PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

सीताबिनाको प्रचण्डका आगामी दिन कस्ता?



नेत्र तामाङ

सीताबिनाको प्रचण्डका आगामी दिन कस्ता?

काठमाडौं : दुई दिनअघि मात्र संसदको रोस्ट्रममा उभिएर पुष्पकमल दाहाल प्रचण्डले आफ्ना दिवंगत छोरा र छोरी सम्झे।

'सबैलाई थाहा भएकै कुरा हो २०६८/६९ सालतिर मेरी जेठी छोरी ज्ञानु क्यान्सर रोगबाट पीडित भएर जीवन मरणको संघर्षमा थिइन्। उनको उपचारमा दिल्ली जाने अवस्था आइलागेको थियो,' संसदमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, 'उनको अन्तिम अवस्था पनि थियो। मेरो छोरा पनि। उसको अहिले अवसान भइसकेको छ।'

सरदार प्रितम सिंहबारेको किताब विमोचनमा बोलेको बोलीले अफ्ट्यारोमा परेपछि प्रष्टीकरण दिने क्रममा दिवंगत छोराछोरीको नाम जोड्दा धेरैले प्रचण्डमाथि 'इमोसनल ब्ल्याकमेल' गरेको टिप्पणी गर्न भ्याए। हुन पनि प्रचण्ड त्यस दिन भावुक बनेका थिए, केही आक्रोशित पनि। प्रतिपक्षीले प्रधानमन्त्री पदबाटै राजीनामा मागेपछि प्रचण्डले छोरी ज्ञानु र प्रकाश सम्झेका थिए। जेठी छोरी ज्ञानुको २०७० चैतमा क्यान्सरका कारण निधन भएको थियो। स्तन क्यान्सरबाट पीडित ४० वर्षीया ज्ञानुको चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएको थियो। मुम्बई, दिल्ली र अमेरिकामा लामो समय उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई काठमाडौं ल्याइएको थियो। ओम अस्पताल भर्ना भएपछि दाहाल दैनिकजसो नै छोरीको हेरचाहका लागि अस्पताल पुगिरहन्थे।

संसदमा बोलिरहँदा भावनात्मक सुनिएका प्रचण्डसामु ज्ञानुको अनुहार झलझली हुनु अनौठो थिएन। प्रचण्डको अभिव्यक्तिपछि राजीनामाको 'इस्यू' एमालेले छाड्यो। त्यसको ठिक दुई दिनपछि प्रचण्डले पत्नी सीतालाई गुमाएका छन्। गत जेठ २९ गते नर्भिक भर्ना भएकी थिइन् सीता। छोरा प्रकाशलाई यही अस्पतालमा २०७४ मंसिर ३ गते बिहान मृत घोषणा गरिएको थियो। लाजिम्पाटस्थित निवासमा हृदयघातबाट अचेत अवस्थामा बिहान ५ बजे अस्पताल पुग्दा चिकित्सकले प्रकाशको निधन भएको घोषणा गरेका थिए। 

३६ वर्षका प्रकाशको मृत्यु घोषणा हुँदा प्रचण्ड झापामा थिए। १० वर्षको अन्तरालमा प्रचण्डले आफ्नो परिवारका ३ सदस्यलाई गुमाएका छन्। पछिल्लो चाहिँ सीता। २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीतासँग २०२६ साल वैशाखमा प्रचण्डको विवाह भएको थियो चितवनमा।

सीताको मृत्युलाई कतिपयले सुखद् अवसानसमेत भनेका छन्। कारण सीताका पछिल्ला दर्दनाक तस्विरहरु। केही अघिमात्रै वैशाख २८ गते प्रचण्डले सीतासँग वैवाहिक वर्षगाँठ मनाएको तस्विर सार्वजनिक भयो। निक्कै कमजोर देखिएकी सीतालाई छोरी गंगाले सम्हालेकी थिइन्। सीतालाई प्रचण्डले चुम्बन गरेको दृश्य निकै भावुकखाले थियो।

वैशाख २८ गते प्रचण्ड - सीताको वैवाहिक वर्षगाँठ मनाउँदाको क्लिक।


'फस्ट लेडी' भए पनि तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री भएका बेला सीताले त्यो पदको सायद अनुभूति समेत गर्न पाइनन्।

पाँच वर्षअघि अमेरिकामा उपचारका लागि जाँदै गर्दा विमानस्थलको सोफमा सुतेकी सीता र सुस्ताएका प्रचण्डको तस्विर पीडादायी थियो।

पाँच वर्षअघि उपचारका लागि अमेरिका जाने क्रममा त्रिभुवन विमानस्थलमा प्रचण्ड र सीता।


दुई वर्षअघि दुई छोरीसहित सार्वजनिक भएको 'विफी' कम विचलित पार्ने खालको थिएन। सीतालाई जीवनभर निको नहुने दुर्लभ रोग लागेको थियो। पार्किन्सनसँग मिल्न प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पिएसपी)ले गाँजेकी सीतालाई सिंगापुरदेखि हरिद्वार लगियो। तातोपानीमा डुबुल्कीदेखि अमेरिकाको जोन हप्किन्स् अस्पतालमा उपचार गर्न लगियो। राजनीतिमा गठबन्धनको चक्करले एकातिर रिङ्गिरहेका थिए प्रचण्ड अर्कातिर पत्नी सीताको स्याहारमा उत्तिकै खटिन्थे।दुई वर्षअघि दुई छोरीसहित सार्वजनिक भएको 'विफी।


छोरा प्रकाशको निधनपछि विस्तारै कमजोर बन्दै गएकी हुन् सीता। प्रकाशको निधनअघि १० महिनाका लागि प्रचण्ड प्रधानमन्त्री बनेका थिए। छोराको निधनपछि विक्षिप्त बनेकी सीतालाई जेनतेन बचाउँदै आएकी सीतालाई बिहीबार दागबत्ती दिएर प्रचण्डले अन्तिम बिदाइ गरेका छन्।

राजनीतिमा मथापच्ची चलिरहेकै छ। कुन बेला कस्तो गठबन्धन बन्ने ठेगान छैन। प्रचण्ड आफैँ बेलाबेला आफ्नो सरकार ढल्नसक्ने संकेत गर्छन्। सोमबार मात्रै प्रचण्डले आफूले १२-१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरूबारे पहिले पढेको भन्दै उनले नेपालमा पनि छ महिना, नौ महिना, १० महिना प्रधानमन्त्री भएको श्रृङ्खलावद्ध अनुभव रहेको र लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने सोचेको बताएका थिए। तेस्रो पटक नेतृत्व सम्हालेयता प्रचण्डले नक्कली भुटानी शरणार्थी र ललिता निवासको किर्ते प्रकरणको फाइल खोलेर कारबाही अघि बढाएका छन्।

युद्ध छाडेर संसदीय राजनीतिमा छिरेको केही वर्षमै २०६५ मा प्रधानमन्त्री बने प्रचण्ड। त्यस कार्यकालमा सीतालाई प्रचण्डको राजनीतिक योजनाकारका रुपमा चित्रित गरिन्थ्यो। परिवारमा राजनीतिक आड भरोसादेखि राजनीतिको मियो घुमाउने सीताको निधनले पक्कै प्रचण्डलाई केही समय असहज बनाउने छ। यद्यपि, शोकलाई शक्तिमा बदल्ने प्रचण्डको शैलीलाई भने कम आँक्न सकिन्न। छोरा प्रकाशको निधनपछि पनि निरन्तर राजनीतिक सक्रियताले यसको पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell