PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

चितवनमा विपद्को पूर्वानुमान : बाढी पहिरोका कारण एक लाख ६६ हजार मानिस प्रभावित हुने



पहिलोपोस्ट

चितवनमा विपद्को पूर्वानुमान : बाढी पहिरोका कारण एक लाख ६६ हजार मानिस प्रभावित हुने
फाइल फोटो

काठमाडौं : चितवन जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए। महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ।

यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका ६ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ। खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने अनुमान छ।

यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान छ। पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपालिका रहेको छ। इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ।

भरतपुरका तीन सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ। जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतङ्क आदि प्रकोप समस्याका रुपमा रहेका छन्।

सूचना अधिकारी न्यौपानेले भने, 'विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ।'

अन्य सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए।

बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ। यस्तै अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्बाट बच्न सजग रहन आह्वान गरिएको उनले बताए। विपद्बाट बच्न पूर्व तयारीका लागि सातै पालिकामा सूचना गरिएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell