PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त



रमेश पराजुली

उपचारको क्रममा बालकको मृत्यु भएपछि दुई दिनदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि दुई दिनदेखि स्थिति तनावग्रस्त बनेको छ। अस्पतालको लापरबाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरू आन्दोलनमा उत्रिएका छन्।

घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीवार मृत्यु भएको थियो। एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन्।

सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले शुक्रवार पनि अस्पताल घेराउ गर्दै अस्पतालमा विरोध प्रदर्शन गरेका छन्। जसका कारण प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित बनेको छ। अस्पतालको आकस्मिक कक्ष र अस्पतालभित्रको फार्मेसी बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले प्रतिष्ठानको अगाडि पीडित पक्षले नाराबाजी र आन्दोलन जारी राखेको जानकारी दिए। आन्दोलन चर्किंदै गएपछि प्रतिष्ठान परिसरमा शुक्रवार पनि बिहानैदेखि प्रहरी परिचालित छन्।

छारे रोग लागेका बालकलाई उपचारका लागि प्रतिष्ठानमा अर्धचेत अवस्थामा ल्याइएको अस्पतालले जनाएको छ। थप जाँचका लागि उनलाई एमआरआइ कक्षमा लगिएको थियो।

अक्सिजन सिलिन्डरसहित एमआरआइ कक्षमा लगिएकोमा एमआरआइको चुम्बकले सिलिन्डर तानेको थियो। सिलिन्डर एमआरआई मेसिनमा टाँसिन पुग्दा मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ। यसबाट बालकलाई असर परेर मृत्यु भएको परिवारको दाबी छ।

त्यसपछि सिकिस्त भएका बालकलाई भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले बिहीवार दिउँसो मृत घोषणा गरेका थिए।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बालकको स्वास्थ्य समस्या बढेर मृत्यु भएको बताए। सिलिन्डरलाई चुम्बकले तानेको भएपनि बालकलाई कुनै पनि चोटपटक नलागेको उनले भनाइ छ। मृतकका आफन्तहरूसँग छलफल भइरहेको र घटनाबारे अध्ययन गर्न एक समिति बनाउने तयारी भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell