
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला र पुरुष क्रिकेट टोलीलाई बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ। दक्षिण अफ्रिकाको डरबनमा भएको आइसीसीको वार्षिक सभाले यो निर्णय गरेको हो। खेल क्षेत्रमा महिला र पुरुषले पाउने पुरस्कार राशीमा निकै असमानता भइरहेको भन्दै आलोचना भइरहेको बेला आइसीसीले यो ऐतिहासिक निर्णय गरेको हो।
आइसीसीका अनुसार अब पुरुष र महिलाले एकै किसिमका प्रतियोगितामा विजय भए पाउने पुरस्कारसँगै अन्य पुरस्कार वापत् पाउने रकम बराबर हुनेछ। यसअघि पुरुष क्रिकेट टोलीले बढी पुरस्कार पाउने गर्थ्यो।
‘खेल क्षेत्रको इतिहासमा यो एउटा महत्वपूर्ण क्षण हो। अब आइसीसी ग्लोबल इभेन्ट्समा प्रतिस्पर्धा गर्ने महिला र पुरुष टोलीले समान पुरस्कार पाउनेछन्,’ आइसीसीका अध्यक्ष ग्रेग बर्क्लेले भने।
उनले पुरस्कारलाई समान बनाउन सन् २०१७ देखि महिला इभेन्टरहरुमा दिइँदै आइएको रकम हरेक वर्ष बढाउँदै आइरहेको बताए। साथै, अब आइसीसी वुमेन्स वर्ल्ड कपका विजेताले पनि आइसीसी मेन्स वर्ल्ड कप विजेताले पाउने रकम बराबर पुरस्कार राशी पाउने बताए। यो नियम टी २० विश्वकप र अन्डर १९ प्रतियोगितामा पनि लागू हुनेछ।