PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सीता दाहाललाई छोरीहरूसँगै प्रचण्डको दागबत्ती



पहिलोपोस्ट

सीता दाहाललाई छोरीहरूसँगै प्रचण्डको दागबत्ती

काठमाडौं : नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डसँगै छोरी गंगा र रेणुले दागबत्ती दिएका थिए।

राजकीय सम्मानसहित सीताको अन्त्येष्टि गरिएको हो। सरकारको तर्फबाट उप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँगै प्रधानमन्त्री प्रचण्डले सीताको शरीरमा राष्ट्रिय झण्डा ओडाएका थिए।

त्यसपछि सेनाको टुकडीले सीतालाई सलामी दिएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले सीतालाई राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

सीतालाई श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेतासहित सरकारी अधिकारी, प्रहरी र सेना प्रमुख र अधिकृतसँगै शुभेच्छुकहरु पुगेका थिए।

माओवादी 'जनयुद्ध'मा प्रचण्डसँगै राजनीति मोर्चामा खटिएका सीता लामो समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। प्रचण्डको राजनीतिक जीवनमा उल्लेख्य योगदान पुर्‍याएकी सीताको नेपाल र विदेशका विभिन्न अस्पतालमा उपचार प्रयास भएको थियो।

सीतामा सुपरन्युक्लियर पल्सी, पार्किन्सन तथा डायवेटिज थियो। नर्भिक अस्पतालले जारी गरेको नोटअनुसार आज बिहान ८ बजे कार्डिक अरेस्ट भएको हो। उपचारका क्रममा ८:३३ मा निधन भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell