PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राजधानीमा ठगीको नयाँ शैली : सुन पसलेले माल गुमाएपछि बल्ल चाल पाए #Crime



सविन ढकाल

राजधानीमा ठगीको नयाँ शैली : सुन पसलेले माल गुमाएपछि बल्ल चाल पाए #Crime

काठमाडौँ : जेठ ४ गते अपराह्नको करिब ४ बजेको समय। पुरानो बानेश्वरमा रहेको शुभगुरु सुनचाँदी पसलमा एक जोडी पस्छन्। दुबै जना मिलेर एउटा १ तोलाको सुनको सिक्री हेर्छन्। मन पराएर किन्ने निधो गर्छन्।

सिक्री हेरिसकेपछि उनीहरुले ७० लालको एउटा औँठी पनि छाने। 'कति भयो साहुजी सिक्री र औँठीको?' सूर्यमणि बरालले क्याल्कुलेटर थिचेर हिसाब निकाल्छन्- ९७ हजार रुपैयाँ।

युवकले एटिएम कार्डबाट भुक्तानी गर्न खोजे। तर पसलमा एटिएम स्वाइप मेसिन भने हुँदैन। पसले चेक लिन मान्दैनन्। अब के गर्ने त?

उपाय त्यही क्रेता जोडीले निकाल्छ। 'तपाईँको बैँक खाता नम्बर दिनुस् न त, म बैँकमा पैसा जम्मा गरिदिएर आउँछु,' युवकले भन्छ। युवक बैँकतिर लाग्छ भने युवती चाहिँ सुन पसलमै बस्छिन्। 

सानिमा बैँकमा उनको खातामा चेकबाट रकम जम्मा गराएको बैँकको छापसहितको डिपोजिट स्लिप युवकले बराललाई दिन्छन्। त्यसपछि ढुक्क हुँदै उनले जोडीलाई सिक्री र औँठी दिएर पठाए।

भोलिपल्ट जब बराल बैँकमा पैसा निकाल्न जान्छन्, तब झसङ्ग हुन्छन्। हिजोको युवकले जुन बैँकको चेक डिपोजिट गराएका हुन्छन्, त्यो खातामा ब्यालेन्स नै हुँदैन।

आफू नराम्रोसँग ठगिएको चाल पाएपछि महानगरीय प्रहरी वृत्त गौशालामा उनले उजुरी दिन्छन्। प्रहरी अनुसन्धानमा जुटिहाल्छ। अनुसन्धानको पहिलो क्लु, बैँकको सिसिटिभी।

नभन्दै सिसिटिभीमा त्यो व्यक्तिको आकृति कैद भएको देखियो। त्यसैको आधारमा खोजी कार्य प्रहरीले तीव्र बनायो। अन्ततः दुई सातापछि जेठ २० गते प्रहरीको फन्दामा पर्छ २८ वर्षीय केशवसिंह भाट। उनी पहिले नेपाली सेनाका जवान थिए। 

गौशाला वृत्तका डिएसपी नवराज कार्कीका अनुसार प्रहरीको बयानमा केशवले विभिन्न सुन पसल, ठूला मोबाइल पसलमा यही शैली अपनाएर ठगी गर्ने गरेको खुलेको छ। प्रहरीले उनलाई अब ठगीको मुद्दामा कारबाही गर्न प्रक्रिया अघि बढाउँदैछ। 

यो घटना त ठगीको नयाँ शैलीको एउटा उदाहरण मात्र हो । महानगरीय प्रहरी परिसर काठमाडौमा यो वर्षमात्र १ सय ७९ वटा ठगीका मुद्दामा कारबाही भएको तथ्याङ्क छ। गएको वर्ष पनि १ सय ५२ वटा ठगीको मुददामा कारबाही भएको थियो। पछिल्लो समय राजधानीमा आफू ठगिएको भन्दै उजु्री दिनेको संख्या पनि बढ्दै गएको छ।

(यसमा प्रयोग गरिएको फोटोसँग समाचारको सम्बन्ध छैन। फोटो इबेबाट साभार गरिएको हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell