PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

छाडा चौपायाका कारण जोखिमपूर्ण बन्दै बुटवलका सडक : नियन्त्रणमा सकस, के गर्दैछ उपमहानगर?



रमेश पराजुली

छाडा चौपायाका कारण जोखिमपूर्ण बन्दै बुटवलका सडक : नियन्त्रणमा सकस, के गर्दैछ उपमहानगर?

बुटवल : चिटिक्क र फराकिला सडकले सुन्दर बनेको बुटवलमा वषौँदेखिको छाडा पशु चौपायाको समस्या भने झन् बढ्दो छ। मुख्य सडक होस् वा भित्री, जताततै छाडा चौपाया उस्तै देख्न सकिन्छ।

सडकका डिभाइडर र बिच सडकमै छाडा चौपाया अड्डा जमाएर बस्दा दुर्घटनाको जोखिम त बढेको छ नै सर्वसाधारणलाई समेत हिँड्डुल गर्न समस्या हुने गरेको छ। शहरी क्षेत्रमा छाडा चौपाया नियन्त्रणको विषय सधैँ पेचिलो बन्ने गरेको छ।

बजार क्षेत्रमा अनियन्त्रित रुपमा आउने छाडा चौपायाले सडकमा दुर्घटना बढ्नुका साथै शहरको व्यवस्थापनमा समेत बाधा पुर्‍याउने गरेका छन्। सडकमा छोडिएका चौपाया व्यवस्थापनकै लागि स्थानीय सरकारले बर्सेनि लाखौँ बजेट छुट्याएर काम गरेपनि समस्या समाधानतर्फ उन्मुख हुनुको सट्टा बढ्दै गएको छ।

छाडा चौपाया व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले यसअघि गरेका प्रयासहरू असफल जस्तै हुँदा समस्या झन् बढ्दै गएको हो।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफ्नो चुनावी घोषणा पत्रमा छाडा चौपाया व्यवस्थापनको मुद्दालाई प्राथमिकताका साथ राखेका थिए। छाडा चौपाया व्यवस्थापनका लागि नयाँ कार्यविधि बनाएर काम सुरु गर्न लागिएको उनले जानकारी दिए।

‘छाडा पशु चौपाया व्यवस्थापनका लागि सामूहिक प्रयास अपरिहार्य छ’, उनले भने, ‘स्थानीय तहले विगतदेखि नै छुट्टाछुट्टै रुपमा पशु चौपायाको व्यवस्थापनका लागि काम गर्दै आएका छन्, एउटा पालिकाले पशु चौपाया नियन्त्रण गर्न जति प्रयास गरेपनि त्यो सार्थक भएको देखिएको छैन।’

‘बुटवलमा बाहिरबाट आएका पशु चौपाया धेरै छन्। यहाँका पशु चौपायाको व्यवस्थापन गरेर मात्रै यो समस्या समाधान हुँदैन एक दिनमै छिमेकी पालिकाबाट सजिलै यहाँ आइपुग्ने भएकाले बुटवलको एक्लो प्रयासले व्यवस्थापनमा समस्या भएको छ’, उनले थपे, ‘छाडा चौपायाको दिगो व्यवस्थापनका लागि शिवनगरको गौं संरक्षण केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारीमा छौँ।’

प्रदेशभर कै छाडा चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले नेतृत्व लिने गरी पूर्व-पश्चिम राजमार्गको कपिलवस्तुमा गौ संरक्षण केन्द्र सञ्चालन गर्ने विषयमा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीसँग छलफल भएको थियो। तर सरकार परिवर्तनसँगै यसको काम अघि बढ्न सकेन।

छाडा पशु चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने बुटवल उपमहानगरले बताउँदै आएको छ। प्रत्येक दिन बढ्दै गएको पशु चौपायाको संख्या देख्दा लाग्छ व्यवस्थापन सजिलो छैन।

स्थानीय तहले चौपाया व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन नसक्दा सधैँजसो यो समस्या बल्झिरहेको छ। चौबीसै घण्टा व्यस्त हुने पूर्व-पश्चिम राजमार्ग र उत्तर-दक्षिण सिद्धार्थ राजमार्गमा छाडा चौपाया बस्ने र हुल बाँधेर उभिने गर्छन्।

पशु चौपायाका कारण कयौँ नागरिक दुर्घटनामा परिसकेका छन्। तीव्र गतिमा सवारी गुड्ने राजमार्गमा छाडा चौपायाले अखडा बनाउँदा कैयौँको यात्रा गन्तव्यमा नपुग्दै अन्त्य हुने गरेको हो।

कतिले अकालमा ज्यान गुमाए, कति अंगभंग भए। अर्कोतर्फ शहरको सुन्दरीकरण ह्रास हुँदै गएको छ। बेला बखत व्यवस्थापनको लागि कुरा चल्ने गरेपनि ठोस् र अन्तिम उपायको टुंगो लाग्न सकेको छैन।

बुटवल उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि दुई वर्षअघि वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक वनमा ‘नन्दिनी गौ संरक्षण केन्द्र’ निर्माण गरेको थियो। तत्कालीन नगरप्रमुख शिवराज सुवेदीले भविष्यमा गौ अनुसन्धान केन्द्र, पञ्चगव्य उत्पादन र अध्ययन स्थलका रुपमा विकास गर्ने अवधारणासहित गुरुयोजना बनाएर गौ संरक्षण केन्द्र स्थापना गरिएको बताएका थिए।

करिब ८ बिगाहा क्षेत्रफलमा यस क्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धान स्थल स्थापना भएको भनेर दाबी गरिएपनि अझैपनि पूर्णरुपमा सञ्चालन हुन सकेको छैन। गाईवस्तुको रेखदेख र संरक्षण गर्ने जिम्मा लिएको शिवनगर सामुदायिक वन समितिमा नेतृत्व परिवर्तन भएसँगै नयाँ समितिले नगरपालिकालाई नै त्यसको जिम्मेवारी दिएर बाहिरीएपछि समस्या झन् बढेको छ।

अहिले गौ संरक्षण केन्द्रमा ६०/७० वटा मात्रै गाईगोरु रहेको बुटवल उपमहानगरपालिकी सूचना अधिकारी तुल्सा अर्याल बताउँछिन्। छाडा चौपायालाई धपाएर खोला र नजिकैका वन क्षेत्रमा छोड्ने गरिएपनि पुनः ती चौपाया फर्केर आउने गरेको स्थानीय बताउँछन्।

बढ्दो गर्मी र वनमा खानेकुरा र पानी नपाउँदा पशु चौपायाहरु घरघर र पसलमै आउने गरेको बुटवलका व्यवसायी श्याम पन्थीले बताए।

‘खानेकुराको खोजीमा भौतारिएका पशु चौपायाहरु हुल बाँधेर आउँछन्,’ उनले भने।

कहिलेकाहीँ पसल अगाडि राखेको तरकारी नै तानेर खाने गरेको उनले बताए।

‘एकदुई वटा मात्र आउने भए केही खानेकुरा दिनपनि सकिन्छ तर दिनदिनै हुल बाँधेर आउँछन्, सबैलाई खानेकुरा दिनपनि सम्भव हुँदैन’, पन्थीले भने, ‘अझै पनि छाडा चौपाया व्यवस्थापनमा ध्यान नदिने हो भने भोलिका दिनमा यसले भयावह स्थिति ल्याउन सक्छ।’

सडकको बिचमै बस्ने पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको अटो चालक गणेश कार्की बताउँछन्। बुटवलका मुख्य सडकहरुमा बस्ने पशु चौपायाहरु धपाउन ट्राफिक प्रहरीलाई पनि हैरानी हुने गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले छाडा पशु चौपायाका विषयमा बुटवल उपमहानगर र सरोकारवालाहरुबिच धेरैपटक छलफल भएपनि प्रभावकारी व्यवस्थापन हुन नसकेको बताउँछन्। उनले सडकमा दुर्घटना बढ्नुको एउटा कारण पशुचौपाया पनि भएको बताए। दिउँसोको समयमा भन्दा रातिमा दुर्घटनाको जोखिम बढी रहेको उनको भनाइ छ।

‘दिउँसो जंगलमा गएका पशु चौपाया पनि रातको समयमा बास बस्न सडकमा आउने गरेको देखिएको छ’, उनले भने, ‘सवारीको गति पनि राति नै बढी हुन्छ, चौपाया नदेखेर वा नजिकै पुगेपछि मात्रै चौपाया देख्दा सवारी रोक्न नसकेर दुर्घटना हुने गरेको छ।’

ट्राफिक प्रहरीले छाडा चौपाया व्यवस्थापन गर्ने प्रयास गरिरहेको भएपनि समस्या समाधान हुन सकेको छैन।

‘ट्राफिक प्रहरीले गोठालाले जस्तै लौरो लिएर गाईगोरु धपाउँदै हिँड्नुपर्ने अवस्था छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने।

के गर्दैछ बुटवल उपमहानगरपालिका?

बुटवलका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि शिवनगरस्थित गौ संरक्षण केन्द्रलाई थप व्यवस्थित गर्ने काम भइरहेको जानकारी दिए।

‘छाडा चौपाया व्यवस्थापनका लागि नगरले छुटै योजना बनाएर काम सुरु गरेको छ। गौशालालाई थप व्यवस्थित बनाउन कार्यविधि बनाइसकेका छौँ, सानो त्रुटिले केही समय ढिलाइ भएको हो, अहिले समस्या समाधान भइसकेकाले अब तत्काल काम अघि बढ्छ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाको लागत र शिवनगर सामुदायिक वनले व्यवस्थापन गर्ने गरी गौ संरक्षण केन्द्र सञ्चालनका लागि छलफल भइरहेको छ। वन समितिले गौशाला सञ्चालनको जिम्मा नलिएको अवस्थामा नयाँ टेण्डर प्रक्रियाबाट भएपनि छाडा चौपाया व्यवस्थापनको काम अघि बढ्ने उनले बताए।

‘छाडा चौपायाको समस्या अनियन्त्रित भइसकेकाले नयाँ टेण्डर प्रक्रियामै जाने अवस्था आएमा कम्तिमा १५/२० वर्ष गौ संरक्षण केन्द्रको जिम्वेवारी लिने सम्झौता गरी काम गर्छौँ,’ उनले भने।

दुध दिँदासम्म गोठमा बाँध्ने र दुध दिन छाडेपछि गाईलाई सडकमा ल्याएर छाड्ने प्रवृत्तिले समस्यालाई थप जटिल बनाएको पन्थीले बताए।

‘छाडा चौपाया किसानबाटै सिर्जित समस्या हो। यसको नियन्त्रणका लागि किसानहरु पनि जिम्वेवार हुनुपर्छ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख झविन्द्र बन्जाडेले शिवनगरस्थित गौ संरक्षण केन्द्रलाई आवश्यक जग्गा थप गर्ने र नयाँ समितिले कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए।

‘बुटवलका सबै छाडा पशु चौपायालाई गौ संरक्षण केन्द्रमै व्यवस्थापन गर्नेगरी काम भइरहेको छ। यसका लागि जिल्ला वन कार्यलयसँग पनि समन्वय गरेका छौँ,’ उनले भने।

नगरपालिकाले शिवनगरको गौ संरक्षण केन्द्र व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ छुट्याएको थियो। यसका साथै देवदहको भलुहीमा रहेको गौशालाका लागि पनि उपमहानगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको थियो।

आगामी आर्थिक वर्षको बजेटमा पनि गौ संरक्षण केन्द्र व्यवस्थापनलाई २५ लाख रुपैयाँ छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ। बिरामी परेका पशु चौपायाहरुलाई भलुहीमा लगेर उपचार गर्दै आएको पशुपंक्षी विकास शाखा प्रमुख बन्जाडेले बताए।

‘सामान्य समस्याको यही उपचार हुने भएपनि जटिल समस्या भएका पशु चौपायालाई भलुहीमा रहेको गौशालामा लगेर उपचार गर्छौँ,’ उनले भने।

प्रदेशभरिका छाडा पशु चौपायाहरूको दीर्घकालीन व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्ने अवधारणाअघि सारेको उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए।

‘यो सबै पालिकाको साझा समस्या भएकाले दीर्घकालीन समाधानका लागि जिल्ला र प्रदेशका अन्य पालिकाहरुसँग पनि समन्वय गरिरहेका छौँ,’ उनले भने।

प्रदेश सरकारसँग समन्वय गरी दाउन्नेदेखि लमहीसम्म कुनै एक ठाउँमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न सकेमा सबै पालिकामा छाडा पशु चौपायाको समस्या समाधान गर्न सकिने उनको भनाइ छ।

‘यसका लागि बुटवल उपमहानगरपालिका नेतृत्व गरी काम गर्न तयार छ,’ उनले भने।

कानुनले छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। नेपालको संविधानको स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद-३ अन्तर्गत दफा-११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ। तर यहाँका स्थानीय सरकारले भने व्यवस्थापनमा सक्रियता देखाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell