PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सिदिङ्वा र मैवाखोलाका उच्च जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने



पहिलोपोस्ट

 सिदिङ्वा र मैवाखोलाका उच्च जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने
फाइल फोटो

काठमाडौं : ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ। बाढी पहिराले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न लागेको हो ।

बिहीवार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिराको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ती स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय गरेको हो। बैठकले विज्ञ टोलीको अध्ययन प्रतिवेदनका आधारमा बस्ती तथा घर स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापनाको क्रममा सिरिजङ्घा गाउँपालिकाका ४१ घरपरिवारलाई जग्गा खरिदका लागि प्रतिपरिवार तीन लाख रुपैयाँको दरले एक करोड २३ लाख रुपैयाँ उपलब्ध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०७७ अनुसार छनोट भएका घरपरिवारलाई पुनःस्थापना, पुनःनिर्माण तथा प्रवलीकरणका लागि सङ्घीय सरकारबाट ६० प्रतिशत, प्रदेश सरकारबाट ३० प्रतिशत र सम्बन्धित स्थानीय तहबाट १० प्रतिशत अनुदान दिन सकिने व्यवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

जिल्ला विपद् व्यवथापन समितिका अनुसार सिरिजङ्घा गाउँपालिकाकै २१ घरपरिवार पुनःनिर्माण र अस्थायी आवासका लागि सिरिजङ्घा गाउँपालिकाको सिफारिसका आधारमा सम्झौता रकमको ७० प्रतिशत प्रथम किस्ता रकमवापत भुक्तानी भएको ३२ लाख ५५ हजार रुपैयाँसमेत जिल्ला विपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले आगलागीबाट घर पूर्णरूपमा क्षति भएका फुङ्लिङ नगरपालिका-८ का पदमसुन्दर पालुङ्वालाई २० हजार रुपैयाँ उपलब्ध गराएको छ। मेरिङदेन गाउँपालिका-४ दिलकुमार लिम्बू र पाथीभरा याङ्वरक गाउँपालिका-४ डुम्रिसेका भीमप्रसाद लिम्बूलाई १५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको जनाएको छ।

यस्तै सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा चट्याङका कारण मृत्यु भएका एक परिवारका आफन्तलाई दुई लाख राहत उपलब्ध गराइएको  जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell