PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

धनीले किन बेच्‍न थाले महँगा घर जग्गा?



उन्नत सापकोटा

धनीले किन बेच्‍न थाले महँगा घर जग्गा?

काठमाडौं : आवासीय हिसाबले उच्च वर्गको रोजाईंमा पर्ने बुढानीलकण्ठ क्षेत्रमा ठुलो क्षेत्रफलका जग्गा धमाधम बिक्रीमा आउन थालेका छन्। उद्योगी, व्यापारी, उच्च ओहोदाका कर्मचारीदेखि 'क्यास रिच' जोकोहीको रोजाइमा पर्ने एरिया हो, बुढानीलकण्ठ।

अहिले यही क्षेत्रका रोपनी रोपनीमा फैलिएका ठुला जग्गा बिक्रीमा चढ्न थालेका हुन्। यसको अर्थ व्याप्त मन्दीका कारण धनाढ्यहरुसमेत आर्थिक संकटमा फस्दै गएको स्पष्ट हुन्छ। मध्यम र न्यून आय भएको वर्ग प्रभावित भइरहेको अवस्थामा व्यापार व्यवसायमा छाएको मन्दीबाट जोगिन उच्च वर्गसमेत संघर्ष गरिरहेको झल्किन्छ। व्यापार तथा आफ्नो पेसा जोगाउन जमिन भएकाहरुसमेत त्यसैलाई उपयोग गर्ने तर्फ लागेको देखिन्छ।

प्राय ३, ४, ५ आना हाराहारीका जग्गाको खरिदबिक्री बढी हुने बुढानीलकण्ठसहित काठमाडौंका अन्य क्षेत्रहरुमा अहिले भने रियल इस्टेट ब्रोकरहरुले ४२ आना (२ रोपनी १० आना) सम्मका ठुला जग्गा बिक्रीमा राखेका छन्।

गहिरिएको आर्थिक मन्दीका साथै हुनेखानेहरुले आफ्नो खर्च धान्नै धौधौ परेपछि विभिन्न स्थानमा रहेका विशाल प्रोपर्टी बेच्ने अवस्थामा पुगेका छन्।

काठमाडौंको बुढानीलकण्ठ, धापासी, महाराजगञ्ज, सीतापाइला, भक्तपुरको सल्लाघारीलगायतका स्थानहरुमा विभिन्न रियल इस्टेट ब्रोकर कम्पनीहरुले ठुला जग्गाहरु बेच्न राखेका छन्।

बुढानीलकण्ठमा ४२ आना क्षेत्रफलमा फैलिएको विशाल बंग्लो बिक्रीमा राखिएको छ। पश्चिम मोहडाको उक्त बंग्लोको मूल्य बिक्रेता फ्यूचर वर्क इस्टेट एजेन्सीले ३२ करोड रुपैयाँ तोकेको छ। स्वीमिङ पुलसहितको यो प्रोपर्टी १० दिन अगाडि बिक्रीमा ल्याएको थियो।

धापासी हाइटमा ३५ आना क्षेत्रफलमा रहेको यो जग्गा बसुन्धारा रिङरोडबाट ५ सय मिटरको दूरीमा प्रोपर्टी घरजग्गा क्लिनिक नामक ब्रोकर कम्पनीले बिक्रीमा ल्याएको छ। धापासी हाइटमा रहेको यो प्रोपर्टी दक्षिण मोहडा फर्किएको र १८ फिटको कालोपत्रे सडकले छोएको कम्पनीले जनाएको छ।

यस्तै, फ्यूचर वर्क इस्टेट एजेन्सीले नै प्रति आना ४० लाख रुपैयाँको दरले ३५ आना जग्गा बुढानीलकण्ठमा बिक्रीमा ल्याएको छ।

महाराजगञ्जमा १८ आना क्षेत्रफलमा रहेको प्रोपर्टी बिक्रीमा राखेको छ। जसको मूल्य १२ करोड ५० लाख रुपैयाँ तोकिएको छ। गोल्फुटारमा १९ आनामा बनको बंग्लोसहितको जग्गा कम्पनीले १३ करोड रुपैयाँमा बेच्न राखेको छ।

४० आना जग्गा रियल इस्टेट ब्रोकर कम्पनी लालपुर्जा नेपालले बिक्रीमा राखेको छ। सीतापाइला सोल्टी दोबाटोबाट ५० मिटरको दुरीमा यो विशाल जग्गा बिक्रीमा राखिएको छ।

आवासीयका साथै व्यवसायिकरुपमा सो जग्गा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। लालपुर्जा नेपालले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा १६ आना र १७ आना जग्गा बिक्रीमा ल्याएको छ।

यस्तै, लालपुर्जा नेपालले नै भक्तपुरको सल्लाघारीमा ३० आना जग्गा बिक्रीमा राखेको छ। यी त केही प्रतिनिधि प्रोपर्टी मात्रै हुन्। यस्ता केही विशाल प्रोपर्टीहरुमा मुख्य घरसहित गार्ड रुम, गार्डेन, पार्किङ निर्माण गरिएका छन्। केही भने खाली जग्गा मात्रै पनि छन्।

लालपुर्जाले नै महाराजगञ्जमा २५ आना जग्गा बिक्रीमा राखेको छ। २१ करोड रुपैयाँ कल प्राइस राखिएको उक्त जग्गाको भाउमा केही बार्गेनिङ गर्न सकिने बताइएको छ।

धेरै सम्पत्ति त छ तर पर्याप्त क्यास फ्लो नहुँदा काठमाडौंमा ठुला प्रोपर्टी बिक्री गर्नेको संख्या बढ्न थालेको लालपुर्जा नेपालका संस्थापक एवम् सीइओ सन्जय नेपालले जानकारी दिए। व्यापार व्यवसायमा सोचेजस्तो अवस्था अहिले छैन। जसका कारण पैसाको अभाव मान्छेहरुलाई परिरहेको छ।

‘५ रोपनी जग्गा काठमाडौंमा छ, तर आम्दानी केही छैन। जग्गाले त मलाई खान दिँदैन। उपाय केही रहेन। हेर्नुस् ठुलो मान्छेको ठुलै खर्च हुन्छ। गाडी, बच्चको स्कुल/कलेज यताउता गर्दा खर्च अधिक हुन्छ। ठुलो प्रोपर्टी भएपछि सानोतिनो ऋण त्यसबाटै लिएको हुन सक्छ। ऋण तिर्नै पर्‍यो अब के गर्ने भन्दा जग्गै बेच्नुपर्‍यो,’ नेपालले भने।

केही समययता यस्ता ठुला प्रोपर्टी किन्ने ग्राहकहरुको संख्यासमेत बढ्न थालेको दाबी नेपालको छ। 

‘गाह्रो परेर यस्ता प्रोपर्टी बेच्न खोजेकाहरुसँग केही सस्तोमा किनेर झ्याप्प लगानी गरेर राखौं भनेर किन्ने मान्छे हुन्छन्। अर्को भनेर अलि पैसा भएकै मान्छेहरुले किन्छन्। जो आफ्नौ प्रोपर्टी बेचेर बसिरहेका छन्। विदेश तिर बसेर राम्रो आम्दानी गरेकाहरुको नजरमा समेत यस किसिमको प्रोपर्टी पर्ने गरेको छ। नेपालकै व्यापारिक घरनाहरुले समेत ठुलो प्रोपर्टीमा आँखा लगाउने गरेका छन्,’ नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell