‘जुनुन, बेवकुफी र आँट'
अहिले मलाई यी तीन शब्द जीवनबाट धमिलिँदै गएको अनुभूति हुन्छ। एउटा समय थियो केही नसोची 'जो होगा देखा जाएगा' भनेर काम गरिन्थ्यो। र, हिँडिन्थ्यो त्यसरी नै। सायद, १९/२० वर्षे उमेरमा सबैलाई मलाई जस्तै हुँदो हो।
फोटो अर्काइभिङ ध्वस्तै भएकोले ५/६ वर्ष अघिदेखि खिचेका फोटो मिलाउँदै थिए। अस्तव्यस्त अर्काइभ मेरोमात्र समस्या होइन, सबै फोटो पत्रकारको हो। केही दिन अघि त्यसैलाई सुधार्दै थिएँ - करिब ४ वर्ष अगाडिको एउटा फोल्डर भेटियो - 'बिटर सुगर'।
शब्दको ठेट अर्थ फरक भए पनि भाव चाहिँ चिनीको तीतो। केही फोटो भेटेँ। चार वर्ष अघि आफैँले खिचेको दृश्य देखेपछि सिनेमाका पर्दामा झै स्मृतिमा दोहरिए घटनाका प्लटहरु। ठ्याक्कै फिल्मी।
सन्दर्भ त्यतिखेरको हो जतिबेला काठमाडौंमा उखु किसान आफ्नो पैसा भुक्तानीको माग गर्दै धर्नामा उत्रिएका थिए। सर्लाही, सिरहा लगायतका जिल्लाबाट आएका किसानको चर्कै चलिरहेको थियो आन्दोलन। त्यही आन्दोलनले जगायो जिज्ञासा। अनि हिँडे राम विलास महतो सँग उनको गाउँ (त्यहाँ पुगेपछि विलास महतोलाई म काका बोलाउन थालेँ)।
डेटलाइन - सिसोटिया।
सर्लाहीको मलङ्गवाबाट झण्डै दुई घण्टा रिक्सा चढेर पुगिने ठाउँ। दुरी भने १३ किलोमिटर जतिमात्र। बिग्रिएको ग्राभेल र धुलोले देहातको यात्रा कहिल्यै नसकिनेजस्तो।
गुलियो चिनीको तीतो कथाका लागि झन्डै एक महिना बसेँ यही सानो गाउँमा। दृश्यमा उतार्नुपर्ने कथाका लागि पृष्ठभूमि बनाउन धेरै समय लाग्छ। धेरैलाई लाग्छ फोटो त देखेको क्लिक गरे पुगिहाल्यो। थोरै छन् दृश्यको भाव बुझ्ने। ती भावहरु बुझ्न र तिनलाई क्यामराले कैद गर्न यहाँको बसाई लम्ब्याउनै पर्थ्यो। अनि त्यही बसाईमा बने नयाँ सम्बन्धहरु। जोडिए अविस्मरणीय यादहरु। किनकि म पहिलो पटक नितान्त फरक धरातलमा उभिएको थिएँ।
काठमाडौं उपत्यकामा हुर्केका मेरा लागि मधेश आफैँमा नयाँ थियो। परिवारबाट यसरी टाढा पनि पहिलो पटक भइरहेको थिएँ। सिधै उखु किसानको परिवारसँगै बस्न पुगेको थिएँ। मेरा लागि सबै अलग थियो - रहनसहनदेखि भाषासम्म। तर नयाँ जीवनको अनुभव गर्न उत्तिकै उत्सुक थिएँ। त्यही बेलाको एउटा रोचक घटनालाई सम्झाइदिएको हो – अर्काइभ फोटोले।
२०७६ माघ २५ गते।
राम काका र उनको परिवारसँग बसेको आधा महिना भइसकेको थियो। त्यसबिचमा म पूरै गाउँलेसँग घुलमिल भइसकेको थिएँ। त्यहाँका किसानसँग कतिखेर कुरा हुन्थ्यो र कतिखेर फोटो क्लिक थाहा हुँदैन थियो। किसानको कथा बुझ्नु र त्यसलाई दुरुस्त स्टिल सटमा उतार्ने काम सहज थिएन।
उखु किसान कुन तहको समस्यामा रहेका छन् भन्ने बल्ल त्यहाँ पुगेपछिमात्र मलाई थाहा भयो। पूरै गाउँलेको चिनी मिलहरुले पैसा भुक्तानी गर्न बाँकी रहेछ। मिलमात्र होइन सरकारबाट पाउने अनुदान पनि उधारै रहेछ। किसानको थाप्लोमा ऋणमाथि ऋण। पैसा आउने बाटो सबै बन्द। छोराछोरीको बिहे होस् या पढाइको खर्च, सबै ऋणमै।
यता काठमाडौंमा आन्दोलन चलिरहेको छ। आन्दोलनमा उत्रिने केही टाठाबाठा नै हुने भएकाले म उनीहरुभन्दा फरक पात्रको दिनचर्याको खोजीमा थिएँ। आन्दोलनभन्दा खेती गरेर सकसपूर्ण जीवन गुजारिरहेका किसानहरुसँग नजिक रहन चाहन्थेँ। फसेको पैसाका कारण चिन्ताले डुबेका उनीहरुको अनुहारको भाव बुझ्न चाहन्थेँ।
विलाश काका साँझ आलु रोपेको खेत गोड्न जान्थे। म पछिपछि लाग्थेँ। जति उनीहरुसँग नजिकिन्थेँ म त्यति धेरै सूचनासँग जोडिन्थेँ। ती सूचनाबाटै म मेरो कथाका दृश्य कल्पन्थेँ।
किसान उखु लिएर मिलमा लैजाँदा दुई दिन त लाइनमै बिताउँदा रहेछन्। लगेको उखुको तौल लिएर क्रेनसम्म उनीहरुले नै पुर्याउनुपर्ने रहेछ। चिनी उद्योग आफैँमा अनकन्टार ठाउँमा। दुरदुरसम्म न बस्ती न बासको आश। चिसो होस् या झरी खुला मैदानकै भर रहेछ किसानहरुका लागि। माइतीघरमा दिने धर्नाका दृश्य उतारेर उनीहरुको भोगाइलाई बुझ्न सकिन्न रहेछ भन्ने पक्का भयो।
गाउँका ठाकुरले अपरेसनल म्यानेजरको नम्बर दिए। अनि जानु अघि नै ‘कल’ गर्न सुझाए। मैले ‘हस्’ त भने तर त्यसै चाहिँ गरिन्।
म मिलमा गएर फरक फोटो खिच्न चाहन्थेँ। दिनको उज्यालोमा होइन रातमा। मिल कहाँ र कति टाढा छ मलाई थाहा थिएन। राम काकाका कान्छा छोरा कृष्ण मलाई मिलसम्म पुर्याउन तयार भए।
‘यति राति मिलमा गएर चाहिँ कता बस्छौ तिमी?’ उनले सोधेका थिए।
‘केही न केही जुगाड भइहाल्ला नि,’ मेरो जवाफ।
स्लिपिङ ब्याक बोकेँ। क्यामरा र ट्राइपड त हुने नै भयो। सुनसान रात। तराईको आँखाले नभ्याउने फाँट। अनि यामाहा कम्पनीको टू स्ट्रोक ‘आरएक्स १००’। चर्को आवाज निकाल्दै कृष्णले हुइँक्याए।
जति अघि बढ्यो मनमा डर थपिँदो थियो। कृष्णलाई पनि मेरो चिन्ता। अनि मलाइ पनि।
कूल ३० मिनेट सुनसान बाटो पार गरेपछि टाढैबाट मिल देखियो। ठूलो फाँटमा सानो लाग्यो मिल। तर जति नजिक गयो त्यसको आकार बढ्दै गयो। के कसो बिचमा कुराकानी समेत भएन हाम्रो। चिनी मिल पुगियो।
‘म्याकुरी! कति ठूलो हो!’
मिलको छेउ पुगेपछि मेरो प्रतिक्रिया यही थियो।
‘दाइ तपाईँ जानुस्। यहाँबाट म आफैँ जान्छु,’ मिलभन्दा वरबाटै म एक्लै अगाडी बढेँ।
बाहिरबाट दृश्यहरु रेकर्ड गर्न थालेँ। मिलबाहिर एउटा पानको दुकान थियो। मैले चुरोट मागेँ। चुरोटसँगै उनले प्रश्न गरे – कहाँबाट आएको?
‘काठमाडौं।’
‘किन?’
‘उखु किसानको आन्दोलन छ। किसानको कुरा खिचिसकेँ। अब उद्योगको खिच्न पर्यो भनेर आएको।’
पान पसलमा मेरो कुरा ध्यान दिएर सुनिरहेका एक अर्का व्यक्तिले सोधे – ‘राति सुत्नुहुन्छ कहाँ?’
सुत्ने ठेगाना थिएन।
‘हेरौं, स्लिपिङ ब्याग छ। यतै किसानहरुसँग ट्याक्टरनेर सुत्छु।’
सोधखोज गर्ने व्यक्ति मिलको गेट व्यवस्थापन गर्ने व्यक्ति रहेछन्। निक्कै सज्जन। भन्छन् नि – ढुंगा खोज्दा देउता मिल्यो।
‘म यताको इन्ट्रान्स गेट म्यानेजर हुँ। तपाईँलाई मन छ भने मसँग बस्नुस्। एउटा खटिया र ओढ्ने नि छ।’
यता आउँदै गर्दा केही बेरअघिसम्मको त्रास एकाएक गायब भयो।
‘अनि तपाईँको नाम?’ मैले सोधे।
‘दीपेन्द्र यादव।’
केहीबेर उनीसँग कुराकानी गरेर उनको कोठामा ब्याग थन्क्याएँ।
‘फोटो खिच्न कोहीसँग सोध्नु पर्छ?’ सोधेँ।
‘केही हुन्न ढुक्कसँग खिच्नुस्,’ उनले भने।
कोठामा पुर्याएर उनी आफ्नो ड्युटीतिर लागे, म मेरो।
ट्राइपड सेट गरेँ। फोटो खिच्न थालेँ। मलाई कुनै हलिउड फिल्मको सेटमा पुगेजस्तै अनुभूति भइरह्यो। सुनसान ठाउँ। आँखाले भ्याउने ठाउँ जता हेरे पनि ट्र्याक्टर र बयलगाडाको ताँती। हलिउडको फिल्म ट्रान्सफर्मरमा देखिने स्टिल स्ट्रक्चरजस्तो भयानक कायको संरचना। अनि माथिबाट छुटिरहेको कालो मुस्लो। जति भित्र गयो उति बोइलरबाट निस्केको आवाज बढ्दो।
डेढ घण्टा जति फोटो खिचेँ। फरक एङ्गलमा। फरक फ्रेममा। क्यामरा मिलतिर सोझ्याएर फ्रेमिङ गरिरहँदा दुई जना मानिस दौडिँदै आइरहेको देखेँ। म उनीहरुलाई नै हेरिरहेँ- किन दौडिए होलान्?
मैले सोचेको थिइन - उनीहरु मतिरै दौडिरहेका रहेछन्।
‘कौन हे तु? काहे आए इधर? ’ लगालग प्रश्न।
मैले आफ्नो कुरा भनेँ तर उनीहरु बुझ्न तयार थिएनन्।
उनीहरु त निक्कैबेरदेखि खोजिरहेका पो रहेछन्। र, मलाई नै छोप्नका लागि पो दौडिएका रहेछन्।
एकजनाले मेरो ट्राइपोड उठाए। अर्काले मलाई समाते।
‘तु क्यु इधर फोटो खिच रहा है? एक घण्टे से हम तुजको ढुंड रहे है।’
उनीहरुको जीएमले बोलाएको भन्दै मलाई समाते।
‘सिट जस्ट गट रियल’ - ठ्याक्कै यही सम्झेँ। सबै अप्रत्यासित। अनपेक्षित। पूरै थ्रिलिङ।
डरको पारो कति माथि पुग्यो होला? अन्दाज गर्नुस् न!
खैर, यहाँसम्म एक्लै आउने आँट गरेकै हो। जे त पर्ला भन्ने सोचेँ।
जे भइरहेको थियो, हिन्दी फिल्ममा देखिएका प्लटभन्दा फरक थिएन। जसले मलाई समातेर लगिरहेका थिए उनीहरु ‘खौफनाक डाँकु’ जस्तै लागिरह्यो। उनीहरुले मलाई जीएमको कार्यालयमा पुर्याए।
गन्जी र ट्र्याक लगाएका एकजना व्यक्ति देखिए। उनीसँग अरु केही मानिसहरु पनि थिए हतास र अन्यौलपूर्ण अवस्थामा। बुझिहालेँ उनीहरु मेरै प्रतीक्षामा छन्। सबै अर्धनिन्द्राबाट अत्तालिँदै त्यहाँ उपस्थित भएको बुझ्न कठिन थिएन।
जीएम निक्कै अग्ला। अन्दाज गरेँ ६.५ फिट होला यिनको उचाई। उचाई र चुच्चे जुँगा देखेपछि बलिउडको कुनै पहलमानको झल्क आउने - ठ्याक्कै।
‘सरी। मैले खबर नै नगरी काम गर्न थालेँ।’
उनले केही भन्नुअघि नै म अघि सरेर बोलेँ। आफ्नो परिचय दिएँ।
‘क्यु आए हो आप?’
लबजले बुझिहाले उनी भारतीय मूलका रहेछन्। देहाती टोन खासै थिएन। उनको बोलीले थोरै हिम्मत बढायो। चिनी मिलले किसानलाई पैसा नदिएको कुरा मनमा छ। तर यहाँ बोल्न त मिलेन। कूटनीतिक शैलीमा बोल्नुपर्छ भन्ने थियो तर जे भइरहेको थियो दिमागले के जवाफ दिने भन्ने 'प्रोसेस' गर्न सकिरहेको थिएन।
‘सबै किसानको कुरा सुनेँ। मिडियामा उनीहरुले साइडको कुरामात्र आएको छ। चिनी मिलको पक्षमा केही आएको छैन। त्यही भएर म आफैँ बुझ्न आएको हुँ।’
उनलाई मेरो जवाफ चित्त बुझेको थिएन। बुझोस् पनि कसरी? रातको समय जो छ।
‘और इस समय क्यु आए हो?’
जवाफ दिन मात्रै के खोजेको थिएँ एक हुल मानिस हामीतिरै दौडेको देखेँ। सबैको ध्यान त्यतैतिर गइहाल्यो। कम्तिमा १५ जना आइरहेका थिए। उनीहरु कोही हिन्दी त कोही देहातीमा चिच्याइरहेका थिए।
‘कोही आए है काठमाडौं से, फोटो खिछ रहा है’
मलाई जीएमसँग देख्ने बित्तिकै झन् आक्रामक देखिए उनीहरु। माहोल निक्कै गर्मिसकेको थियो। झलक्क सम्झिएँ ठूला बाले भनेको - ‘सर्लाही त एकदमै डरलाग्दो ठाउँ हो। मलाई झन्दै अपहरण गर्न लागेका थिए।’
ठूला बाले जे भने ठ्याक्कै त्यही अवस्था। मिलमा जे भइरहेको थियो म त डराएकै थिएँ। मभन्दा धेरै डराइरहेका रहेछने मेरै छेउमा रहेका जीएम। एक्कासी उनले मलाई आफ्नो कोठाभित्र हुले। र, लगाइदिए बाहिरबाट चुकुल।
के भइरहेको छ थाहा छैन। चर्को आवाज सुनिरहेको छु। थुनिएको छु भित्र। सधैं आफूलाई नास्तिक मान्ने मैले त्यतिखेर भने भगवानको नाम लिएँ। मनमा पनि भगवान। मुखमा पनि। भगवानको खोजी यस्तै बेला हुने रहेछ जतिसुकै नास्तिक भए पनि।
म थुनिएको छु कोठाभित्र। बाहिर चर्को आवाज चलिरहेकै छ। कति समय थुनिएँ थाहा छैन तर घण्टौं थुनिए झै अनुभूति भइरह्यो। पूरै असमन्जस्य हालत। बाहिर आवाज मत्थर हुँदै गयो। अनि घरक्क खुल्यो ढोका।
‘सरी।’ जीएम बोले।
अनायसै आएको भिडले जे पनि गर्न सक्ने भन्दै उनले मलाई भित्र ठेलेर ढोका लगाएका रहेछन्। त्यही भिडकै कारण रोकिएको प्रश्न उनले अघि सारे।
‘और इस समय आप क्यु आए हो?’
मैले सोझो जवाफ फर्काएँ - ‘दिउँसो भन्दा राति फोटो राम्रो आउँछ कि भनेर।’
मेरो जवाफ सुनेर मुर्छा पर्ने गरि उनी हाँस्न थाले। म पनि ङिच्च मुख पारेँ। हाँसे झै देखाएँ।
भएको के रहेछ भने - एकजना कामदारले काठमाडौंबाट सरकारी जासुस मिलभित्र छिरेको हल्ला फैलाएछ। र, हल्ला यसरी फैलिएछ कि सबको निंद हराम। जीएमदेखि सुरक्षामा खटिएकासम्म। मलाई समात्नेदेखि बाहिरबाट मानिस बटुलेर आक्रमण गर्ने तयारी भइसकेको रहेछ। थाहा पाएँ - जासुस छिर्यो भने मिलमा के हुन्छ?
यस्ता सबै कारण सुनेपछि म खुलेर हाँसे। जीएमले चिया अफर गरे। राति १ बजे कालो चिया। केहीछिन अघिको महाभारतपछि सौहार्दतासहित चियाको चुस्की। ओहो ! छुट्टै स्वाद। बिछट्टै मीठो।
जीएमसँग केहीबेर कुराकानी भयो। संयोग नै परेछ उनका छोरा पनि फोटोग्राफी पढ्दै रहेछन्। एकछिन भलाकुसारीपछि उनले साइट इन्जिनियलाई बोलाए। र, निर्देशन दिए मलाई मज्जाले घुमाउन।
रात १ बजेपछि सुरु भयो मेरो मिलको टुर। मेसिन कसरी चल्छ। चिनी कसरी बन्छ। काम कसरी हुन्छ। सबै हेरेँ। फोटो लिए। अनि ब्याग राखेको ठाउँ पुगेँ र सुतेँ। अहिलेसम्मको जीवनको सबैभन्दा लामो रात त्यही रह्यो मेरा लागि। लामो तर यादगार। अनि सबैभन्दा त्रासदीपूर्ण र भयभित पनि।
थोरै आँट, थोरै वेवकुफी र केही फरक गर्ने जुनुन्। त्यसैले निर्माण गर्यो - स्मृतिमा सधैं बसिरहने एउटा घटना।