PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कालीगण्डकीबाट धुमधामसहित अयोध्या पुर्‍याइएको शिलाबाट नबन्ने भयो रामको मूर्ति, मापदण्ड नै नपुगेको जिकिर



पहिलोपोस्ट

कालीगण्डकीबाट धुमधामसहित अयोध्या पुर्‍याइएको शिलाबाट नबन्ने भयो रामको मूर्ति, मापदण्ड नै नपुगेको जिकिर
Photo : PTI

काठमाडौं : नेपालको कालीगण्डकी नदीबाट निकालिएको देवशिला धुमधामसहित गत वर्ष माघ १८ गते राति भारतको भारतको अयोध्या पुर्‍याइयो। उत्तर प्रदेशमा ठूलै तामझाम गरेर शिलाको स्वागत गरियो। अनुष्ठान पूजापछि माघ १९ गते सो देवशिला श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरियो।

उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला नेपालबाट अयोध्या पुर्‍याइएको थियो। तर, जुन शिलालाई पूजा गरि भारत भित्र्याइएको थियो त्यही शिलाबाट भगवान् रामको मूर्ति नबनाइने भएको छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पट रायले हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा नेपालबाट ल्याइएका शिलाको मापदण्ड मूर्ति बनाउन नपुगेको बताएका हुन्।

'मूर्तिकारहरूले ढुंगा काटेर त्यसको प्राविधिक विश्लेषण गरेका थिए। तर नेपालबाट ल्याइएका ती ढुंगाले सबै मापदण्ड पूरा गर्न सकेनन्। ती ढुंगाबाट रामलल्लाको मूर्ति बनाउन उपयुक्त नभएको पाइयो,' उनले भनेका छन्।

ट्रष्टले मूर्तिकारसँग सल्लाह गरेपछि रामको मूर्ति बनाउनका लागि नेपालबाट ल्याइएको ढुङ्गा प्रयोग नगर्ने निर्णय गरेको उनले बताए।

हुन त ती शिला अध्योध्य पुर्‍याइनु अघि नै त्यसबाट रामको मूर्ति बनाउने कि नबनाउने भन्नेमा विवाद भएको थियो।

गत वर्ष माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि अयोध्या पुगेको थियो।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।

ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भारत भित्र्याएका थिए। शिलालाई सो दिन अयोध्याको राम सेवकपुरममा राखिएको थियो। र माघ १९ गते बिहान विशेष समारोहबिच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell