PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गुल्मी बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला



पहिलोपोस्ट

गुल्मी बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला

बुटवल : गुल्मी जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोद कुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन्।

जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चितताको मापदण्ड पूरा गरेपछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीलाई प्रदान गरेका थिए। जिल्लामा १५ महिनासम्मका बालबालिकाहरुले मापदण्ड अनुसार लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएपछि पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।

पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव गिरीले राष्ट्रिय अभियान पूरा गर्न वडा, पालिकादेखि जिल्लासम्म खटिने सबैलाई बधाई ज्ञापन गरे। उनले घोषणासँगै निरन्तरताको चुनौती पनि रहने भएकाले थप सक्रियताको लागि आग्रह गरे।

गुल्मीमा १५ महिना भित्रका चार हजार सात जना बच्चाले पूर्ण खोप प्राप्त गरेका छन्। १६ देखि २४ महिनासम्मका दुई हजार छ सय १४ जना रहेकोमा चार जना आंशिक रुपमा खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए।

क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, पोलियो, स्टेपटोकोकस निमोनियाँ, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुबेला, जापनिज इन्सेफ्लाइटिस र टाइफाइडविरुद्धका १३ रोगका खोपहरु बालबालिकालाई प्रदान गर्ने गरिएको अर्यालले बताए।

जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक खत्रीले हरेक क्षेत्रको लक्ष्य अनुसार प्रगति हासिल गर्न सर्वपक्षिय सहयोग र समन्वय आवश्यक रहेको बताए। हरेक पालिका स्तरबाट स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु समयमै पूरा गर्ने र कार्यान्वयनमा सक्रियता आवश्यक रहेको खत्रीले बताए।

जिल्लामा तीन सय ३२ वटा खोपकेन्द्र रहेका छन् भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्। स्वास्थ्य कार्यालयले पूर्ण खोप दिगोपन सुनिश्चितताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरेको छ।

प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिनाभित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गर्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell