
काठमाडौं : इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली क्रिकेट टोली हाल श्रीलंकामा छ। प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले पाकिस्तान ‘ए’सँग १४ जुलाई, भारत ‘ए’सँग १७ जुलाई र यूएई ‘ए’सँग १९ जुलाईमा प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। समूह ‘ए’मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमन ‘ए’ रहेका छन्।
सिधा हिसाबले हेर्दा नेपालले आफ्नो समूहमा दुई खेल जितेको खण्डमा सेमिफाइनल खेल्ने सम्भावना बलियो बन्छ। अर्थात भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई ‘ए’ मध्ये दुईवटामा जित।
त्यसो भए कस्ता छन् नेपालका प्रतिस्पर्धी?
जिम्बावेमा क्रिकेट विश्वकप छनोट खेलेर फर्किएको टोलीको तुलनामा इमर्जिङ एसिया कप खेल्न श्रीलंका पुगेको टोलीमा व्यापक परिवर्तन छ। भलै, अरु दुई एसोसिएट टोली यूएई र ओमनले जस्तो नेपालले ‘ए’ टोली भनेर डिक्लेयर गरेको छैन। ८ टोली सहभागी प्रतियोगितामा नेपालबाहेक सबै देशबाट ‘ए’ टोलीको सहभागिता रहेको छ।
जिम्बावेमा विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीलगायतका नियमित टोलीमा पर्दै आएका खेलाडी टोलीमा छैनन्। टिममा स्थान कुरिरहेका पवन सर्राफ, देव खनाल, श्याम ढकाल, सन्दीप जोरा, सूर्य तामाङलगायतका खेलाडीले टोलीमा स्थान बनाएका छन्।
राष्ट्रिय टोलीबाटै पनि राम्रो प्रदर्शन गरेका तथा घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका यू १९ कप्तान देव खनाल, जिम्बावेमा नेपालका लागि सर्वाधिक रन बनाएका कुशल मल्ल, नेपाली टी २० मा राम्रो प्रदर्शन गरेका सन्दीप जोरा र पुनरागमनको पर्खाइमा रहेका पवन सर्राफ नेपालका लागि म्याच विनर बन्न पुग्छन्। नेपाली टोलीमा सबैभन्दा सिनियर खेलाडी सोमपाल कामी रहेका छन्।
यसअर्थमा सोमपाल, कप्तान रोहित पौडेल, नेपाली टोलीबाट पछिल्लो समय लोभलाग्दो प्रदर्शन गर्दैआएका गुलझन झा, भीम सार्कीलगायतको प्रदर्शन पनि नेपालका लागि महत्वपूर्ण हुनेछ।
सिनियर टोलीमै खेलेका खेलाडी छन् पाकिस्तानी ‘ए’ मा
प्रतियोगिताको उपाधि दावेदारमध्येको पाकिस्तान मोहम्मद हरिसको कप्तानीमा उत्रँदैछ। प्रतियोगिता अघि ६ दिन ट्रेनिङ गरेर पाकिस्तानी टोली श्रीलंका हिडेको थियो।
पाकितस्तानका लागि कप्तान हरिसले पाँच एकदिवसीय र ९ टी २० अन्तर्राष्ट्रिय खेलेका छन्। पाकिस्तान ‘ए’मा सिनियर टोलीमा डेब्यू गरिसकेका ७ जना खेलाडीको उपस्थिति छ। जसमा अर्सद इक्वाल, कामरन गुलाम, मोहम्मद वसीम जुनियर, साहिबजादा फरान, सइम अयुब, शहबाज दहनी र तय्यब ताहिर रहेका छन्। यी मध्ये अधिकांश खेलाडी टी २० फर्म्याटबाट आएका छन्।
‘हामी एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि तयार छौं। हामीले डिफेन्डिङ च्याम्पियनको दबाबलाई खेलमा असर गर्न दिने छैनौं’, कप्तान हरिसले भनेका छन्, ‘हाम्रो टोलीको संयोजन उत्कृष्ट छ। टोलीमा प्रतिभाशाली अलराउन्ड खेलाडीहरूको साथ छ। मलाई उनीहरूको क्षमतामा पूर्ण विश्वास छ।’
पाकिस्तान ‘ए’ टोली
मोहम्मद हरिस (कप्तान), ओमइर बिन युसुफ (उपकप्तान), अमद बट, अरशद इकबाल, हसीबुल्लाह, कामरान गुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, कासिम अक्रम, साहिबजादा फरहान, साइम अयुब, शाहनवाज दहानी, सुफियान मुकीम र तैयब ताहिर
आईपीएल खेलाडीले भरिएको भारतीय टोली
भारतीय टोलीको कप्तानी यश धुलले गर्दा उपकप्तानको जिम्मेवारी अभिषेक शर्माले गर्नेछन्। धुल भारतलाई यू १९ विश्वकप जिताएका कप्तानसमेत हुन्। प्रशिक्षकमा सितांशु कोटक रहेका छन्।
भारतीय टोलीमा इण्डियन प्रिमियर लिग (आईपीएल)मा प्रभाव जमाएका खेलाडीहरुको पनि उत्तिकै उपस्थिति छ। जसमा साइ सुदर्शन, रियान पराग, प्रभसिमरन सिंहलगायतका खेलाडीको नाम अगाडि आउँछ।
भारतीय टोलीमा रहेका ध्रुव जुरेल पछिल्लो समय लयमा छन्। अघिल्लो संस्करणको आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका उनी दाइने हाते ब्याट्सम्यान हुन्। उनी विकेटकिपर पनि हुन्। यो प्रतियोगितामा अर्का प्रभावशाली विकेट किपर प्रभशिमरन सिंहले विकेट किपिङ गर्ने सम्भावना रहन्छ।
त्यस्तै, हरियाणाका निशान्त सिन्धु भारतीय टोलीका लागि प्रभावशाली प्रदर्शन गर्न सक्ने खेलाडी हुन्। भारतले २०२२ मा यू १९ विश्वकप जित्दा ‘अण्डररेटेड’ खेलाडीका रुपमा रहेका उनले बलर अलराउण्डरको रुपमा राम्रोसँग भूमिका निभाउन सक्छन्।
कर्नाटकाका ब्याट्सम्यान निकिन जोस प्रभाशाली प्रदर्शन गर्नसक्ने अर्का खेलाडी हुन्। केही सिजन कर्नाटका प्रिमियर लिग खेलेर ‘सिन’मा आएका उनले ९ वटा फस्ट क्लास क्रिकेट खेल्दा ४९.७९ को औशतमा ५४७ रन बनाएका छन्। लिस्ट ‘ए’मा पनि उनको ट्र्याकरेकर्ड राम्रो छ। उनले ५५.८७ को एभरेजमा ४४७ रन बनाएका छन्।
टोली भारत ‘ए’
साई सुदर्शन, अभिषेक शर्मा, निकिन जोस, प्रदोष रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभसिमरन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह डोडिया, हर्षित राणा, आकाश सिंह, नितिश कुमार रेड्डी, राजवर्धन हांगरगेकर
नयाँ खेलाडी राखेर यूएईको ‘ए’ टोली
नेपालमा सम्पन्न एसीसी प्रिमियर कपमा यूएई फाइनलमा घरेलु टोलीसँग पराजित भएको थियो। च्याम्पियन बनेको नेपालले एसिया कपमा अवसर पाउँदा दोस्रो र तेस्रो बनेका यूएई र ओमनले इमर्जिङ एसिया कपमा स्थान बनाएका थिए। यूएई र ओमनले इमर्जिङ एसिया कपमा ‘ए’ टोली पठाएका छन्।
अलि नासीरले यूएईको टोलीको कप्तानी गर्दैछन्। पाकिस्तानको कराँचीमा जन्मिएका उनी चार वर्षयता दुबईमा छन्। जिम्बावेमा यूएईले फितलो प्रदर्शन गर्दा टोलीबाट राम्रो प्रदर्शन गर्ने मध्येमा उनी एक थिए।
जुन ४ मा यूएईमा भएको वेस्ट इण्डिजविरुद्धको खेलबाट यूएईको जर्सी लगाएका उनले डेब्यू खेलमै ५२ बलमा ५८ रन बनाउँदै आफ्नो प्रभाव छाडेका थिए। नासीरसँग जिम्बावेमा सिनियर टोलीमा रहेका आर्यन्स शर्मा, इथन डी सोउजा, मोहम्मद जवादुल्ला र सचित शर्मा यूएईको टोलीमा छन्। त्यसबाहेक घरेलु क्रिकेटमा प्रभाव छाडिरहेका युवा खेलाडीलाई समेटेर यूएईले ‘ए’ टोली घोषणा गरेको हो।
यूएई ‘ए’ टोली
अली नसीर (कप्तान), आदित्य शेट्टी, आर्यनश शर्मा, अंश टन्डन, अश्वन्त वाल्थापा, एथन डिसुजा, फहाद नवाज, जस ज्ञानानी, जोनाथन फिगी, लवप्रित सिंह, मतिउल्लाह, मोहम्मद फराजुद्दीन, मोहम्मद जवादुल्लाह, निलान्स केसवानी र सञ्चित शर्मा