PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बुढानीलकण्ठमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा देवांश जंङ्ग खड्का बने पहिलो



पहिलोपोस्ट

बुढानीलकण्ठमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा देवांश जंङ्ग खड्का बने पहिलो

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आयोजित विद्यालयस्तरीय कविता लेखन प्रतियोगितामा काष्ठमण्डप विद्यालयका देवांश जंङ्ग खड्का पहिलो भएका छन्। “भानुको सम्झनामा विद्यार्थीका सिर्जना” नारा सहित बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘प्रत्यक्ष कविता लेखन तथा वाचन प्रतियोगिता-२०८०’मा खड्का पहिलो बनेका हुन्।

'भानुभक्त' शीर्षकमा लेखिएको कविता प्रस्तुतिले निर्णायकको मन जित्दै खड्काले ६ हजार नगद पुरस्कारसमेत हात पारे।

दोस्रो उपाधि काठमाडौं विद्यालय (पायोनियर स्कुल) की समिक्षा भण्डारीले पाइन् भने नेसनल ब्लूमिङ विद्यालयकी आकृति रानामगरले तेस्रो पुरस्कार पाउन सफल भइन्। बा कविता सुनाउँदै दोस्रो भएकी भण्डारीले ५ हजार रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएकी रानामगरले मेरो देश शीर्षकको कविता सुनाउँदै ४ हजार रुपैयाँ पुरस्कार हात पारिन्।

प्रतियोगिताको सान्त्वना पुरस्कार 'आदिकवि भानुभक्त' शीर्षकबाट नौलिन माविकी सलिना दाहाल र 'मेरो देश' शीर्षकबाट रिलायन्स एकेडेमीका अभिषेक श्रेष्ठले पाएका छन्।

सान्त्वना पुरस्कार ३ हजार रुपैयाँ प्रदान गरिएको थियो भने प्रतियोगितामा भाग लिएका सम्पूर्णलाई कदर पत्र दिईएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा भएको प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकाका बिभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्दै ३० जनाले प्रतियोगितामा भाग लिएका थिए।

भानु जयन्तीको विशेष अवसर परेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार, कवि एवं प्राध्यापक डा. देवी नेपालले विद्यार्थीहरुलाई कविता सिर्जना, लेखन र वाचन सम्बन्धी कार्यशाला संचालन गरेका थिए।

प्रतियोगिताको अवधारणा अनुसार नेपालको कार्यशाला पश्चात निर्णायक मण्डलद्वारा सहभागिहरुलाई मेरो देश, आमा, बा, गुरु र भानुभक्त आचार्य गरी ५ वटा शीर्षकमध्य कुनै एक शीर्षकमा कविता लेख्न र वाचन गर्न निर्देशन दिइएको थियो। निर्णायकको भूमिकामा साहित्यकार शान्ति सापकोटा थिइन्।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, वरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल, नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह, महाशाखा अधिकृत ईन्द्र दहाल लगायत शिक्षक उमेश अधिकारी, श्याम संकल्प तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell