PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सीता दाहालको मृत्युपछि शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि नर्भिक पुगे



पहिलोपोस्ट

सीता दाहालको मृत्युपछि शेरबहादुर देउवा र माधवकुमार नेपाल पनि नर्भिक पुगे

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको मृत्यु भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि अस्पताल पुगेका छन्।

त्यसअघि सुरक्षा निकायका प्रमुख तथा सरकारका सचिवहरु अस्पताल पुगेका थिए। नर्भिक अस्पतालमा मानिसहरुको भिडको सम्भावनालाई ख्याल गर्दै ट्राफिक प्रहरीले बबरमहल तथा थापाथली चोकबाट नियन्त्रित मात्रामा मात्र सवारी साधन प्रवेश गराएको छ।

नर्भिक अस्पतालमा उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति छ। सरकारका मन्त्रीहरु, सचिवहरु, प्रधान सेनापति सहित सुरक्षा निकायका प्रमुहरु अस्पतालमा पुगेका छन्।

अस्पताल क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि बाक्लिएको छ। 

लामो समयदेखि अस्वस्थ रहँदै आएकी दाहालको आज बिहान ८:३३ बजे मृत्यु भएको हो। प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार आज बिहान उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको हो। 

सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो।

माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो। 

पुष्पकमल दाहाल प्रचण्डले यसअघि २०७४ सालमा छोरा प्रकाश गुमाएका थिए। प्रकाशको निधन पनि कार्डिक अरेस्टबाटै भएको थियो। त्यसअघि उनकी छोरी ज्ञानु दाहालको २०७० सालमा मृत्यु भएको थियो। उनी क्यान्सर पीडित थिइन्। 

प्रचण्ड र सीताका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरपालिकाका मेयर हुन् भने गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell