PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फिल्मी लाग्‍ने 'क्राइम थ्रिलर' : कोठा नम्बर १११ भित्र ९ दिनसम्म कर्मचारीकै सामुन्ने यसरी झिकिएको थियो ९ किलो सुन



सविन ढकाल

फिल्मी लाग्‍ने 'क्राइम थ्रिलर' : कोठा नम्बर १११ भित्र ९ दिनसम्म कर्मचारीकै सामुन्ने यसरी झिकिएको थियो ९ किलो सुन

काठमाडौं : परम्परागत शैलीलाई छोडेर गएको पुस महिनामा नयाँ तरिकाले सुन तस्करी भयो। पूरै फिल्मी शैलीमा भएको तस्करीमा तस्करदेखि कर्मचारीसम्मैको जालो तयार भएको थियो जसका हरेक गतिविधि सिनेमाका प्लट झै थिए। केस प्रहरीकहाँ पुगेपछि नयाँनयाँ प्लटहरु खुलासा भएको हो।   

पुस महिनामा विदेशबाट विद्युतीय चुरोट (भेप)भित्र सुन राखेर तस्करी भएको थियो। तस्करी त्यही भेपबाट भएको थियो जुन भन्सार कार्यालयले जफत गरेको थियो। जफत गरिएको भेपभित्र रहेको सुन तस्कर गिरोहले पटक पटक भन्सार कार्यालयको कोठा नम्बर १११ मा पुगेर निकाल्दै बाहिर पुर्‍याएको तथ्य बाहिर आएको छ।

यस घटनामा भन्सार कार्यालयका नायव सुब्बा (नासु) रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सुरक्षा गार्ड निर्मल विक, सुन व्यापारी वेदप्रसाद अग्रवाल, साहेव राव पाण्डुङ मरग, अमृत कार्की, तथा फरार रहेका रामकेशव थापा, गोपाल सुवेदी र दीपेश बस्नेतको संलग्नता रहेको खुलेको छ। प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय मुद्दा दायर भइसकेको छ।

२०७९ पुस १० गते फ्लाइ दुवईबाट चिनियाँ नागरिकले २ वटा सुटकेशमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। व्यापारिक प्रयोजनका लागि अप्रत्यासित मात्रामा भेप भित्रिएको देखिएपछि भन्सार कार्यालयले त्यसलाई जफत गरेको थियो। यहाँसम्म त तस्करीको खेल सोझो रुपमा नै अगाडि बढेको थियो। तर, जब भन्सारभित्रबाटै फिल्मी शैलीमा तस्करीको प्लट तयार हुन्छ। 

भन्सार एजेन्ट दिनेश बस्‍नेत र नासु रेवन्त एकाएक तस्करीको प्रकरणमा उदाउँछन्। यी दुई पात्रले भेपभित्र लुकाएर ल्याइएको सुन निकालेर अर्कै सुन नभएको भेप राखेको प्रहरीको दावी छ। भन्सार कार्यालयको गोदाममा रहेको सुन निकाल्न खड्का र  बस्नेत पटकपटक १११ नम्बरको भन्सार कार्यालयको गोदाममा पुगेको देखिएको छ।

दिनेशले प्रहरीसँगको बयानमा नै नासु खड्कालाई लिएर भन्सार कार्यालयको कार्गो भवनको उक्त कोठामा छिरेर ९ दिनसम्म भेप फुटाउँदै सुन निकालेको बयान दिएका छन्। यति व्यवस्थित तरिकाबाट सुन निकालियो कि त्यसले कुनै पनि क्राइम थ्रिलरको प्लट अनुभूति गराइदिन्छ। 

'करिब ८/९ दिन लगाएर रेवन्त खड्काको सामुन्नेमा उक्त जफत भएको भेप फुटाइ सो मा रहेको सुन झिकि बाहिर लगेको हो,' दिनेशले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन्।

यसरी भेपबाट ९ किलो सुन निकालेका थिए। भेप फुटाउँदा निस्किएको टुक्रा-धुलो समेत पोको पारेर बानेश्वरस्थित सकुम्बासी बस्ती नजिकैको बागमती खोलामा फ्यालेको बताएका छन्।

त्यसपछि रेवन्तका भाइ दीपेश र भिनाजु गोपाल सुवेदीको सहयोगमा न्युरोडमा रहेका व्यापारीलाई बिक्री गरेका थिए। उक्त सुन ६ करोड रुपैयाँमा प्रकाश अग्रवाल र साहेव राव लगायतका भारतीय गिरोहलाई बिक्री गरेका थिए। सुनको मूल्य ६ करोड २१ लाख भए पनि २१ लाख छुट दिएका थिए उनीहरुले। सुन किन्नेहरुको विशाल बजारमा भुषण चस्मा तथा घडी पसल भएको देखिन्छ। आवरणमा व्यापार भए पनि भित्री रुपमा उनीहरु यसरी भित्रिने सुन किन्न सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। दिनेशले सुनबाट आएको पैसा भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १७ दिवेश्वरी प्लानिङभित्रको जग्गा खरिद गरेका थिए। दुई करोड ७५ लाख रुपैयाँमा ससुरा राम केशव थापाको नाममा उनले जम्मा गरेका थिए।

प्रहरीको हिरासतमा रहेका निर्मल विक भन्सार कार्यालयका सुरक्षा गार्ड हुन्। उनको इन्ट्री पनि कम थ्रिलिङ छैन। चिनियाँ नागरिकबाट कार्यालयले जफत गरेको भेपभित्र सुन लुकाइएकोबारे विकले थाहा पाएका थिए। त्यसैले हो कि होइन भन्ने पुष्टि गर्न उनले एउटा भेप फुटाले। त्यसमा रहेको धातु निकाले। बजारमा लगे। सुनकै मूल्यमा त्यो बिक्यो। 

यसमा पनि रोचक ट्विस्ट छ - सुरक्षा गार्ड विकले सोझै सुन भएको थाहा पाएका थिएनन्। उनले दिएको वयानलाई आधार मान्ने हो भने भन्सारको मुद्दा शाखाबाट गोदाम लैजाँदै गर्दा एउटा भेप झर्‍यो। उनले त्यो टिपे र घर लगे। घरमा गएर तान्न खोज्दा त्यसबाट केही निस्केन। भेपबाट धुँवा नआएपछि उनले त्यसलाई फुटाए। त्यहाँ सुन रहेछ। अरु नै एक जनाको सहयोगमा उनले कोटेश्वरमा रहेको एक सुन पसलमा लगेर भेपभित्र भेटिएको धातु बिक्री गरे। बिक्रीबाट मिल्यो १ लाख १२ हजार रुपैयाँ। 

सुरक्षा गार्ड विक थप लोभिए। त्यसपछि पालैपालो उनले ४० वटा भेपबाट सुन निकाले। जसबाट ४४ लाख रुपैयाँ कमाएको दावी अन्य आरोपितले लगाएका छन्। लगतमा गडबडी देखिएको छ। यो चाहिँ अहिले प्रहरीबिच नै 'सस्पेन्स'को विषय हो। किनकि अन्य प्रतिवादीले ४४ वटा भेप हराएको भनिरहँदा उनले त्यसलाई स्वीकारेका छैनन्। आखिर ४० भेप कता गयो त? क्राइम थ्रिलरमा झै अहिले नै यो केस सुल्टिन्छ वा अन्य कुनै घटनाक्रममा जोडिएर यस विषयले टुङ्गो पाउँछ यसै भन्न सकिन्न। सम्भवत सिक्‍वेल स्टोरी बन्न सक्छ। 

तस्करहरुले ६ करोडमा सुन बेचेपछि भक्तपुरको थिमिमा जग्गा किनेको देखिएको छ। रेवन्तले आफ्नी महिला मित्रको खातामा ३० लाख रुपैयाँ जम्मा गरेको वयान दिएका छन्। रोचक के छ भने जसको खातामा उनले पैसा पठाएका थिए ती युवती सोसल मिडियाबाट मात्र जानपहिचान भएकी हुन्। यसपछाडिको कथाले घटनालाई थप रोमाञ्चक बनाउन सक्छ। प्रहरीले युवतीको खाता ट्र्याक गर्दै अनुसन्धान अगाडि बढाएको छ।  

त्यस्तै, उनले भाउजुको खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको वयान दिएका छन्। नासु खड्काले सुरुमा भेप भएको जानकारी बब्लुकुमार गुप्ताबाट थाहा पाएको जनाएका छन्। बब्लु भन्सारका लिलामी उठाउने व्यक्तिका रुपमा स्थापित कारोबारी हुन्।

उनीहरू विरुद्ध अपराध संहिता २०७४ को दफा २५२ अनुसार आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधमा मा मुद्दामा टेकेर सजाय माग गरेको छ। यसमा कसुर पुष्टि भए कर्मचारीको हकमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवा र अन्यको हकमा तीन वर्ष कैद र ३० हजार वा दुवै जरिवाना हुनसक्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell