक पुगेको स्मरण गर्दै एसिया कपका लागि बलियो हुने लक्ष्य लिएको बताए।

'विश्वकप छनोटमा पनि हामी केही खेलहरुमा जितको नजिक पुगेर पनि सफल हुन सकेनौं,' उनले भने, 'विपक्षी टोलीको 'ए' साइड आएको भए पनि उनीहरु धेरै बलिया छन्। जितको मानसिकता लिएर जाँदैछौँ।'

नेपालको 'ए' टोलीबारे छलफल चलिरहेको भन्दै उनले क्यानसँग दीर्घकालीन योजनाकाबारेमा छलफल भइरहेको पनि बताए।  

'अहिलेको टोलीमा के गर्ने भनेर रोहितसँग पनि छलफल भएको थियो। यसमा केही अन्य योग्य र डिजर्भिङ खेलाडीलाई अवसर दिने भन्नेमा सोच्यौँ,' उनले भने, 'यसबारेमा सिनियर खेलाडीहरुसँग पनि हेल्थी कन्भर्सेसन भयो। जसअन्तर्गत अन्य खेलाडीलाई अवसर दिने निर्णयमा पुग्यौँ।'

नयाँ खेलाडीलाई समेटेर इमर्जिङ एसिया कपमा जाँदा टोलीको मनोबल बलियो भएर जाने कप्तान रोहितकुमार पौडेलको भनाइ छ।

'यसले गर्दा बेन्च स्ट्रेन्थ बलियो भएर जान्छ। १२/१४ जना थियौँ भने अब यो संख्या बढेर जान्छ। यसले टिमलाई फाइदा गर्छ। प्रतिस्पर्धा बढेर जान्छ,' उनले भने।

टोलीमा नियमित बलर सन्दीप लामिछाने, करण केसी तथा अनुभवी दीपेन्द्रसिंह ऐरीको अभाव भने महसुस गरेका छन् पौडेलले।

'हाम्रो सँधै खेलिरहेको मुख्य बलर छैनन्। भारत र पाकिस्तानको एकदमै बलियो टोली छ। यसले गर्दा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब अझ टोलीलाई हुनेछ,' उनले भने।

इमर्जिङ एसिया कप एसिया कपको तयारीबारेमा देशाइ र पौडेलको भनाइ एउटै छ।

'यो एसिया कपका लागि ब्युल्डअप हो। हामीले राम्रो राम्रो टोलीसँग खेल्ने अवसर पाइरहेका छौँ। तयारीका हिसाबले कुरा गर्दा एसिया कपका लागि एकदम राम्रो तयारी हुन्छ,' पौडेलले भने।

नेपालको खेल

नेपाल इमर्जिङ टिम्स एसिया कपको समूह 'बी' मा छ। यो समूहमा नेपालसँगै पाकिस्तान, भारत र यूएईको 'ए' टोली छन्।

नेपालले पाकिस्तान 'ए'सँग १४ जुलाई, भारत 'ए' सँग १७ जुलाई र यूएई 'ए' सँग १९ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।

नेपाली टोली

कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुलसन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा, सूर्य तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell