PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​Exclusive यस्तो छ लोकमानको बार्गेनिङ टुल- १३ पाने फाराम : सासुससुरादेखि सालीसम्मको विवरण आवश्यक



मनोज सत्याल

​Exclusive यस्तो छ लोकमानको बार्गेनिङ टुल- १३ पाने फाराम : सासुससुरादेखि सालीसम्मको विवरण आवश्यक

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बार्गेनिङ टुल बनेको थियो- १३ पाने फाराम।

कर्मचारीहरुलाई त्रासमा राख्न उनले यसलाई उपयोग गर्ने गर्थे, जुन १३ पाने आतंकका रुपमा चिनिन्छ। 

सर्वोच्च अदालतले आफ्नो नियुक्तिको फाइल मागेपछि उनले मुख्यसचिव सोमलाल सुवेदीलाई दबाबमा राख्न यो फाराम भराएका थिए। 

आफूले दिएको निर्देशन नमान्ने वा आफ्नो विरुद्ध बोल्ने जो कोहीलाइ कार्कीले १३ पाना लामो फारम दिदैँ भराउने गरेका थिए। १३ पानेको धेरै चर्चा भए पनि खासमा त्यसमा के के व्यवस्था छ, अधिकांशलाई थाहा छैन। 

पहिलोपोस्टलाई प्राप्त १३ पानाको सम्पति मुल्याङ्कन तथा अनुसन्धान सम्बन्धि कार्यनिर्देशिका अनुसार तयार गरिएको फारममा ४ खण्ड छन्। 

खण्ड १ मा व्यक्तिगत तथा पारिवारिक विवरण बुझाउनुपर्छ। जसमा फारम भर्नेले आफ्नो नागरिकता नम्बर मात्र भरेर पुग्दैन, बाजेको नागरिकता नम्बरदेखि सासु/ससुराको समेत नागरिकता नम्बर भर्नुपर्ने हुन्छ। त्यस्तै आफ्ना छोराछोरीको कलेजको मासिक शुल्क समेत फारममा भर्नुपर्छ। 

दाजु,भाउजु,भाइ, बुहारी तथा दिदी बहिनीको विवरण भरी उनीहरुलाई गरेको खर्च (शिक्षा, स्वास्थ्य, विवाह आदि) पनि भर्नुपर्छ। 
 
खण्ड २ मा सार्वजिनक पदधारण गर्दा स्वदेश र विदेशमा गरेको कामको विवरण बुझाउनुपर्छ। अनि त्यसैसाथ नियुक्ति, बढुवा लगायत खुलाउनुपर्छ र त्यसको प्रतिलिपि समेत अख्तियारलाई बुझाउनुपर्छ। 

त्यतिमात्र होइन देवर,साला,साली, जेठाजु,जेठी सासु र आमाजुको पनि ठेगाना र पेशा खुलाउनुपर्ने हुन्छ। उनीहरु विवाहित भए पनि विवरण भने बुझाउनुपर्छ। यद्यपि १३ पानामा उनीहरुको सम्पति विवरण बुझाउन भने भनिएको छैन। 

एकाघरमा सगोलमा बसेको परिवार भएको खण्डमा भने परिवारका सदस्यको पेशा र उनीहरुको मासिक तलब स्केल समेत खुलाउनुपर्छ। 

खण्ड ३ मा अचल सम्पतिको विवरण खुलाउनुपर्छ जसमा पैतृक सम्पतिको विवरण र अंशवण्डा भएको मितिसमेत उल्लेख गर्नुपर्छ। 

त्यसमा बेचबिखन गरेको सम्पतिको समेत विवरण खुलाउनुपर्छ। साथै स्वआर्जित सम्पतिको विवरण बुझाएर मात्र पुग्दैन, त्यसको प्रतिलिपि (घरजग्गा भए लालपूर्जाको फोटोकपि)समेत बुझाउनुपर्छ। 

खण्ड ४ मा चल सम्पतिको विवरण भर्ने स्थान छ। जसमा बैंक तथा वित्तीय संस्थामा रहेको सेयरहरुको विवरण, लकरको विवरण खुलाउनुपर्छ। आफ्नो खाता नम्बर र त्यसमा रहेको रकमको विवरण पनि भर्नुपर्छ। 

त्यस्तै सुन चाँदीको विवरण, प्राप्त गरेको मिति र मूल्य समेत खुलाउनुपर्छ। सेयर र ऋणपत्र लिएको भए त्यसको पनि बेचबिखन भएको मिति, संख्या र कारोबार भएको मितिसमेत भर्नुपर्छ। परिवारको नाममा रहेको कम्पनी भए त्यसको समेत विवरण बुझाउनुपर्छ। 

विवरणको अन्तिममा हस्ताक्षर गर्ने स्थानको माथिपट्टि लेखिएको छ – माथि लेखिएको विवरण ठीक साँचो हो। यसमा उल्लेख गरे बाहेक मैले कुनै सम्पति वा यस फारममा उल्लेख नगरेको वा लुकाएको छैन, लुकाएको वा छिपाएको प्रमाणित हुन आएमा कानून बमोजिम सजाय भोग्न तयार छु भनी दस्तखत गरि यो विवरण भरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरेको छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell