PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेविसंघमा जम्बो कार्यसमिति प्रस्ताव ११ उपाध्यक्ष, १४ सहमहामन्त्री, महाधिवेशन कहिले? #NSUElection



रमेश वाग्ले

नेविसंघमा जम्बो कार्यसमिति प्रस्ताव ११ उपाध्यक्ष, १४ सहमहामन्त्री, महाधिवेशन कहिले? #NSUElection

काठमाडौः आठ वर्षदेखि महाधिवेशन नगरेको नेपाल विद्यार्थी संघले लामो समयपछि संगठन पुनरसंरचनासहित अधिवेशनको तयारी थालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा नेविसंघ अध्यक्ष रञ्जीत कर्णले संगठन पुनसंरचनाको प्रस्ताव सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व र महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्।

असारभित्र अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुले दिएको चर्को दवावपछि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष रञ्जीत कर्णले दुईवटा मिति प्रस्ताव गरेका छन्। पहिलो आगामी असार २८ देखि ३० सम्म र दोस्रो साउन २२ देखि २४ गतेसम्म। आगामी असार २२ देखि साउन ११ सम्म त्रिभुवन विश्वविद्यालय स्नातक तह दोस्रो वर्षको परीक्षा भएकाले त्यो समयमा नगर्ने गरी उनले साउनको पनि मिति अघि सारेका हुन्।

'अध्यक्षज्युले असार २८ देखि गर्ने गरी र साउन २२ देखि गर्नेगरी दुईवटा मिति प्रस्ताव गर्नुभएको छ' नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने, 'त्यसका विषयमा अब केन्द्रीय समितिले निर्णय गर्ने हो छलफल भइरहेको छ।' उनले अध्यक्ष कर्णले मितिसँगै महाधिवेशनका लागि काठमाडौ,चितवन, विराटनगर र पोखरा गरी चार स्थान प्रस्ताव गरेको जानकारी दिए।

जम्बो कार्यसमिति प्रस्ताव

महाधिवेशनको मिति तय गर्न बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष रञ्जीत कर्णले जम्बो कार्यसमितिको प्रस्ताव लगेका छन्। ११ उपाध्यक्ष, १४ सहमहामन्त्री र प्रत्येक प्रदेशबाट सात/सात जना केन्द्रीय सदस्यसहित एक सय ५१ सदस्यीय जम्बो कार्यमसति हुने गरी अध्यक्ष कर्णले जम्बो कार्यसमिति प्रस्ताव गरेका हुन्।

'अध्यक्षज्युले एक सय ५१ सदस्यीय केन्द्रीय समिति हुने र त्यस मध्ये १२८ निर्वाचित र बाँकी २३ अध्यक्षबाट मनोनित हुने प्रस्ताव गर्नुभएको छ' नेविसंघ प्रवक्ता यूपी लामीछानेले भने, 'त्यसमा छलफल जारी रहेकाले संख्या यति नै हुन्छ भनेर भन्न सकिदैन।'

नेपाल विद्यार्थी संघको ५५ सदस्यीय कार्यमिति रहेपनि ६४ सालमा दुई कांग्रेस एक हुँदा दबै तर्फको कार्यसमिति जस्ताको तस्तै एकीकरण गर्दा त्यो संख्या ११० पुगेको थियो। एक सय १० सदस्यीय कार्य समितिको नेतृत्व तत्कालीन कांग्रेस तर्फका नेविसंघका अध्यक्ष प्रदीप पौडेलले गरेका थिए। 

दुईवटा संगठन एकीकरण गर्दा पौडेलले अध्यक्ष पाएका थिए भने देउवा पक्षीय नेविसंघका अध्यक्ष कल्याण गुरुङले सहअध्यक्ष पाएका थिए। दुईवटा अधिवेशनबाट एक भएका नेविसंघको पछि क्याम्पसको विवाद मिलाउन पदाधिकारी देखि केन्द्रीय सदस्य थप्दै जाँदा कति संख्या पुग्यो भनेर एकीन तथ्यांक समेत राख्न नसक्ने अवस्थामा पुगेको थियो।

करिब चार वर्षपछि सुशील कोइराला पार्टी नेतृत्वमा छँदा महाधिवेशनका लागि आयोजनक समिति बनाउने भन्दै प्रदीप पौडेललाई राजिनामा दिन लगाए पछि निर्वाचित कार्यसमिति विघटन भएको थियो । तत्कालीन अध्यक्ष प्रदीप पौडेल र सहअध्यक्ष कल्याण गुरुङ दुबैजना अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्।

प्रदीप पौडेल नेतृत्वको कार्यसमिति विघटन पछि कांग्रेस केन्द्रीय समितिले निर्णय गरेर ६ महिना भित्र अधिवेशन गर्ने गरी ६८ साल फागुन अन्तिममा रञ्जीत कर्णको नेतृत्वमा ६८ सदस्यीय महाधिवेशन आयोजक समिति गठन भएको थियो ।
 
तर पार्टी नेताहरुको भागवण्डाको राजनीति नमिल्दा देउवा पक्षको प्रतिनिधित्व बढाउन पछि त्यसलाई बढाएर १०१ सदस्यीय कार्य समिति बनाइएको थियो। ६८ साल फागुनमा ६ महिना मित्र अधिवेशन गर्ने जिम्मा पाएर गठन भएको नेविसंघ कार्य समिति अहिलेसम्म विद्यमान छ्। त्यही कार्य समितिले आगामी साउनमा महाधिवेशन गर्नेगरी तयारी थालेको हो।

यस अघि नै कार्य समिति जम्बो भएको कारण संघको नियमित बैठक बस्न समेत समस्या हुने गरेको बताउने कर्णले नै अहिले त्यसमा थप ५० सदस्य थपेर १५१ सदस्यीय बनाउने प्रस्ता केन्द्रीय समितिमा लगेका छन्।

उनले संगठनलाई समावेसी चरित्रको बनाउन र धेरैको सहभागिता सुनिश्चित गर्न संगठनको आकार बढाउनु परेको कारण पनि प्रश्तुत गरेका छन्। अधयक्ष कर्णको प्रस्ताव अनुसार १२८ जना निर्वाचित भए केन्द्रीय समिमितमा जान्छन् भने बाँकी २३ जना अध्यक्षले मनोनित गर्नेछन्।

अध्यक्ष कर्णले ल्याएको प्रस्ताव अनुसार नेविसंघमा अब एक अध्यक्ष, ११ उपाध्यक्ष, एक महामन्त्री, १४ जना सहमहामन्त्री, एक कोषाध्यक्ष पदाधिकारी रहन्छन्। त्यबाहेक प्रत्येक प्रदेशबाट मधेसी, छात्रा, जनजाती दलितसहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुन्५न् भने छात्राको मात्र प्रतिस्पर्धाबाट १२ केन्द्रीय सदस्य निर्वाचित हुन्छन्।

 उनले प्रविधितर्फबाट चार केन्द्रीय सदस्य निर्वाचित हुने, नेपाल सांस्कृतिक विश्व विद्यालयबाट दुई, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि र काठमाडौँ विश्वविद्यालयबाट१/१ जना र त्रिभूव विश्वविद्यालयका आङ्गीक क्याम्पसबाट छात्रासहित सात जना, सामुदायिक क्याम्पसबाट चार जना, पिछडिएको क्षेत्रबाट तीन जना, विदेशस्थित नेविसंघ जनसम्पर्क समितिहरुबाट एक, मुस्लिम र अपाङ्गबाट १/१ जना, काठमाडौँ उपत्यकाबाट सात जना र सिटिइभिटीबाट दुई जना निर्वाचित हुने प्रस्ताव गरेका छन् ।

त्यसबाहेकका तीन उपाध्यक्ष, एक महामन्त्री, चार सहमहामन्त्री र  मधेसी, दलित, जनजातीसहित छात्रा गरी सात, दलित, जनजातीबाट १/१ जना, महाधिवेशन आयोजक जिल्लाबाट एक र खुला पाँच गरी २३ जना मनोनित गर्ने प्रस्ताव पनि अध्यक्ष कर्णले गरेका छन्।

अध्यक्ष कर्णको प्रस्तावमा २३ जनाले बोलेपछि बैठक स्थगित भयो। अर्को बैठक बुधबार दिउँसो एक बजेका लागि बोलाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell