PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ब्याट्सम्यान नजम्दा रनदेखि विकेटमा बलरको भर!, पहिलो खेलमै नेपाल पराजित



पहिलोपोस्ट

ब्याट्सम्यान नजम्दा रनदेखि विकेटमा बलरको भर!, पहिलो खेलमै नेपाल पराजित
फाइल फोटो : क्यान।

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलंकामा आज सम्पन्न खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानसामू १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। शीर्ष क्रम र मध्य क्रमको ब्याटिङ नजम्दा ३७औँ ओभरको समाप्तीमा अलआउट हुँदै १७९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालको ब्याटिङमा बलर अराउण्डर सोमपाल कामी र प्रतिश जिसीले स्कोर उकास्दै सर्वाधिक ५८ रन तथा सोमपाल कामी र ललित राजवंशीले ४९ रनको साझेदारी बनाउँदै नेपालको इनिङ्स उकासेका थिए। त्यस्तै, बलिङतर्फ ललित राजवंशीले ३ विकेट लिँदा अलराउण्डर पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिन सफल भए।

नेपालको इनिङ्स

टस जितेर ब्याटिङमा उत्रिएको नेपालको शीर्ष क्रम र मध्य क्रम धराशायी हुँदा १५.४ ओभरमा स्कोरबोर्डमा नेपाल ७२-८ को अवस्थामा पुगेको थियो। पहिलो विकेटका रुपमा १ रन बनाएका कुशल भुर्तेल १.५ ओभरमा शाहनवाज दाहनीको बलमा बोल्डआउट भएका थिए। दोस्रो विकेट १२ रन बनाएका आशिफ शेखलाई दहानीले नै ३.६ ओभरमा मोहम्मद ताहिरबाट क्याचआउट गराए।

ठूलो जिम्मेवारी लिएर क्रिजमा गएका कप्तान रोहित कुमार पौडेल ४ रन बनाएर ४.५ ओभरमा क्याच आउट भए। त्यस्तै पाँचौ विकेट भीम सार्कीको गयो। राष्ट्रिय टोलीबाट प्रभावशाली प्रदर्शन गरिरहेका उनी पाकिस्तान विरुद्ध भने ६.६ ओभरमा डकआउट हुन पुगे। त्यस्तै ७.४ ओभरमा १७ रन बनाएर खेलिरहेका अर्जुन साउद दहानीकै बलमा मेहरन मुमताज बाट क्याचआउट भए।

नेपालको विकेट जाने क्रम यतिमै रोकिएन। राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सर्राफ ९.१ ओभरमा १ रन बनाएर दहानीको बलमा मुमताजबाट क्याचआउट भए। त्यस्तै कुशल मल्ल र गुलसन झाले २६ बलमा २८ रनको साझेदारी बनाएर खेलिरहँदा मल्ल मोहम्मद वसीमको बलमा बोल्ड आउट हुन पुगे। उनले १८ बलमा १७ रनको योगदान दिए।

त्यस्तै, १५.४ ओभरमा १३ रन बनाएका गुलसन झा मोहम्मद वसीमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर बोर्डमा ८ विकेट गुमाएर नेपाल ७२ रनमात्र जोडेको कमजोर अवस्थामा थियो।

नेपाली ब्याटिङको साझेदारी जम्न नवौँ विकेट कुर्नु पर्‍यो। नवौँ विकेटका लागि सोमपाल कामी र प्रतिस जिसीले ७० बलमा ५८ रनको साझेदारी बनाए। प्रतिस जिसी २७.२ ओभरमा मुबासिर खानको बलमा मोहम्मद वसीमबाट क्याचआउट हुँदा नेपालको स्कोर १३०-९ को अवस्थामा पुगेको थियो। उनले २४ बलमा १ चौका र २ छक्काको सहायतामा २६ रन बनाए।

नेपालका लागि सबैभन्दा ठूलो साझेदारी सोमपाल र प्रतिसले नवौँ विकेटका लागि ५८ रनको बनाउँदा दोस्रो ठूलो साझेदारी अन्तिम विकेटका लागि सोमपाल कामी र ललिज राजवंशीले बनाए। उनीहरुले ५८ बलमा ४९ रनको साझेदारी गरे।

तेस्रो ठूलो साझेदारी गुलसन झा र कुशल मल्लबिच रह्यो। उनीहरुले सातौँ विकेटका लागि २६ बलमा २८ रनको साझेदारी गरे।

नेपालको ‘कोल्याप्स्ड’ भइसकेको ब्याटिङ लाइन सम्हाल्ने क्रममा सोमपालले १०१ बलमा ९ चौका र २ छक्काको सहायतामा ७५ रन बनाए। त्यस्तै, सोमपाललाई साथ दिएका ललित राजवंशी १ रनमा अविजित रहे।

नेपाली ब्याटिङ लाइन धराशायी बनाउन पाकिस्तानका शहनवाज दहनीले ३८ रन दिएर ५ विकेट लिए। त्यस्तै, मोहम्मद वसीमले ४ विकेट लिँदा मुवासीर खानले १ विकेट लिए।

पाकिस्तानको इनिङ्स

नेपालको इनिङ्समा राम्रो फिल्डिङ गर्दै सामान्य लक्ष्यमै रोकेको पाकिस्तानविरुद्ध भने नेपालले सुरुमै क्याच ड्रपबाट सुरु गरेको थियो। खेल भर कमजोर फिल्डिङ गरेको नेपालले विकेट लिन संघर्ष गर्‍यो।

पाकिस्तानको पहिलो विकेटका रुपमा १२ रन बनाएका ओपनर हसिबुल्लाहलाई पवन सर्राफले ७.१ ओभरमा क्याचआउट गराए। त्यस्तै ९.२ ओभरमा दोस्रो विकेट २४ रन बनाएका सइम अय्युबलाई सर्राफले सन्दीप जोराबाट क्याच आउट गराए।

तेस्रो विकेट कुशल मल्लले लिए। उनले २२.४ ओभरमा ओमइर बिन युसुफलाई अर्जुन साउदबाट क्याचआउट गराए। चौथो विकेट अर्धशतक बनाएका मोहम्मद तैय्यब ताहिरको ललित नरायण राजवंशीले लिए। ५१ रन बनाएका उनलाई राजवंशीले २८.१ ओभरमा पवन सर्राफबाट क्याचआउट गराए।

त्यस्तै, ३०.३ ओभरमा मोहम्मद हरिस र कामरन गुलामको ३२.३ ओभरमा ललितले नै विकेट लिए। हरिसले ९ रन जोड्दा गुलामले ३१ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell