PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठे पुल भाँचिदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध



पहिलोपोस्ट

काठे पुल भाँचिदा लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध
प्रतीकात्मक फाइल फोटो।

लमजुङ : पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।

बेँसीसहर चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार बेँसीसहर चामे सडकखण्डअन्तर्गत मनाङको चामे गाउँपालिका-१ तिमाङ पावर हाउस खोलाको काठे पुल र वडा नम्बर २ स्थित स्यार्कु खोलाको काठे पुल बिहीवारदेखि निर्माण गरिँदै छ। सो स्थानमा वैकल्पिक सडक मार्ग नभएकाले यातायात सेवा दुई दिनसम्म अवरुद्ध हुने उनले बताए।

अधिकारीका अनुसार उक्त स्थानमा दुई वर्षअघि काठे पुल निर्माण गरिएको हो। पुल जीर्ण भएपछि पुराना काठ हटाएर अहिले नयाँ राख्न थालिएको हो। पुल निर्माणका लागि मंगलवारबाटै रुख काट्ने, पुलका लागि फलेक बनाउनेलगायत काम भइरहेको इन्जिनियर अधिकारीले बताए।

मनाङलाई सडक सञ्जालसित जोड्ने सरकारको योजनाअनुरुप २०५१ देखि सडक डिभिजन कार्यालय दमौली तनहुँले बेँसीसहर चामे सडक निर्माण अघि बढाएको थियो। नेपाली सेना २०५७ सालदेखि उक्त सडक निर्माणमा सहभागी भएको हो।

विसं २०६९ मा सडक निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो। तत्कालीन कार्य गणका इन्जिनियर भरत श्रेष्ठ र इन्द्रिबर गुरुङको नेतृत्वमा सडक निर्माण सम्पन्न भएको हो।

उक्त सडकखण्डको ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ। सडक जीर्ण तथा बन्द हुँदा मनाङवासी बढी प्रभावित हुने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell