PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?



पहिलोपोस्ट

आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?

काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ।

‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वत: घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने।

उनका अनुसार पूर्ण स्वचालित मूल्य प्रणाली लागू गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरि मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्नेगरि मूल्य बढाउने व्यवस्था हुन्छ। यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने उनले बताए। तर यो नाफा एलपी ग्यासमा भने नराखिने उनले बताए।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागू गर्न लागिएको हो। यस विषयमा कसरी गर्ने भन्ने लगायतका कुराहरुमा निगम संचालक र निगमका महानिर्देशक उमेश थानी लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले प्रधानमन्त्रीसँग समेत छलफल गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचालित मूल्य लागू गर्न ग्रिन सिग्नल दिएपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य आइतबारबाटै लागू गर्ने तयारीमा निगम पुगेको ती कर्मचारीले बताए। 

बजार व्यवस्थापन विभागका नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतले पनि यसमा निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य जति बढेर आउँछ त्यति बढाउने र जति घटेर आउँछ त्यति घटाउने गरि स्वचालित मूल्य लागू गरिने बताए। उनले आइतबारबाटै उक्त स्वचालित मूल्य लागू हुने बताए।

‘यसमा अबदेखि २० रुपैयाँ बढेर आउछ भने २० रुपैयाँ नै बढ्छ। २० रुपैयाँ घटेर आउछ भने २० रुपैयाँ नै घट्छ,’ उनले भने।

चौतर्फी रुपमा स्वचालित मूल्य कायम गर्न दबाब आएपछि यस्तो गर्न लागिएको उनी बताउँछन्। अबदेखि निगमले मूल्य निर्धारण गर्ने भन्दा भारतबाट आउने नयाँ मूल्यसूचीले नेपालको पेट्रोलियम पदार्थमा मूल्य कायम गर्न निर्भर हुने उनले बताए। केहि महिना अगाडिको जस्तो अब भने निगमले घाटा खाएर पेट्रोलियम पदार्थको मूल्य निर्धारण नहुने उनको भनाइ छ। अब जति जे आउछ त्यति नै नेपालको मूल्यमा समायोजन हुन्छ। 

निगमलाई गत १५ दिनमा १ अर्ब १० करोड नाफा  

यस्तै निगमका उपनिर्देशक मनोजकुमार ठाकुरका अनुसार निगमलाई केहीदिन अगाडि मूल्य घटाउदा पनि अझै १५  दिनमा १ अर्ब १० करोड नाफा बसेको छ।

निगमले ढुवानी भाडाका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। उक्त समय निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको थियो।

उक्त वर्ग अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म घटाएको थियो। त्यही अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ठाउँअनुसार प्रतिलिटर १६७ रूपैयाँ ५० पैसादेखि १७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १४७ रूपैयाँ ५० पैसादेखि १५० रूपैयाँसम्म कायम गरिएको थियो।

त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १.०३५ डलर मूल्य कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८०० रूपैयाँ छ।

निगमलाई घटेको मूल्य कायम रहिरहेकाले गत १५ दिनमा १ अर्ब १० करोड नाफा भएको ठाकुरको भनाइ छ। सरकारको स्वामित्वमा रहेको निगमले धेरै नाफा खाएर पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै चौतर्फी रुपमा आलोचना भएपछि निगमको संचालक समितिले मूल्य घटाएको थियो।

निगमले इन्डियन आयाल कर्पोरेशन (आईओसी) लाई उदारोमा तेल खरिद गरे वापत तिर्नुपर्ने २४ अर्ब बक्यौता केहीदिन अगाडि चुक्ता गरेको ठाकुरले बताए। उक्त बक्यौता वापतको ब्याज मात्र ४५ करोड रुपैयाँ निगमले आईओसीलाई बुझाएको ठाकुर बताउँछन्।

यस्तै तेल खरिद गर्न राष्ट्रिय वाणिज्य बैंकसँग निगमको टेकुमा रहेको जग्गा राखेर लिएको ३ अर्ब रुपैयाँ ऋण पनि निगमले चुक्ता गरिसकेको ठाकुर बताउँछन्।

यसैगरी, अर्को सरकारसँग लिएको ७ अर्ब रुपैयाँ ऋणको पनि हालसम्म ७० करोड रुपैयाँ पहिलो किस्ता वापत बुझाइएको ठाकुरले बताए। निगमले सरकारसँग लिएको उक्त ऋण वर्षको २ किस्ता गरेर तिर्ने गरेको उनको भनाइ छ। जसमा पहिलो किस्ता वापत गत मंसिरमा ७० करोड रुपैयाँ तिरेर ६ अर्ब ३० करोड रुपैयाँ हुन आएको उनले बताए।

यस्तै यही असारमसान्तसम्ममा सरकारलाई निगमले ३ अर्ब ३० करोड बुझाउने तयारी गरिएको उनको भनाइ छ। उनले यो पैसा बुझाएपछि निगमलाई सरकारको ३ अब रुपैयाँ मात्र हुने उनको भनाइ छ।

सरकारसँग लिएको उक्त ऋण रकमको ब्याज वापत १५ करोड रुपैयाँ पनि निगमले तिर्नुपर्ने ठाकुर बताउँछन्। त्यसैले यो असारमसान्तको दोस्रो किस्ता बुझाएपछि ५ अर्ब ७५ करोड रुपैयाँ बाँकी हुने ठाकुरको भनाइ छ।

ठाकुरका अनुसार उधारोमा तेल खरिद गर्न चलाइएका अन्य मूल्य स्थिरिकरण कोषको २१ अर्ब ५० करोड रुपैयाँ, एयरलाइन्स र तेल बिक्रेता पम्पहरुको धरौटी वापतको जम्मा रहेको १ अर्ब ९५ करोड रुपैयाँ र श्रम कर्मचारी आभासमा २०७४ सम्म जम्मा गरिएको ३ अर्ब २५ करोड रुपैयाँ अझै निगमले जम्मा गर्नुपर्ने उनको भनाइ छ।  

निगमले मूल्य घटाएपछि अहिले पेट्रोल लिटरमा ८.६१ रूपैयाँ, डिजल लिटरमा ९.२ रूपैयाँ, मट्टीतेल लिटरमा २३.६२ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा २५.३६ रूपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ ४.६२ रूपैयाँ नाफा रहेको ठाकुरले बताए।

यस्तै डेढ वर्षपछि खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १०.७३ रूपैयाँ नाफामा गएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell