PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

शीर्ष र मध्यक्रम चलेन, सोमपालसहित अन्तिमका ब्याट्सम्यान थामिँदा पनि पाकिस्तान ‘ए’लाई १ सय ८० रनको सामान्य लक्ष्य



पहिलोपोस्ट

शीर्ष र मध्यक्रम चलेन, सोमपालसहित अन्तिमका ब्याट्सम्यान थामिँदा पनि पाकिस्तान ‘ए’लाई १ सय ८० रनको सामान्य लक्ष्य
Photo: ACC

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तानलाई १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा जारी खेलमा नेपालले ३७औँ ओभरको समाप्तीमा अलआउट हुँदै १७९ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालको शीर्ष क्रम र मध्य क्रम धराशायी हुँदा १५.४ ओभरमा स्कोरबोर्डमा नेपाल ७२-८ को अवस्थामा पुगेको थियो। पहिलो विकेटका रुपमा १ रन बनाएका कुशल भुर्तेल १.५ ओभरमा शाहनवाज दाहनीको बलमा बोल्डआउट भएका थिए। दोस्रो विकेट १२ रन बनाएका आशिफ शेखलाई दहानीले नै ३.६ ओभरमा मोहम्मद ताहिरबाट क्याचआउट गराए।

ठूलो जिम्मेवारी लिएर क्रिजमा गएका कप्तान रोहित कुमार पौडेल ४ रन बनाएर ४.५ ओभरमा क्याच आउट भए। त्यस्तै पाँचौ विकेट भीम सार्कीको गयो। राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरिरहेका उनी पाकिस्तानविरुद्ध भने ६.६ ओभरमा डकआउट हुन पुगे। त्यस्तै ७.४ ओभरमा १७ रन बनाएर खेलिरहेका अर्जुन साउद दहानीकै बलमा मेहरन मुमताजबाट क्याचआउट भए।

नेपालको विकेट जाने क्रम यतिमै रोकिएन। राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ ९.१ ओभरमा १ रन बनाएर दहानीको बलमा मुमताजबाट क्याचआउट भए। त्यस्तै कुशल मल्ल र गुलसन झा २६ बलमा २८ रनको साझेदारी बनाएर खेलिरहँदा मल्ल मोहम्मद वसीमको बलमा बोल्ड आउट हुन पुगे। उनले १८ बलमा १७ रनको योगदान दिए।

त्यस्तै, १५.४ ओभरमा १३ रन बनाएका गुलसन झा मोहम्मद वसीमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर बोर्डमा ८ विकेट गुमाएर नेपाल ७२ रनमात्र जोडेको कमजोर अवस्थामा थियो।

अनि जम्यो साझेदारी

नेपाली ब्याटिङको साझेदारी जम्न नवौँ विकेट कुर्नु पर्‍यो। नवौँ विकेटका लागि सोमपाल कामी र प्रतिस जिसीले ७० बलमा ५८ रनको साझेदारी बनाए। प्रतिस जिसी २७.२ ओभरमा मुबासिर खानको बलमा मोहम्मद वसीमबाट क्याचआउट हुँदा नेपालको स्कोर १३०-९ को अवस्थामा पुगेको थियो। उनले २४ बलमा १ चौका र २ छक्काको सहायतामा २६ रन बनाए।

नेपालका लागि सबैभन्दा ठूलो साझेदारी सोमपाल र प्रतिसले नवौँ विकेटका लागि ५८ रनको बनाउँदा दोस्रो ठूलो साझेदारी अन्तिम विकेटका लागि सोमपाल कामी र ललिज राजवंशीले बनाए। उनीहरुले ५८ बलमा ४९ रनको साझेदारी गरे।

तेस्रो ठूलो साझेदारी गुलसन झा र कुशल मल्लबिच रह्यो। उनीहरुले सातौँ विकेटका लागि २६ बलमा २८ रनको साझेदारी गरे।

नेपालको ‘कोल्याप्स्ड’ भइसकेको ब्याटिङ लाइन सम्हाल्ने क्रममा सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको सहायतामा ७५ रन बनाए। त्यस्तै सोमपाललाई साथ दिएका ललित राजवंशी १ रनमा अविजित रहे।

नेपाली ब्याटिङलाइन धराशायी बनाउन पाकिस्तानका शहनवाज दहनीले ३८ रन दिएर ५ विकेट लिए। त्यस्तै मोहम्मद वसीमले ४ विकेट लिँदा मुवासीर खानले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell