PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पहिरोले बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध, ‘पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ’



पहिलोपोस्ट

पहिरोले बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध, ‘पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ’
प्रतीकात्मक फाइल फोटो।

ढोरपाटन : अविरल वर्षाका कारण पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ। लोकमार्गको निसीखोला गाउँपालिका-४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको हो।

वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए। सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वीरुकुम र रोल्पा पुग्ने यातायातका साधन ठप्प छन्। पूर्वीरुकुमको रुकुमकोटबाट काठमाडौं, पोखरा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन पनि सञ्चालन हुनसकेका छैनन्।

लोकमार्गसँग सहकार्य गरेर सडक खुलाउने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष घर्तीमगरको भनाइ छ। उनले यस सडक खण्डको पातीहाल्नेमा रुख डलेर सडक अवरुद्ध भएकामा अहिले खुलाइसकेको बताए।

अध्यक्ष घर्तीमगरले भने, ‘यो पहिरोले हैरान बनायो, पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ, यताको गाडी यतै, उताको गाडी उतै हुन्छन्, यसले धेरै समस्या बनायो।’

मुख्य सडकसँगै निसीखोलाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको उनले जानकारी दिए। अब बर्खा नरोकिएसम्म उक्त सडक खुलाउन नसकिने घर्तीमगरको भनाइ छ। बुर्तिबाङ बजारबाट कानाबगरसम्म सहजरूपमा यातायातका साधान चल्न सके पनि त्यसभन्दा माथि समस्या हुने गरेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell