PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु



पहिलोपोस्ट

पीडित पक्ष र अस्पतालबिच सहमति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु

बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो।

पीडित पक्ष र अस्पतालबिच भएको वार्तामा सहमति जुटेपछि अस्पतालको सेवा सुरु भएको हो। सहमतिपछि मृतक बालकका आफन्तले विरोधका कार्यक्रम रोकेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले पीडित पक्ष र अस्पतालबिच सहमति भएको जानकारी दिए । घटनाको छानबिन गर्न घोराही उपमहानगरपालिका-३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। छानबिन समितिमा प्रतिष्ठानबाट एक जना चिकित्सक, मृतकका आफन्त दुई जना, जिल्ला प्रशासनबाट एक जना, उपमहानगरको स्वास्थ्य शाखाबाट एक जना र राजनीतिक दलबाट एक जना सदस्य रहेका छन्।

त्यस्तै, बालकको उपचारको क्रममा लागेको खर्च प्रतिष्ठानले नलिने भएको छ। शैक्षिक योग्यता अनुसार मृतकका परिवारका एकजनालाई रोजगारी दिने, पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाएर आर्थिक संकलन गरिने पनि सहमति भएको छ।

छारे रोगको उपचारका लागि प्रतिष्ठानमा आएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षीय आक्रोश नेपालीको गत बिहीबार मृत्यु भएको थियो। उपचारका क्रममा अक्सिजनको सिलिन्डर विष्फोट भएपछि उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको थियो।

प्रतिष्ठान र चिकित्सकको लापरबाहीले बालकको मृत्यु भएको भन्दै परिवारजन र स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell