PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बंगलादेश र नेपाल भिड्दै : खेलअघि खेलाडी र प्रशिक्षकले किन सम्झिए साफ फाइनल?



पहिलोपोस्ट

बंगलादेश र नेपाल भिड्दै : खेलअघि खेलाडी र प्रशिक्षकले किन सम्झिए साफ फाइनल?

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। साँझ पौने ५ बजे ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा खेल सुरु हुनेछ।

साफ च्याम्पियनसिपपछि नेपाली महिला टोलीले पहिलो पटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। साफको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ३-१ गोलअन्तरले हराउँदै पहिलो पटक साफको उपाधि उचालेको थियो। त्यसबेला नेपाल घरेलु मैदानमा उपाधि उचाल्ने अवसरबाट अन्तिम खेलमा चुकेको थियो।

नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ।

बंगलादेशका प्रशिक्षक रहमान लिटूले साफमा नेपाललाई हराएर च्याम्पियन बनेको भए पनि नेपाललाई हल्का रुपमा नलिने बताएका छन्।

'साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भए पनि बलियो टोली हो। यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौं,' उनले भने, ' अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ। हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौं।'

त्यस्तै बंगलादेशी टोलीकी कप्तान सबिना खातुनले साफ च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय खेल नखेलेकाले चुनौती हुने बताइन्। नेपालले भने साफ पछि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यस्तै घरेलु मैदानमा ओलम्पिक छनोट अन्तर्गतको खेलमा भियतनामसँग दुई खेल खेलेको थियो।

'पहिला र अहिलेको हाम्रो टोलीमा केही फरक छ। साफ पछि हामीले ८ महिना खेल्न पाएका छैनौं। नेपालले खेलिरहेको छ। हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं,' खातुनले भनिन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले भने खेल प्रतिस्पर्धात्मक हुने बताए। नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोलीमा उच्च मनोबल रहेको प्रशिक्षक थापाले बताए। गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पुरै समय मैदानमा बिताउन पाएकी थिइनन्।

यस्तै, चोटपछि नेपाली टोलीकी अर्की महत्वपुर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईको पनि टोलीमा पुनरागमन भएको छ। गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा चोट बोकेपछि टोली बाहिर थिइन्। प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन्।

कप्तान सुब्बाले बंगलादेशलाई आफुहरुले कमजोर रुपमा नहेरेको बताइन्। उनले भनिन्, 'पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ।'

बंगालदेशको टोलीमा मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए। यस्तै साफ जित्ने टोलीबाट स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन्।

नेपालले दोस्रो मैत्रीपुर्ण खेल आइतबार खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell