PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वाग्मती प्रदेशमा ४६ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ : सिँचाइको सुविधा नहुँदा आकाशे पानीकै भर



निशा गुरुङ

वाग्मती प्रदेशमा ४६ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ : सिँचाइको सुविधा नहुँदा आकाशे पानीकै भर

हेटौंडा : केही दिनदेखि लगातार वर्षा भएसँगै वाग्मती प्रदेशमा धमाधम धान रोपाइँ भइरहेको छ। हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको वाग्मती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौंडाले जनाएको छ।

भौगोलिक विकटता र सिँचाइको अभाव रहेको वाग्मती प्रदेशमा धानखेतीका लागि आकाशे पानीको भर पर्नुपर्दा समस्या रहेको किसान बताउँछन्। साथै, किसानलाई मलको पनि समस्या छ।

वाग्मती प्रदेशका १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। तर अहिलेसम्म प्रदेशमा करिब ५२ हजार ५ सय २९ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ।

पर्याप्त वर्षा नभएपछि प्रदेशभर धान रोपाइँ प्रभावित बनेको छ। कृषि विकास निर्देशनालय हेटौंडाको असार २२ गतेसम्मको तथ्यांक अनुसार धादिङमा सबैभन्दा कम र भक्तपुरमा धेरै धान रोपाइँ भएको छ। निर्देशनालयका अनुसार धादिङमा २३ र भक्तपुरमा ८५ प्रतिशत रोपाइँ भएको छ।

धान रोपाइँको जिल्लागत तथ्यांक हेर्ने हो भने दोस्रोमा काठ्माडौं परेको छ। काठमाडौंमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

यस्तै, चितवनमा ५०, मकवानपुरमा ३०, नुवाकोटमा ३८, रसुवामा ४६, ललितपुरमा ६९, काभ्रेपलाञ्चोकमा ६९, सिन्धुपाल्चोकमा ५२, रामेछापमा ३०, दोलखामा ५० र सिन्धुलीमा ३३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण पाण्डेले जानकारी दिए। अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ५० प्रतिशतभन्दा माथि रोपाइँ भएको थियो।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ। मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ।

सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ। आकाशकै पानीको भर पर्नुपर्ने केही ठाउँमा अझै रोपाइँ हुन सकेका छैन।

वाग्मतीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ थालिएको थियो। वाग्मतीको ६० प्रतिशत जमिनमा आकाशे पानीको भरमा रोपाइँ हुन्छ।

प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठूलो लगानी गरेपनि किसानहरू अझै आकाशे पानीकै भरमा पर्नुपर्ने बाध्यता छ। यसवर्ष सिँचाइका कारण रोपाइँमा ढिलाइ भएको भएपनि रासायनिक मल भने विगतका वर्षहरूमा जस्तो अभाव नरहेको सचिव पाण्डेको दाबी छ।

कुन जिल्लामा कति रोपाइँ?

कुल २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने चितवनमा हालसम्म १२ हजार १ सय २४ हेक्टर रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ। यस्तै, मकवानपुरमा ९ हजार ४ सय ५० हेक्टरमध्ये दुई हजार ८ सय ३५ हेक्टरमा रोपाइँ भएको छ।

नुवाकोटमा कुल ११ हजार ६ सय १२ हेक्टरमध्ये ४ हजार ४ सय १३, रसुवामा १ हजार ९३ हेक्टरमध्ये ५ सय ३, ललितपुरमा ४ हजार २ सय ११ मध्ये २ हजार ९ सय ६, भक्तपुरमा ३ हजार ९ सय ७९ मध्ये ३ हजार ३ सय ८२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ।

काठमाडौंमा कुल ६ हजार १५ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ४ हजार ५ सय ११ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ। यस्तै, काभ्रेपलाञ्चोकमा १० हजार १ सय ८ हेक्टरमध्ये ६ हजार ९ सय ७५, सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ४ हजार ५ सय ६७, रामेछापमा ७ हजार ८ सय ५९ हेक्टर जमिनमध्ये हाल २ हजार ३ सय ५८, दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमध्ये हालसम्म १४ सय ७, सिन्धुलीमा ११ हजार ७ सय ७७ हेक्टर जमिनमध्ये ३ हजार ८ सय ८६ र  धादिङमा ११ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म २ हजार ६ सय ६२ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौंडाले जनाएको छ।

*हालसम्म ४६ प्रतिशत रोपाइँ सकिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell