PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

नर्भिकमा लाग्यो भिड, सीता दाहालको मृत्युपछि अस्पताल पुगे मन्त्रीहरु र सुरक्षा निकायका प्रमुख



हेम रोकाहा

नर्भिकमा लाग्यो भिड, सीता दाहालको मृत्युपछि अस्पताल पुगे मन्त्रीहरु र सुरक्षा निकायका प्रमुख

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्‍नी सीता दाहालको मृत्युपछि नर्भिक अस्पतालमा उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति देखिएको छ। सरकारका मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, सचिवहरु, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुहरु अस्पतालमा पुगेका छन्।

अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लिएको छ।

लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो।

प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार आज बिहान उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो। 

उनको मृत्युसँगै भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल नर्भिक पुगेकी छिन्।

सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार उनलाई आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको थियो। उपचारका क्रममा ८:३३ मा उनको निधन भएको अस्पतालले जनाएको छ।

माओवादी ‘जनयुद्ध’मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएकी सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो।

प्रचण्डले यसअघि २०७४ सालमा छोरा प्रकाश गुमाएका थिए। प्रकाशको निधन कार्डिक अरेस्टबाट भएको थियो। त्यसअघि उनकी छोरी ज्ञानु दाहालको २०७० सालमा मृत्यु भएको थियो। उनी क्यान्सर पीडित थिइन्।

प्रचण्ड र सीताका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरपालिकाका मेयर हुन् भने गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell